कोशीमा कोभिड अस्पतालको दुर्दशा, अर्बौंको अत्याधुनिक उपकरण बेकम्मा – Nepal Press

कोशीमा कोभिड अस्पतालको दुर्दशा, अर्बौंको अत्याधुनिक उपकरण बेकम्मा

विराटनगर । कोभिडको महामारी आएपछि एक महिनामा तत्कालीन कोशी प्रदेश सरकारले कोभिड अस्पताल स्थापना गर्‍यो । विराटनगरमा जनस्तरबाट गठन गरेको नागरिक केयर सेन्टर र स्विस सरकारले अस्पताल निर्माणमा सहयोग गरे ।

नागरिक, दातृ संस्थाको सहयोगमा प्रदेश सरकारले विराटनगरऔ १० स्थित नेशनल ट्रेडिङको पुरानो भवन र गोदाम पुनर्निर्माण गरेर प्रदेश सरकारले अस्पताल सञ्चालनमा ल्याएको थियो । दाताहरूले अस्पताललाई आवश्यक पर्ने औजार तथा उपकरण पनि सहयोग गरे । कोभिड महामारीका बेला अत्याधुनिक उपकरणसहित २०० शय्याको अस्पताल सञ्चालनमा आयो ।

अस्पतालमा १३० वटा अत्याधुनिक बेड छ । त्यस्तै आईसीयू ८०, भेन्टिलेटर ३० र अल्ट्रा साउन्ड मेसिन ४ वटा रहेको कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अस्पतालमा अहिले एबीजी मेसिन, वाई प्याप १०, सी प्याप १०, डेफी विलेट एक, पेसेन्ट मनिटर ४० र अटो क्लेभ दुई थानसमेत रहेका छन् ।

तर, प्रदेश सरकारले अस्पताल सञ्चालन गर्न नसक्दा अर्बौं रुपैयाँका औजार तथा उपकरण बेकामे भएका छन् । कोभिड महामारी शिथिल भएसँगै ती उपकरण प्रयोगविहीन जस्तै छन् । प्रयोगविहीन औजार उपकरण रेखदेख गर्न सरकारले उल्टै कर्मचारी पाल्नुपर्ने अवस्था छ ।

कोभिड अस्पताल सञ्चालन गर्न निजी स्तरबाट करिब तीन करोड रुपैयाँ सहयोग जुटेको तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरे बताँँउछन् । स्विस सरकारले अस्पतालका लागि बेग्लै भवनसमेत बनाइदिएको थियो । त्यस्तै उसले १५० सिलिन्डर क्षमताका दुई वटा अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापन र दुई वटा वाटर ट्रिटमेन्ट प्लान्ट बनाइदिएको थियो ।

नाम फेरियो, सञ्चालनमा आएन

कोभिड महामारी सकिएपछि प्रदेश सरकारले अस्पतालको नाम फेर्‍यो । आर्थिक वर्ष २०७९/८० को बजेट, नीति तथा कार्यक्रममा सो कोभिड अस्पतालको नाम संक्रामक रोग तथा सघन उपचार केन्द्र राखियो । सरकारले केन्द्रको लागि ५ करोड रुपैयाँ बजेट पनि विनियोजन गर्‍यो । केही चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गरी दैनिक ओपीडी सेवासमेत सञ्चालन भयो । तर, पर्याप्त बिरामी नआउँदा अस्पतालले गति लिन सकेन ।

केन्द्र सञ्चालन प्रभावकारी नभएपछि प्रदेश सरकारले नियुक्त गरिएका डाक्टरहरूलाई विभिन्न जिल्ला अस्पतालमा खटायो । केही स्वास्थ्यकर्मीले काम छाडे । बाँकी चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले तलबमात्रै खाइरहेका छन् । सरकारले २ जना एमबीबीएस डाक्टरसहित २८ जना स्वास्थ्य प्रशासनका कर्मचारी र कार्यालय सहयोगीलाई तलब तथा भत्ता खुवाउँदै आएको छ ।

त्यस्तै करिब १० जना छात्रवृत्ति करारका स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत छन् । केन्द्रमा ओपीडी सेवा लिन आउने बिरामीको संख्या भने दिनानुदिन घट्दै गएको सो अस्पताल हेर्ने जिम्मा पाएका स्वास्थ्य मन्त्रालयका भरत साहले बताए ।

अस्पतालले फेरि पायो नयाँ नाम, टुंगाे छैन सञ्चालन

यसैबीच प्रदेश सरकारले अस्पतालको नाम फेरेर हृदय रोग केन्द्र बनाउने घोषणा गरेको छ । कोशीका मुख्यमन्त्री केदार कार्कीले अध्यादेशबाट बजेट ल्याउँदै सो अस्पताललाई हृदय रोग केन्द्र बनाउने घोषणा गरेका छन् । हृदय रोग केन्द्र स्थापना गर्न ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकोटाले बताइन् ।

उनका अनुसार अस्पतालको भौतिक संरचना र औजार उपकरण प्रयोगमा ल्याउन हृदय रोग उपचार केन्द्र बनाउन लागिएको बताइन् ।

अस्पताल आवश्यकताका आधारमा खुलेको र स्थायी दरबन्दी नभएकाले सरकारले आवश्यकताका आधारमा चिकित्सक र स्वास्थ्यकर्मी नियुक्त गर्ने गरेको डा. देवकोटाको भनाइ छ ।

‘प्रदेशमा मुटु रोगको उपचार गर्ने भरपर्दो अस्पताल छैन । मुटुका बिरामी बढिरहेको अवस्थामा यसको उपचारका लागि हृदय रोग केन्द्र स्थापना गर्ने निर्णय गरिएको हो’, उनले भनिन्, ‘हृदय रोग केन्द्र स्थापना गर्न के के गर्न सकिन्छ, जनशक्ति र लगानी कति आवश्यक पर्छ भनेर विज्ञसँग बसेर छलफल गर्ने र यसैका आधारमा अस्पताल सञ्चालन हुन्छ ।’

यसै वर्षभित्र मुटु रोगको उपचार गर्ने गरी अस्पताल तयार गर्न प्रदेश सरकार लाग्ने उनले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर