स्थानीय तहका पदाधिकारीको चेतावनी- संघलाई धक्का दिन सकिएन भने यो सिस्टम नै धरापमा पर्छ – Nepal Press

स्थानीय तहका पदाधिकारीको चेतावनी- संघलाई धक्का दिन सकिएन भने यो सिस्टम नै धरापमा पर्छ

हेटौंडा । संघीय सरकारले अझैसम्म अधिकार प्रत्यायोजन नगरेको भन्दै स्थानीय तहका पदाधिकारीहरुले आन्दोलनको नेतृत्व गर्न प्रदेश सरकारलाई अनुरोध गरेका छन् ।

हेटौंडामा बिहीबार सुरु भएको तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रियामा स्थानीय तहका पदाधिकारीहरुले संघविरुद्धको आन्दोलनको नेतृत्व गर्न प्रदेश सरकारलाई अनुरोध गरेका हुन् ।

गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अब पनि संघले स्थानीय तथा प्रदेश तहलाई अधिकार प्रत्यायोजनमा आनाकानी गरे संघीयता नै धरापमा पर्ने दाबी गरिन् ।

संविधान कार्यान्वयनको लागि स्थानीय तह र प्रदेश सरकार निर्मम हुन नसके संघीयतामाथि प्रश्न उठाउनेहरुको आवाज बलियो बन्दै जाने उनको भनाइ थियो । उनले प्रदेश सरकारले आन्दोलनको नेतृत्व गरे आफूहरु बलियो साथ दिएर उभिने बताइन् ।

अध्यक्ष पाण्डेले भनिन्, ‘प्रदेशले बलियो साथ दिएर आन्दोलनको नेतृत्व गर्नुको विकल्प छैन, हाम्रो अधिकारलाई संघले खोस्न खोजेको छ, हामी हाम्रो अधिकार प्राप्ति लागि मुड्की बजार्न तयार छौं ।’

नेपालको संघीय व्यवस्थालाई असफल बनाएर देशलाई पुनः प्रयोगशाला बनाउन दिने पक्षमा आफूहरु नरहेको उनको भनाइ छ । उनले भनिन्, ‘संघलाई अब पनि धक्का दिन सकिएन भने यो सिस्टम नै धरापमा पर्छ ।’

नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले यो व्यवस्था ल्याउन आफूहरुले ३०औं वर्ष लडेको र पाएको अधिकार संघले खोस्ने प्रपञ्च गर्नु राम्रो नभएको बताए ।

संविधानमा भएका एकल अधिकार र साझा अधिकारका विषय कार्यान्वयनमा संघ सरकार लचिलो हुनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष ढुंगानाले प्रदेश र स्थानीय तहले पनि आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताए । उनले भने, ‘संघीयता बलियो बनाउन र संस्थागत गर्न कति भूमिका खेल्यौं भनेर प्रदेश र स्थानीय तहले आत्मसमीक्षा गर्नुपर्छ । काम गर्ने क्रममा कानूनलाई टेकेर कति ग¥यौं ?’

उनले कर्मचारीको सोचमा अझै पनि संघीयता नआएको आरोप लगाए । ‘कर्मचारीहरु संघबाट प्रदेश तहमा आउँदा आधा सकिएको महसुस गर्छन्, अझ स्थानीय तहमा आउँदा त सकिएकै महसुस गर्छन्, यसरी कसरी संघीयता सफल हुन्छ ?’, उनको प्रश्न थियो ।

गाउँपालिका महासंघर र नगरपालिका संघका पदाधिकारीको मन्तव्यपछि आफ्नो धारणा राख्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अधिकारको विषयमा आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी गराएको बताए ।

अधिकार प्रत्यायोजनको विषयमा आफूहरुले पटक–पटक प्रधानमन्त्रीसँग बैठक राखेको बताउँदै उनले यसबारे प्रधानमन्त्री सकारात्मक रहेको बताए ।

‘बाहिर हल्ला भए जस्तो संघीयता धरापमा परिसकेको छैन’, मुख्यमन्त्री जम्कट्टेलले भने, ‘संघीयतामा अधिकारको विषयमा रहेका अन्योललाई चिर्न दबाब दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौं । संघीयताले विकासको चेतना आम नागरिकमा छरेको छ । अप्ठेरा विषयहरुलाई टुंगो लगाउन संघ सरकारलाई अनुरोध गरेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर