गृह सुधारबारे गठित समिति र उपसमितिले भेटे प्रधानमन्त्री र उपप्रधानमन्त्री – Nepal Press

गृह सुधारबारे गठित समिति र उपसमितिले भेटे प्रधानमन्त्री र उपप्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएकोमा खुशी व्यक्त गरेका छन।

उपप्रधान एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठन गरेको अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरुसँग बुधबार बिहान भएको भेटघाटमा उनले प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता र प्राथमिकता किटेर सुझाव आउने अपेक्षा गरेको सुनाए ।

सुझावले सिङ्गो सरकारलाई नै प्राथमिकता निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा समेत उनको थियो ।

उपप्रधान एवम् गृहमन्त्री श्रेष्ठसहितको उक्त भेटघाटमा गृह प्रशासनलाई सबल तथा सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुधारका क्षेत्र तथा कार्ययोजनाबारे छलफल भएको थियो।

उपप्रधानमन्त्री श्रेष्ठले सरकार गठन हुनेबित्तिकैको संसदको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका प्राथमिकताको चर्चा गरेको र सोही उद्देश्य पूरा गर्न सुधारको पहल गरिएको बताए ।

अध्ययन समितिका संयोजक पूर्व मुख्यसचिव लीलामणि पौडेलले एउटा समस्या सुधारेर अर्को समस्यामा हात हाल्ने भन्दा पनि हरेक समस्याको सुधारमा उत्तिकै केन्द्रित हुनुपर्ने बताए । त्यसका लागि गृह मन्त्रालय र सबै मन्त्रालयले ध्यान दिनुपर्ने बताए ।

समिति र उपसमितिहरुमा प्रशासन सुधारका पक्षमा योगदान दिएका व्यक्तित्वहरू संयोजक र सदस्य रहेका छन् । उनीहरुले तलब, भत्ता नलिएरै स्वयंसेकका रुपमा काम गर्ने बताएका छन । ‘अध्ययन वा सुझाव समितिप्रति मानिसमा गहिरो अविश्वास छ। तर हामी स्वयंसेवीका रुपमा खट्नेछौं र आफ्ना अनुभव र नयाँ प्राथमिकतावारे निष्कर्ष दिनेछौं।’ संयोजक पौडेलले भने,‘हामीलाई जुन विश्वास गर्नुभएको छ, प्रतिवेदन कार्यान्वयन हुने अपेक्षा सनेत गर्दछौं।’

गृहको समग्र प्रशासन, सेवा तथा सुरक्षा सुधार अध्ययनका लागि मुल समिति र नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन तथा स्थानीय प्रशासन र सेवा प्रवाहसहित पाँच विषयगत उपसमितिहरू बनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर