कांग्रेसमा दोस्रो वरियता सकस: शेखर र पूर्णबहादुरबीच लुकाछुपी ! – Nepal Press

कांग्रेसमा दोस्रो वरियता सकस: शेखर र पूर्णबहादुरबीच लुकाछुपी !

वरियताकै विवादका कारण शेखर र उपसभापति पूर्णबहादुर खड्का जाँदैनन् एउटै मञ्चमा

काठमाडौं । नेपाली कांग्रेसमा फेरि नेताहरुको वरियता विवाद बल्झिएको छ । १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित डा. शेखर कोइरालाको वरियताको विषयलाई लिएर विवाद सतहमा छल्किएको हो ।

सभापतिमा पराजित कोइरालालाई इतर पक्षले वरिष्ठ नेताको रुपमा दोस्रो वरियता दिनुपर्ने माग गर्दै आएको छ । तर, संस्थापन पक्षले त्यो चाहेको छैन । उनलाई पदाधिकारी र पूर्वपदाधिकारीपछि २०औं वरियता दिइएको थियो । जबकि सभापतिमा पराजित हुने व्यक्तिलाई दोस्रो वरियता दिने कांग्रेसमा प्रचलन छ । तर, विधानमा यो व्यवस्था छैन ।

१३औं महाधिवेशनमा हारेका रामचन्द्र पौडेललाई वरिष्ठ नेताका रुपमा दोस्रो वरियतामा राखिएको थियो । त्यसैलाई नजिर बनाएर शेखर पक्षबाट निर्वाचित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका नेताहरुले कोइरालालाई दोस्रो वरियतामा ल्याउने प्रयास यसअघि पनि गरेका थिए । तर, देउवाले उनीहरुको कुरा नसुनेपछि पदाधिकारी र पूर्वपदाधिकारीपछि राखिएको थियो ।

बिहीबार मधेश प्रदेश सम्मेलनमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरु सहभागी थिए । तर, वरियता विवाद देखिएपछि कोइरालाले मात्रै होइन उनी निकट नेताहरुले समेत कार्यक्रम बहिष्कार गरे । उनीहरुले सभापति देउवालाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

कांग्रेसमा देउवापछि दोस्रो वरियताको विषयमा कोइराला र खड्काबीच कुरा मिलेको छैन । इतर पक्षले कोइरालालाई दोस्रो वरियता दिँदा उपसभापति खड्का त्यो कार्यक्रममा जाँदैनन् । यता अर्का नेता गोपालमान श्रेष्ठले पनि वरिष्ठ नेतामा दाबी गर्दै आएका छन् ।

मंसिर १६ मा भएको लुम्बिनी प्रदेश सम्मेलनमा कोइरालालाई दोस्रो वरियता दिइएपछि उपभापति खड्का गएनन् । मंगलबार भएको गण्डकी प्रदेश सम्मेलनमा पनि त्यही दृश्य दोहोरियो । गण्डकीमा शेखर निकटका शुक्रराज शर्मा प्रदेश सभापति छन् ।

सोमबार नुवाकोट जिल्ला सम्मेलनमा पनि कोइरालालाई दोस्रो वरियता दिइँदै खड्का सहभागी भएनन् ।

शेखर निकट केन्द्रीय सदस्य चन्द्रमोहन यादव पार्टीको प्रचलनअनुसार सभापति चल्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘मैले त केन्द्रीय कमिटीको बैठकमा पनि कुरा राखेको थिएँ । पार्टीमा चलिएको परम्परा जे छ, त्यो धेरै ठूलो कुरा छैन । सभापतिले चाहनुभयो भने भइहाल्छ । पहिले गिरिजाबाबुले शेरबहादुरजीलाई राख्नुभएको थियो । त्यसपछि सुशील कोइरालाले शेरबहादुरजीलाई, शेरबहादुरजीले रामचन्द्रजीलाई वरिष्ठ नेताको पदमा राख्नुभयो । त्यही परम्परालाई निरन्तरता दिनु उचित हुन्छ ।’

उनले विधानमा नभए पनि सम्मानित पद भएकाले सभापतिले शेखरलाई राख्नुपर्ने बताए ।

यादवले थपे, ‘शेखर दाइलाई त्यो पद दिइयो भने कांग्रेसलाई पनि राम्रो हुन्छ । हामीले पार्टीको फाइदाकै लागि भनेका हौं । तर, त्यो सभापतिको इच्छामा भर पर्छ ।’

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल शेखरको वरियता पदाधिकारी र पूर्वपदाधिकारीभन्दा पछि रहेको बताउँछन् ।

उनले भने, ‘त्यो विवाद गर्नुपर्ने कुरा होइन । पहिला रामचन्द्र दाइलाई शेरबहादुर दाइले घोषणा गर्नुभएको थियो । पार्टीमा त्यही प्रचलन पनि थियो । तर, शेखर दाइलाई अहिलेसम्म वरिष्ठ नेता भनेर घोषणा गरिएको छैन । पार्टी सभापतिको उम्मेदवारलाई वरिष्ठ नेता घोषणा गर्ने कुनै विधि-विधानमा छैन । यो पोलिटिकल कुरा हो ।’

वरिष्ठ नेताको लागि गोपालमान श्रेष्ठले पनि दाबी गरेकाले सभापति देउवाले कसैलाई घोषणा नगरेको उनी निकट एक नेताले बताए ।

ती नेताले भने, ‘गोपालमान दाइले पनि म हुन्छु भनेर लागिराख्नुभएको छ । उहाँ कार्यकारी सभापति भइसकेको मान्छे हो । शेखर दाइले आफैंले नभने पनि कतैबाट कुरा आइरहेको छ । तर, सभापतिले कसैलाई घोषणा गर्नुभएको छैन ।’

त्यसो त वरियता व्यक्तिको सक्रियता, क्षमताले स्थापित गर्ने भए पनि सभापतिमा पराजित व्यक्तिलाई वरिष्ठ नेता बनाउने प्रचलन रहेको नेता गुरु घिमिरे बताउँछन् ।

उनी भन्छन्, ‘निकटतम प्रतिद्वन्द्वीलाई दोस्रो वरियतामा राख्ने प्रचलन हामीले नै सुरु गरेका हौं । यो वरियता व्यक्तिको सक्रियता, क्षमताले स्थापित गर्ने कुरा हो । यो प्राविधिक वरियताको खास अर्थ छैन ।’

उनले पार्टी राम्रो चलाउन, व्यवस्थित गर्न र संगठन सुदृढ गर्न लाग्नुपर्नेमा नेताहरु मानसम्मानतिर केन्द्रित भएकोमा असन्तुष्टि पोखे ।

नेता घिमिरेले भने, ‘हामीले आफ्नो पोजिसनलाई प्राथमिकता दिन थालेपछि अहिलेको व्यवस्थामाथि पनि समस्या र प्रश्न उठ्न थालेको हो । हामी देश, जनता र हामीले ल्याएको सिस्टमलाई कसरी बलियो बनाउने भन्दा पनि आफ्नो पोजिसन कसरी बढाउने भन्नेमा छौं ।’

कांग्रेसमा वरियताको विवाद चर्कने र सेलाउने भइरहने उनको भनाइ छ ।

घिमिरे भन्छन्, ‘प्रचलनअनुसार शेखर दाइलाई राख्दा हुने हो । लुम्बिनी र गण्डकीले पनि राखे । यो अहिलेको समयमा धेरै महत्वपूर्ण कुरा होइन । तर, कांग्रेसभित्र यो कहिले चर्किने र कहिले सेलाउने प्रकरण हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर