रुसी सेनामा कार्यरत भरतको मृत्यु: १९ दिनपछि परिवारलाई सूचना – Nepal Press

रुसी सेनामा कार्यरत भरतको मृत्यु: १९ दिनपछि परिवारलाई सूचना

कैलाली । रुसी सेनामा भर्ती भएका कैलालीको टीकापुर नगरपालिका- १ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युद्धको क्रममा मृत्यु भएको छ ।

तीन महिनाअघि मात्रै रुसी सेनामा भर्ना भएका शाहको नोभेम्बर २६ अर्थात् मङ्सिर १० गते मृत्यु भएको मृतकका भाइ मङ्गल शाहले जानकारी दिए ।

भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई औपचारिक रूपमा जानकारी दिइसकेको छैन । सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएको मङ्गलले बताए ।

‘उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएका हौं । युद्धमा दाजुको मृत्यु नोभेम्बर २६ मा भएको रहेछ’, उनले भने, ‘अहिलेसम्म हामीलाई सरकारी निकायबाट कुनै जानकारी आएको छैन ।’

शव आउने/नआउनेसमेत टुङ्गो नभएपछि आइतबार शाहको परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । कुशको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा शाहको अन्तिम संस्कार गरिएको हो ।

ट्राफिक प्रहरी रहेका शाह राजीनामा गरेर दुबई गएका थिए । दुबईमा रोयल सेकुरिटीमा रहेका उनी तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए । भर्ना भएको अढाई महिनामै उनको मृत्यु भयो ।

सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको मङ्गल शाहले बताए । दाजुसँग तीन साता बढी समयसम्म कुरा नभएको स्मरण गर्दै उनले भने, ‘कुराकानी नभएको तीन हप्ता भइसकेको थियो, एक्कासि यस्तो खबर आयो ।’

भरत घरका माइला हुन् । उनका कान्छा भाइ मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया । मृतक शाहका श्रीमती, चार वर्षको छोरा र तीन महिनाकी छोरी रहेको मङ्गलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर