आयोगका तीन सचिवसहित वीरगञ्ज र धरानका प्रमुख प्रशासकीय अधिकृत फेरिए – Nepal Press

आयोगका तीन सचिवसहित वीरगञ्ज र धरानका प्रमुख प्रशासकीय अधिकृत फेरिए

काठमाडौं । सरकारले विभिन्न तीन वटा आयोगका सचिव, महानगरपालिका र उपमहानगरपालिकाका एकएक जना प्रमुख प्रशासकीय अधिकृत फेरफेर गरेको छ ।

आइतबार ७१ जना सहसचिवको सरुवा गर्ने क्रममा राष्ट्रिय महिला आयोग, मधेशी आयोग र भाषा आयोगका सचिव हेरफेर गरिएको हो । जसमा राष्ट्रिय महिला आयोगका सचिव कमलबहादुर राजलवट प्रदेश प्रमखुको कार्यालय बागमतीमा सरुवा भएका छन् ।

आयोगको सचिवको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव पार्वती अर्याललाई दिइएको छ । करिब १० महिनादेखि आयोगको सचिव रहेका राजलवट आयोगको कामभन्दा बढी गुर्जोलगायतका जडीबुटीको प्रचारप्रसारमै व्यस्त हुने गरेका थिए ।

निजामती सेवामा नागरिकको सेवा गर्नुपर्नेमा उनले कार्यालयको कामभन्दा पनि बढी समय आफ्नो युट्युव च्यानल नै सञ्चालन गरेर दैनिक गुर्जोलगायतका जडीबुटीको भिडियो बनाउँदै आएका थिए । जसबाट आयोगका पदाधिकारी र कर्मचारी आजित भइसकेका थिए ।

यस्तै मधेशी आयोगका सचिव रुद्रप्रसाद लामिछानेको राष्ट्रिय सर्तकता केन्द्रमा सरुवा भएको छ । भाषा आयोगका सचिव जयराम अधिकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।

यसैबीच वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशमा सरुवा भएका छन् । महानगपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई सरुवा भएका छन् ।

पौडेल एक वर्षभन्दा बढी समयदेखि महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए । उनी वीरगञ्जभन्दा अगाडि धरान उपमहानगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

भट्टराईले धरान उपमहानगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको एक वर्ष पनि पुगिसकेको थिएन । भट्टराईभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाल पनि आठ महिनामै सरुवा भएका थिए । हाल धरानको प्रमुख प्रशासकीय अधिकृत रिक्त छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर