शान्ति भूमि टेक्ने संयुक्त राष्ट्रसंघका ६ महासचिव, कसले कसरी ‌औंल्याए लुम्बिनीकाे महत्व ? – Nepal Press

शान्ति भूमि टेक्ने संयुक्त राष्ट्रसंघका ६ महासचिव, कसले कसरी ‌औंल्याए लुम्बिनीकाे महत्व ?

रुपन्देही । विश्व शान्तिको केन्द्र गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने संयुक्त राष्ट्रसंघका छैठौं महासचिव बनेका छन् एन्टोनियो गुटेरेस । यसअघि ५ जना महासचिवले यहाँको भ्रमण गरिसकेका छन् ।

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता पायो । त्यतिबेला संयुक्त राष्ट्रसंघमा ड्याग ह्यामरसोल्ड महासचिव थिए । उनी राष्ट्रसंघका दोस्रो महासचिव हुन् ।

हालसम्म संयुक्त राष्ट्रसंघको महासचिव पदमा नौ जनाले जिम्मेवारी सम्हालिसकेका छन् । तीमध्ये हालका गुटेरेससहित ६ जनाले लुम्बिनी भ्रमण गरेका छन्  । राष्ट्रसंघका महासचिवहरू ड्याग ह्यामसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहिमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा र सन् २००८ नोभेम्बरमा बान की मुनले लुम्बिनीको भ्रमण गरेका थिए ।

राष्ट्रसंघका महासचिव ड्यागले सन् १९५९ मा पहिलोपटक लुम्बिनी भ्रमण गरेका थिए । त्यसपछि लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघका महासचिव हुन् ऊ थान्त । उनी सन् १९६७ मा लुम्बिनी आएका थिए । ऊ थान्तको लुम्बिनी भ्रमणलाई सबैभन्दा महत्वपूर्ण रूपमा लिइन्छ । उनको भ्रमणबाट नै लुम्बिनीको दीर्घकालीन योजना बनेको थियो ।

लुम्बिनी विकास कोषका अधिकारीहरूका अनुसार राष्ट्रसंघका महासचिवका रूपमा ऊ थान्तको भ्रमणपछि लुम्बिनीको विश्वव्यापी प्रचारमात्र भएन यसको दीर्घकालीन योजना बनेर अहिलेको अवस्थामा आएको हो । ऊ थान्तले भ्रमण गरेपछि उनकै पहलमा लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन भएको थियो ।

ऊ थान्तले नै लुम्बिनी विकास गुरुयोजना बनाएर सोहीअनुसार अघि बढ्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेपछि जापानी वास्तुविद् प्राध्यापक केन्जियो टांगेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना बनाएका थिए । तर, सरकारले ४५ वर्षसम्म पनि लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न सकेको छैन ।

राष्ट्रसंघका महासचिव ड्याग ह्यामरसोल्डले पहिलो पटक सन् १९५९ मार्चमा लुम्बिनीको भ्रमण गरेका थिए । उनले ‘चम्किएको जस्तै सूर्यको किरण बाँसुरी नोटहरूमा देवताहरूसम्म पुग्छ जन्म कुटी’ भनेर लुम्बिनीको वर्णन गरेका थिए ।

यस्तै अर्का महासचिव ऊ थान्तले सन् १९७६ अप्रिलमा लुम्बिनी भ्रमण गर्दा ‘लुम्बिनी भ्रमण मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिन’ भनेर भनेका थिए ।

‘सन् १९६८ को शुरुवातदेखि नै नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय संघसंस्थाहरु विकासका विभिन्न चरणहरू सम्पन्न भएका छन् र यो परियोजना अहिले पर्याप्त मात्रामा तीर्थस्थल बन्नुअघि स्वेच्छिक योगदानबाट आर्थिक सहयोग आवश्यक पर्ने चरणमा पुगेको छ । तीर्थयात्री र पर्यटकहरूका लागि सुविधा, यस सम्बन्धमा म नेपाल सरकारलाई उनीहरूले पहिले नै गरेका पहलहरूका लागि व्यक्तिगत रूपमा धन्यवाद पनि व्यक्त गर्न चाहन्छु । साथै इच्छुक सरकार, व्यक्ति र निजी समूह दुवैले उदारता प्रदान गर्नेछन् भन्ने आशा पनि व्यक्त गर्दछु । नगद वा प्रकारको योगदान जुन मैले सबैभन्दा योग्य परियोजना हो भनेर कार्यान्वयन गर्न मद्दत गर्दछु’, उनले उल्लेख गरेका थिए ।

कर्ट वाल्डहाइमले सन् १९८१ फेब्रुअरीमा भ्रमण गर्दा ‘‘नेपाल सरकारको प्रयास र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा जापानी वास्तुविद् केन्जो टांगेले गुरुयोजना बनाएका छन् । तर, ती योजनालाई साकार बनाउन आवश्यक छ । यो मेरो आशा छ । तसर्थ, सरकार, निजी संस्था र व्यक्तिहरूले यो सबैभन्दा योग्यको लागि उदार योगदान गर्नेछन्’, उनले उल्लेख गरेका छन् ।

यस्तै ह्याभियर पेरिज द कोयरले सन् १९८९ मार्चमा लुम्बिनी भ्रमण गर्दा ‘मानवताको सेवामा बुद्धको करुणा र समर्पणको सन्देश इतिहासको कुनै पनि समयभन्दा आज बढी सान्दर्भिक छ । शान्ति, समझ र विशुद्ध राष्ट्रिय सीमाहरू पार गर्ने दृष्टिकोण हाम्रो असुरक्षित आणविक युगको अनिवार्यता हो । संयुक्त राष्ट्रसंघले गर्व गर्छ । यस परियोजनाको स्थापनाकालदेखि नै हृदयदेखि समर्थन गरेको छ । म यो अवसरलाई थप बताउन चाहन्छु कि यसले मानवताको आध्यात्मिक र सांस्कृतिक सम्पदासँग सबैभन्दा नजिकको सम्बन्ध रहेको यस उपक्रमको समर्थनमा आफ्नो भूमिका खेल्न जारी राख्नेछ’ भनी लुम्बिनीलाई चित्रण गरेका थिए ।

यस्तै पछिल्ल्लो पटक बान की मुनले सन् २००८ नोभेम्बरमा लुम्बिनी भ्रमण गरेका थिए ।

त्यसवेला उनले उल्लेख गरेका छन्, ‘शाक्यमुनि बुद्धको जन्मस्थल, यस पवित्र स्थलको सौन्दर्य र गहिरो महत्व देखेर म छक्क परेको छु । म एक राजकुमारको जीवन यात्राबाट प्रभावित छु, जसले जीवनका कठिन वास्तविकताहरूको सामना गर्न सबै सहज परिस्थितिहरू छोडेर पछि बुद्धको संस्थापक बने । संयुक्त राष्ट्रसंघको महासचिवको हैसियतमा शाक्यमुनि बुद्धको जीवन, दर्शन र शिक्षाले हामीलाई विभिन्न धर्म, आस्था, संस्कृति र सम्प्रदायका मानिसहरूबीच शान्ति, सद्भाव र मेलमिलापको प्रवर्द्धन गर्न मार्गदर्शन गर्नेछ भन्ने आशा राख्दछु ।’

विगतमा यस्ता भ्रमणले लुम्बिनीको प्रचारमा सहयोग पुगेको र अहिले पनि महासचिवको भ्रमणले लुम्बिनीवासी थप आशावादी देखिनु स्वाभाविक हो । गुटेरेसको भ्रमणले विश्वव्यापी रूपमा बुद्ध र लुम्बिनीको प्रचार हुने र लुम्बिनीको विकासका लागि संयुक्त राष्ट्रसंघको भूमिका निकै महत्त्वपूर्ण रहेकाले पनि यस्ता भ्रमणले थप टेवा पुग्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।

राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरेसको भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि लुम्बिनी आइपुगे । यसअघि लुम्बिनी आएका ५ जना महासचिवसँग प्रधानमन्त्री आएका थिएनन् । गुटेरेसको लुम्बिनी भ्रमण प्रधानमन्त्रीसमेत आएकाले विकास कोषका पदाधिकारी थप हौसिएका छन् ।

करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । मंगलबार लुम्बिनीबाट गुटेरेसले संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि आह्वान गरेका छन् ।

‘शान्ति र मानवता अपरिहर्य विषय हो । मानवीयता मर्न दिनुहुन्न । बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौं, लुम्बिनी घुमौं’, गुटेरेसले भनेका छन् ।

बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा अत्यन्तै खुशी लागेको बताउँदै उनले जलवायु परिवर्तनले पारेको असरप्रति चिन्ता व्यक्त गरेका छन् । इजरायल, प्यालेस्टाइन, सुडानलगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न उनले आहुवान गरे ।

उनले भने, ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *