नेपालमा सबैभन्दा बढी एक तले घर, ६ लाखभन्दा बढी रित्तो (भिडिओ) – Nepal Press

नेपालमा सबैभन्दा बढी एक तले घर, ६ लाखभन्दा बढी रित्तो (भिडिओ)

काठमाडौं । नेपालमा रहेका घरहरुमध्ये सबैभन्दा बढी एक तले रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर कुल ७५ लाख ५२ हजार ६६ वटा घर रहेको र यसमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो ।

त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७, ०.०१ प्रतिशत ८ देखि ९ र ०.००३ प्रतिशत १० भन्दा बढी तले घरहरु रहेको पाइएको छ ।

तथ्यांकअनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ ।

तथ्यांकअनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो रहेको छ । सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरु ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बताए ।

त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ ।

यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा खाता रहेको छ ।

सार्वजनिक तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।

देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. रेग्मीले सार्वजनिक गरिएको तथ्यांकले हाम्रो वित्तीय पहुँच कति छ, सीपयुक्त जनशक्तिको अवस्था, घरको अवस्था कस्तो छ लगायतका विषय समेटिएको बताए ।

उनले यो तथ्यांकले जनशक्ति योजना निर्माण गर्न र राष्ट्रले निर्माण गर्ने आवास योजना बनाउन सघाउ पुग्ने विश्वास व्यक्त गरे । योजना तर्जुमा गर्न पनि यसको भूमिका हुने उनको भनाइ छ ।

उपप्रमुख तथ्यांक अधिकारी रेग्मीले ६ लाखभन्दा बढी घर रित्तो अवस्थामा रहेको जानकारी दिए ।


प्रतिक्रिया

One thought on “नेपालमा सबैभन्दा बढी एक तले घर, ६ लाखभन्दा बढी रित्तो (भिडिओ)

  1. किन र कसरी सिङ्गो गाउँ र बस्ती रित्तियो कहिल्यै अध्यन गरे यीनले ? तथ्यांक सार्वजनिक गर्न लाज लागेनन अझ हुतिहारा सरकारलाई ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर