लुम्बिनीमा एमालेका जिल्ला अधिवेशन: अधिकांश अध्यक्षको दोहोरिने चाहना – Nepal Press

लुम्बिनीमा एमालेका जिल्ला अधिवेशन: अधिकांश अध्यक्षको दोहोरिने चाहना

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये २ वटामा मात्रै अधिवेशन सकेको छ । अहिलेसम्म रोल्पा र रुकुम पूर्वमा अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । रोल्पामा अमृत बुढा र रुकुम पूर्वमा लीलामणि गौतम जिल्ला अध्यक्ष बनेका छन् ।

यी दुइटै जिल्लामा नयाँ अनुहार नेतृत्वमा आएका छन् । रोल्पामा निर्वाचन भए पनि रुकुम पूर्वमा सहमतिबाट नेतृत्व छानिएको हो । जेठभित्र अधिवेशन गरिसक्नुपर्ने केन्द्रको निर्देशन छ । अधिवेशन बाँकी जिल्लामा तयारी थालिएको एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले बताए ।

उनका अनुसार बैशाख १८ र १९ मा बर्दिया, २१ र २२ मा पश्चिम नवलपरासी र २६ र २७ मा कपिलवस्तुको जिल्ला अधिवेशन हुँदैछ । बाँकेमा जेठ २ र ३, पाल्पामा ११ र १२ तथा रुपन्देहीमा १६ र १७ गतेलाई तोकिएको छ । अन्य जिल्ला पनि अधिवेशको गृहकार्यमा लागेका छन् ।

अध्यक्ष कँडेलका अनुसार आफ्नो अनुकूलमा अधिवेशन तोकिने भए पनि एकअर्का जिल्लामा मिति नजुधाउने गरी समन्वय भएको छ ।

रुपन्देहीमा वर्तमान अध्यक्ष तेजेन्द्र केसीले पुनः दोहोरिने गरी तयारी गरेका छन् । तर सचिव यज्ञ गैरे र उपसचिव चित्रबहादुर केसी बलियो दावेदार भएकाले निर्वाचन हुने सम्भावना छ ।

‘मेरो नेतृत्वमा पूरै समय काम गर्न पाइएन, संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा बलियो गठबन्धनविरुद्ध राम्रो नतिजा निकाल्न सकियो, त्यही भएकै कारण पुनः दोहोरिने तयारीमा छु’, केसीले भने ।

अध्यक्षका अर्का दावेदार गैरे भन्छन्, ‘पार्टीमा निरन्तर काम गरेपछि नेतृत्वको अपेक्षा स्वाभाविक हो, अध्यक्षपछि उपाध्यक्ष आकांक्षी नभएपछि सचिवको पालो स्वाभाविक हो, त्यहीअनुसार मैले तयारी गरेको छु ।’

सैनामैनाका पूर्वमेयर चित्रबहादुर केसी पनि आफू तयारीमा लागेको बताउँछन् ।

बाँकेमा पनि ४ जना आकांक्षी देखिएका छन् । अहिलेका अध्यक्ष किस्मत कक्षपती, नेकपाकालमा अध्यक्ष बनेका निरक गुरुङ, प्रदेश सदस्य घननाथ खनाल र केन्द्रीय लेखा आयोग सदस्य विजया धिताल मुख्य दाबेदारका रूपमा अगाडि आएका छन् ।

बर्दियामा अहिलेका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष शालिकराम अधिकारी र सचिव पदम ढकालले तयारी गरेका छन् । तर, श्रेष्ठ र अधिकारीबीच नै प्रतिस्पर्धा हुनेछ ।

दाङमा पनि अहिलेका अध्यक्ष हुकुम बस्नेत, उपाध्यक्ष मनोहर बुढाथोकी र सचिव राममणि पाण्डे अध्यक्षका आकांक्षी देखिएका छन् । बस्नेत र बुढाथोकीबीच नै बढी प्रतिस्पर्धा हुने एमाले नेताहरू बताउँछन् ।

पश्चिम नवलपरासीमा अहिलेका अध्यक्ष दीपेन्द्र अधिकारी पुनः दोहोरिने तयारीमा लागेका छन् । यहाँ उपाध्यक्ष डोलराज भण्डारी र सचिव धिरज शर्मा आकांक्षी भए पनि अधिकारी र भण्डारी नै मुख्य दावेदार मानिएका छन् । वर्तमान अध्यक्ष अधिकारीले आफूलाई दोहोरिने इच्छा नभएको भन्दै धेरै नेता कार्यकर्ताले आग्रह गरेकाले पुनः जिम्मेवारी लिन खोजेको कताए ।

कपिलवस्तुमा पनि अहिलेका अध्यक्ष डम्बर शर्मा दोहोरिने गरी तयारी गरेका छन् । यहाँबाट अघिल्लो अधिवेशनमा प्रत्यासी बाबुराम खनाल र उपाध्यक्ष विश्राम चौधरी दावेदार भए पनि शर्मा र खनालबीच नै निर्वाचन हुने सम्भावना छ ।

पाल्पामा जेठ ११ र १२ गते अधिवेशनको मिति तोकिएको छ । यहाँ अहिले धनेन्द्रराज घिमिरे अध्यक्ष छन् । उनले नदोहोरिने भनेकाले अहिलेको सचिव रामजी पोखरेल र पूर्वसचिव ओमबहादुर घर्तीले नेतृत्वको तयारी गरेका छन् ।

प्यूठानमा अहिलेका अध्यक्ष विजयविराट विष्ट दोहोरिने तयारीमा छन् ।

अर्घाखाँचीमा अधिवेशनको मिति तोकिएको छैन । यहाँ अध्यक्षमा पिताम्बर भुसाल दोहोरिने लाइनमा छन् । अहिलेसम्म अरु आकांक्षीले नाम सार्वजनिक गरेका छैनन् ।

गुल्मीमा मिति नतोकिए पनि तयारी सबै पूरा भएको बताइएको छ । यहाँबाट अहिलेका अध्यक्ष बालसिंह काउछा र पहिले प्रदेश कमिटी सदस्य हिरा एसीले प्रतिस्पर्धाका लागि तयारी गरेका छन् ।

अध्यक्षमा दोहोरिन खोजेका अधिकांश जिल्ला नेतृत्वले आफूहरुले पूरै कार्यकाल बिताउन नपाएकाले दोहोरिन खोजेको बताएका छन् । लुम्बिनी एमालेका ७ जना केन्द्रीय पदाधिकारी भएको प्रदेश भएकाले पनि यहाँको जिल्ला नेतृत्वको विषयमा सबैको चासो बढिरहेको नेताहरुको भनाइ छ ।

लुम्बिनीबाट उपाध्यक्षद्वय युवराज ज्ञवाली, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकर्ण विष्ट, छविलाल विश्वकर्मा र टोपबहादुर रायमाझी (निलम्बित) पदाधिकारी रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर