म्यानमारमा ‘साइबर दास’ बनाइएका नेपालीको विलाप- भनेको नमाने करेन्ट लगाइन्छ – Nepal Press

म्यानमारमा ‘साइबर दास’ बनाइएका नेपालीको विलाप- भनेको नमाने करेन्ट लगाइन्छ

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोमा केही दिनअघि म्यानमारबाट १३ जना नेपाली युवायुवतीको उद्धार गर्नुपर्‍यो भन्दै एक संस्थाले पत्राचार गर्‍यो । व्युरोका प्रमुख जीवन श्रेष्ठका अनुसार थाइल्यान्डमा आकर्षक रोजगारी भन्दै म्यानमार पुर्‍याएर अनलाइन ठगीमा लगाइएका नेपालीहरुका आफन्तले पनि उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

व्युरोमा यसअघि सोही ठाउँबाट उद्धार गरिदिन २६ जनाको निवेदन परेको थियो । पीडितका आफन्त प्रहरीकहाँ पुगेका थिए । त्यसमध्ये २४ जना नेपाल फर्किसकेका छन् । फर्किएका नेपालीले प्रहरीमा बताएअनुसार चिनियाँ गिरोहले उनीहरुलाई उच्च सुरक्षा व्यवस्थापनभित्र अनलाइन ठगीमा लगाउने गरेको छ । उनीहरुका अनुसार गिरोहले भनेअनुसार गर्न नमानेमा खान नदिनेदेखि शरीरमा करेन्ट लगाउनेको यातना दिइन्छ ।

‘कम्प्युटर चलाउन सक्ने युवायुवतीलाई पन्जामा पारेर भिजिट भिषामा थाइल्यान्ड भन्दै म्यानमार, लाओस र कम्बोडिया पु¥याउने गरेको देखिएको छ । गिरोहले कतिपय अवस्थामा नेपालीलाई नै प्रलोभनमा पारेर उनीहरुमार्फत अन्य नेपालीलाई त्यहाँ लैजाने गरेको देखियो’, एसएसपी श्रेष्ठ भन्छन् ।

लाओस, कम्बोडिया, म्यानमारलगायत देश पछिल्लो समय साइबर ठगीको हब भन्दै गएको र त्यहाँबाट युरोप र अमेरिकामा रहेका मानिसहरुलाई विभिन्न बहानामा सूचना प्रविधिको माध्यमबाट ठग्ने गरेको प्रहरीकै अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलले जनाएको छ ।

दक्षिण पूर्वी एसियामा मानव ओसारपसार गरेर ‘साइबर स्क्यामिङ’मा जबरजस्ती लगाइने गरेको भन्दै इन्टरपोलले ‘ग्लोबल वार्निङ’ जारी गरेको छ ।

‘विभिन्न कम्पनीको आडमा टार्गेट नै दिएर ठगी गर्न लगाउने गरेको पाइयो । टार्गेट पुरा नगर्दा चरम यातना दिने गरेको पीडितहरुले बताउने गरेका छन्’, एसएसपी श्रेष्ठ भन्छन् ।

जान २ लाख ६० हजार, फर्कन १० लाख

ठगी गिरोहले आफ्नो कम्पनीमा ल्याइपुर्‍याइएका मानिसहरुलाई बन्दी बनाएर राख्ने गरेको विभिन्न अनुसन्धानहरुबाट खुलेको छ । नेपालबाट मात्र नभएर विभिन्न देशबाट मानिसहरुलाई त्यहाँ पुर्‍याइने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

थाइल्याण्डमा आकर्षक रोजगारी पाउने आशामा नेपालबाट उडेका युवायुवती म्यानमार, लाओस र कम्बोडियामा कति छन् भन्नेबारे यकिन तथ्यांक छैन । धेरै नेपालीहरु भारतको बाटो भएर पनि ती देशमा पुगेको अनुसन्धानहरुबाट देखिएको छ ।

प्रहरीका अनुसार त्यहाँ पुग्ने नेपालीहरुले जनही एक लाख ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म गिरोहलाई बुझाउने गरेका छन् । आफ्नो कम्पनीमा आइपुगेका कामदारको मोबाइल, पासपोर्टलगायत डकुमेन्टहरु गिरोहले नियन्त्रणमा लिने गरेको पाइएको छ । स्वदेश फर्किन चाहने पीडितहरुसँग गिरोहले ८ देखि १० लाख रुपैयाँसम्म माग्ने गरेको पाइएको छ ।

‘गिरोहलाई उक्त रकम नबुझाएसम्म उनीहरु त्यहाँबाट निस्कन नपाउने रहेछन् । यसअघि नेपाल फर्किएकाहरु अधिकांशले पैसा बुझाएरमात्र फर्कन पाएको देखिन्छ’, अनुसन्धानमा खटिएका व्युरोका एक अधिकारी भन्छन् ।

३ चिनियाँसहित १९ जना पक्राउ

नेपाल प्रहरीको मानव बेचबिखन व्युरोले नेपालीलाई ओसारपसार गरेर साइबर दास बनाउने घटनामा हालसम्म ३ चिनियाँसहित १९ जनालाई पक्राउ गरेको छ । अन्य १६ जना नेपाली भएको व्युरोको भनाइ छ। पक्राउ पर्नेमा १३ पुरुष र ६ जना महिला छन् ।

म्यानमार पुर्‍याइएका घटनामा ९, लाओस पुर्‍याइएका घटनामा ३ र कम्बोडिया पुर्‍याइएका घटनामा ३ वटा मुद्दा दर्ता भएको एसएसपी श्रेष्ठले बताए ।

‘नेपालमा सक्रिय गिरोहहरु हामी खोजिरहेका छौं । सबैभन्दा महत्वपूर्ण त सबै जना यसबाट सचेत हुनुपर्‍यो’, उनले भने ।

व्युरोले भिजिट भिषाको आडमा मानव ओसारपसार तथा तस्करी हुनसक्ने आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ७ हजार ६४७ जनालाई फिर्ता गरेर सोधपुछ गरिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर