रूसी सेनामा भर्ती भएका कपिलवस्तुका दुई युवकः उतै अस्ताए रुपक, घाइते भई छटपटाउँदै यमराज – Nepal Press

रूसी सेनामा भर्ती भएका कपिलवस्तुका दुई युवकः उतै अस्ताए रुपक, घाइते भई छटपटाउँदै यमराज

५ महिनाअघि मृत्यु भएका रुपकको मृत्यु स्वीकार्न परिवारलाई कठिन

रुपन्देही । कपिलवस्तुको वाणगंगा नगरपालिका वडानम्बर–१ मन्द्रेलीटोलका मानबहादुर कार्की र लक्ष्मी कार्कीका २४ वर्षीय एक मात्र छोरा रूपक कार्की अध्ययन र रोजगारी गर्ने परिवारसँग सल्लाह गरेर रुस गएका थिए ।

रूपककी दिदी सरलाको चार वर्षअघि नै विवाह भइसकेपछि र रुपक पनि रुस गएपछि कार्की परिवार सधै उनको खबर के होला भनेर बसिरहेका हुन्थे ।

उमेरले ५५ कटेका मानबहादुरको परिवारमा छोराको अध्ययनका लागि रुस पठाउन लाग्ने करिब १२ लाख रकमको व्यवस्था गर्ने आँट पनि थिएन तर भएको थोरै जग्गा धितो राखेर आफ्नो र छोराको भविश्यका लागि २०७९ असार पहिलो साता रुस पठाउने रकमको जोहो भएको थियो ।

कार्की परिवारको भरोसा रहेका उनै रुपकको केही समयअघि मृत्यु भएको खबरले परिवारको सबै भविश्य अन्धकारजस्तै बनेको छ । र, त्यो मृत्यु स्वीकार गर्न तयार छैन कार्की परिवार ।

०७९ जेठ अन्तिममा रुस पुगेका रूपक ६ महिनाअघि रुसी सेनामा भर्ती भएको खबर आएको थियो । रूपकले आफू रुसी सेनामा भर्ती भएको सूचना दिएपछि बुवाआमाको मन आत्तिन थालेको थियो । छोरा रुस गएपछि उनीहरुले रुस र युक्रेनको युद्ध भइरहेको समाचार सुनिररहेका थिए । परिवारमा रुपकले गत असारमा घरमा फोन गरेर अब युद्ध भइरहेको क्षेत्रमा जाँदैछु, ६ महिना फोन गर्न पाइँदैन, नआत्तिनुहोला भनेपछि उनीहरुको मन झन् आत्तिन थालेको हो ।

छोराले दिएको ६ महिनाको समयसीमा कुर्न बुवाआमाहरूलाई निकै गाह्रो भइरहेको थियो । फोन वा कुनै खालको सम्पर्क नै नभएपछि यो वर्षका चाडपर्वहरु पनि उनीहरुलाई आएजस्तो भएको थिएन । परिवारका सदस्यहरू आत्तिन थालेपछि रूपकका आफन्त (फुपूका छोरा) करण रायमाझीले एक महिनाअघि खोजीका लागि भन्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए ।

तर सोमबार सरकारले रुस–युक्रेन युद्धका क्रममा रूपकसमेत मृत्यु भएको नाम सार्वजनिक गरेपछि परिवारका सदस्यहरू रुपकका बुवाआमालाई कसरी सुनाउने भनेर बिलखबन्दमा परे । सरकारी सूचनाबाट घटना विवरण पाएका आफन्तहरू कसैले यो कुरा रूपकका बुवाआमालाई सुनाउन निकै कठीन भयो ।

वाणगंगा नगरपालिका वडा नं १ का वडाध्यक्ष सञ्जुकुमार सारु मगरले रूपकको मृत्यु भएको भनेर वडामा इमेल आएपछि आफन्तलाई जानकारी दिइएको बताए । रूपकका फुपाजु नेत्र रायमाझीले यो खबरले आफूलाई अत्यास लागेको मात्रै छैन बुवाआमालाई यो सूचना कसरी सुनाउने भन्ने हिम्मत नआएको बताए । ‘आफ्नो बाँच्ने सहारा छोरो फर्केला र बुढेसकालमा सुख पाइएला भन्ने आशमा बसेका बुवाआमालाई मृत्युको खबर सुनाउनुजत्तिको पीडादायी कुरा के होला ?’ उनले भने ।

वडाबाट शुरूमा यो खबर सुनेकी रुपककी फुपू महिन्द्रकुमारी रायमाझी अत्तालिएकी छन् । ‘यो खबरले अहिले गाउँभर सन्नाटा छाएको छ । पढ्न भनेर रुस गएको मान्छे कसरी सेनामा पुग्यो होला ? यस्तो खबर माइतीलाई कसरी सुनाऊँ, दाजुभाइ यसै विक्षिप्त छन् ?’ उनले भनेकी छन् । वडाध्यक्ष मगरले सरकारले रूपकको शव ल्याउन पहल गर्नुपर्ने बताए ।

इभानोभो क्षेत्रको स्मृति पुस्तक नामको रूसी वेबसाइटका अनुसार रूपक कार्कीको मृत्यु ३० जून २०२३ (२०८० असार १५) मा भइसकेको थियो । उनी रूसी सेनाका तर्फबाट विशेष सैन्य कारबाहीमा सहभागी भई युक्रेनको युद्धस्थलमा खटिएका बेला मारिएको वेबसाइटमा उल्लेख छ ।

रूसको राजधानी मस्कोभन्दा करीब ३२४ किलोमिटर उत्तर–पूर्वमा रहेको इभानोभो क्षेत्रबाट सञ्चालित यो वेबसाइटले आफ्नो मुख्य काम ‘स्मृतिलाई सुरक्षित राख्नु र इभानोभो योद्धाहरू र तिनका सैन्य साथीहरूका बारेमा जानकारी व्यवस्थित गर्नु’ भनेर लेखेको छ ।

वेबसाइटका अनुसार उनलाई इभानोभो क्षेत्रको नोभो–तालित्स्कीमा गाडिएको छ । समाधिस्थलमा उनको जन्ममिति २४ जुलाई १९९९ (२०५६ साउन ८) लेखिएको छ । राष्ट्रियता लेखिएको छैन । इभानोभो रूसको एक प्रशासनिक केन्द्र हो ।

स्थानीयका अनुसार रूपकसँगै अन्य चारजना पनि सँगै रुस गएका थिए । दुईजना वाणगंगाकै र एकजना अर्घाखाँचीका हुन् । घाइते भएका उनीहरूलाई रुसी सेनाले उपचारपछि फेरि युद्धग्रस्त क्षेत्रमा पठाएको छ ।

रुसी सरकारले अहिले त्यहाँ पढ्न र अन्य रोजगारीको सिलसिलामा पुगेकाहरूलाई १ वर्ष सेनाको तालिम दिएर युद्धमा काम गरेपछि रुसको नागरिक बनाउने बताएको छ । यही प्रलोभनमा परी नेपाली युवाहरू रुसी सेनामा भर्ती भइरहेको हुन् ।

रुपकको मृत्यु भएको खबर पाएपछि पूर्वमन्त्री तथा प्रदेश सांसद विष्णु पन्थी परिवारलाई सान्त्वना दिन मंगलबार उनको घरमा पुगे तर कसरी कुरा सुरु गर्ने भन्ने विषयमा उनी अलमल परे ।

पाल्पा मुझुङ्गबाट २०४८ सालमा बसाई सरेर कपिलवस्तु बाणगंगा १ मन्द्रेली टोलमा आएका मानबहादुर र लक्ष्मी कार्कीको एकमात्र छोरा रुपक १२ लाख खर्च गरेर काठमाडौ बागबजारको ड्रीम इन्टरनेसनल कन्सल्टेन्सीबाट विद्यार्थी भिसामा रुस गएको र होटेलमा काम गर्दै गरेको र यही जेठमा मात्र रुसी सेनामा भर्ना भएर १ महिना तालिम पछि युक्रेन लडाइँमा गएको पन्थी बताउँछन् ।

परिवारको भरोसा रहेका रुपकको अकल्पनीय मृत्युको सूचनाले मर्माहत र दुखित भएको बनाएको बताउँदै उनले अब शव छिटो नेपाल ल्याउन आवश्क प्रक्रिया गर्न तथा क्षतिपूर्ति र राहतका लागि नेपाल सरकारसंग माग गरेका छन् ।

रुपकसँगै गएर रुसी सेनामा भर्ती भएका सोही ठाउँका यमराज पौडेल क्षेत्रीले अहिले परिवारलाई यसको सूचना प्रवाह गरिरहेका छन् । उनी पनि घाइते भएर उपचार गरी सेनाको निगरानीमा भएकाले धेरै बोल्न नमिल्ने आफन्तलाई बताइरहेका छन् । सांसद पन्थीले पौडेलसँग सहकार्य गरेर रुपकको शव ल्याउने विषयमा पहल भइरहेको बताए ।

स्थानीय हरि अधिकारीले कति सपनासहित बाहिरन बाध्य मध्यम परिवारमा एक मात्रै छोरा गुमाउनु पर्दाको असैह्य पीडा भनी साध्य नभएको बताउँदै सरकारले यी परिवारलाई उचित राहत र सहयोग गर्नु पर्ने बताउँछन् । उनले कार्की परिवार छोराको बेखबरले गएको दशैं तिहार चाडपर्वदेखि नै छट्पटिएको बताउँछन् ।

स्थानीय बुद्धि भट्टराई नेपाली युवाहरु रोजगारीको खोजीमा गैरकानुनी तवरले अर्कैको देशको सैनिक भै यसरी मृत्युवरण गर्नेपर्ने र परिवारलाई तड्पिन बाध्य बनाएको पीडा कसले बुझ्ने भनेर प्रश्न गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर