मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ को घोषणा, के छ एमाले र प्रहरीको तयारी ? – Nepal Press

मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ को घोषणा, के छ एमाले र प्रहरीको तयारी ?

विराटनगर । अहिले प्रमुख प्रतिपक्षी नेकपा एमालेको सम्पूर्ण संयन्त्र ‘झुलाघाट-चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्रा’ परिचालित छ । विहीबार अध्यक्ष केपी ओलीले बैतडीको झुलाघाटमा झण्डा फहराएर सुरू भएको पदयात्रा मंसिर २६ मा कोशी प्रदेशको उदयपुरस्थित घुर्मीमा आइपुग्ने छ ।

घुर्मीमा वृहत् सभाका लागि एमाले कोशी प्रदेश कमिटीले आन्तरिक तयारी तीव्र बनाइरहेको छ । उक्त आमसभामा जिल्ला-जिल्लाबाट नेता तथा कार्यकर्ता ल्याउँदैछ । घुर्मीबाट यस प्रदेशमा सुरू हुने संकल्प यात्रामा अवरोधका लागि पहिचानवादीले ‘घुर्मी-चिवाभञ्ज्याङ्ग जनजागरण अभियान’ थालेका छन् ।

एमालेले झुलाघाटमा संकल्प यात्रा सुरू गरिरहँदा उदयपुरको घुर्मीमा ‘घुर्मी-चिवाभन्ज्याङ पहिचानवादी जागरणको उद्घाटन भइरहेको थियो । सो कार्यक्रममा कोशीका विभिन्न जिल्लाबाट पहिचानवादी अगुवा र कार्यकर्ता भेला भएका थियए । अभियानको उद्घाटन गर्दै घुर्मी-ओखलढुङ्गा-सोलु सडकलाई ‘बलबहादुर राई’ मार्गको नामकरणसमेत गरिएको छ ।

एमालेकै अभियानलाई लक्षित गरेर प्रदेश नम्बर १ पुन: नामकरण संघर्ष समितिले मध्यपहाडी मार्गमा पर्ने घुर्मी च्याङ्थापु सडक २६ र २७ गते बन्दको आव्हानसमेत गरेका छन् । यसअघि एमालेका नेतालाई निशाना बनाउँदै आएका पहिचानवादीले यो पटक पनि सोही पार्टीलक्षित अवरोधका कार्यक्रमले झडपको सम्भावना बढाएको छ ।

एमालेको अभियानलक्षित पहिचानवादीको आन्दोलनले सुरक्षा चुनौती बढ्ने देखेपछि प्रहरी-प्रशासन सुरक्षा रणनीतिको गृहकार्यमा जुटेको छ । यसका लागि प्रदेशस्थित सुरक्षा निकायको बैठक पटकपटक बसेको छ । एक अर्काको स्थान र समय नजुध्ने गरी कार्यक्रम तय गर्न प्रहरीले अनुरोध गरेको छ ।

पहिचानसहितको प्रदेश पुन: नामरकण अभियान समितिका अध्यक्ष डाकेन्द्रसिङ थेगिमले आफूहरूको जनजागरण अभियान एमाले लक्षित नै भएको बताउँछन् ।

उनी भन्छन्, ‘ हामीले पार्टीलाई भन्दा पनि व्यक्तिलाई लक्षित गरी अभियान सुरू गरेका हौं । एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई एमाले नेता महेश बस्नेत र कोशी प्रदेशको पक्षमा मतदान गर्ने ८२ जना प्रदेशसभा सदस्य यात्रामा सहभागी भए हामी अवरोध गर्छौं ।’

एमालेले मध्यपहाडी लोकमार्ग भएर झुलाघाट-चिवाभञ्ज्याङ्ग समृद्धिका लागि संकल्प यात्राको मिति तय गरेसँगै संघर्ष समितिले काउन्टर विज्ञप्ति जारी गरेको थियो ।

नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले कसैले धम्की दिँदैमा अभियान नरोकिने प्रष्ट पारेका छन् ।

उनी भन्छन्, ‘हामीले यो देशको समृद्धिको लागि अवसर र सम्भावनाका लागि भनेर यात्रा सुरू गरेका छौं । कसैले भन्दैमा रोक्ने, पार्टीका नेताहरूलाई सहभागी नगराउने भन्ने हुँदैन ।’

शान्ति सुरक्षाको जिम्मा प्रशासन र सरकारको भएको खतिवडाको भनाइ छ ।

‘लोकतन्त्रमा कुनै पनि राजनीतिक पार्टीले राजनीतिक कार्यक्रम गर्न पाइँदैन भन्ने हुन्छ ? यसको जिम्मा प्रशासनको हो सरकारको हो । हामी यात्रामा अगाडि बढ्छौं’, अध्यक्ष खतिवडाको भनाई छ ।

कस्तो छ प्रहरी तयारी ?

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले समन्वय र सहकार्यमा समस्या समाधान हुने बताए ।

‘एमालेको अभियान लक्षित गरेर अवरोधको कार्यक्रम सार्वजनिक भएको छ । तर, हामी शान्तिपूर्ण ढङ्गले नै यो समस्या समाधान गर्न सक्छौ भन्नेमा विश्वस्त छौं’, डीआईजी बाँस्तोलाले भने,‘लोकतन्त्रमा सबैले आफ्ना कार्यक्रमहरू गर्न पाउनुपर्छ । यही भएर कार्यक्रम नजुधुन् भनेर प्रहरी प्रशासन कोअर्डिनेशन र कोअप्रेसनमा छ ।’

प्रहरीले शान्ति सुरक्षा कायम राख्न सबै खाले काम गर्ने भन्दै उनले अहिलेको अवस्थामा प्रहरी अप्रेसनसम्म पुग्नु पर्ने अवस्था नभएको बताए ।


प्रतिक्रिया

2 thoughts on “मध्यपहाडी संकल्प यात्रालाई कोशीमा अवरोध गर्ने ‘पहिचानवादी’ को घोषणा, के छ एमाले र प्रहरीको तयारी ?

  1. म पनि आउछु पुर्वमा यी पहिचानवादी एमालेसँग लड्न तयार भए हामी एमालेले पनि लड्न तयार हुनुपर्छ ।

  2. दिल्लीका भुस्याहा कुकुरहरू। थुकेर फालेको हड्डी खान पाएर एमालेविरूद्व लागेका । यी कुकुरहरूको हिम्मत छ भने काँग्रेसको किन विरोध गर्दैनन ? पैसा पाए सन्तान पनि बेच्ने भनेका यस्तै बिकाउले ह‍ो ।एमालेले यिनलाई सबक नसिकाई भएन । कार्यक्रम बिथोलियो भने घरघरबाट थुतेर कारवाही गर्नुपर्छ यी विदेशीका अवैधहरूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर