एनआरएन अध्यक्षमा चार प्रत्याशी, कुन पदमा क-कसले दिए उम्मेदवारी (सूची) – Nepal Press

एनआरएन अध्यक्षमा चार प्रत्याशी, कुन पदमा क-कसले दिए उम्मेदवारी (सूची)

काठमाडौं । गैरआवासीय नेपालीहरुको छाता संगठन गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं अन्तर्राष्ट्रिय महासभा आजबाट काठमाडौंमा सुरू भएको छ । तीन दिन चल्ने महासभाले एनआरएनएको नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद) को निर्वाचन गर्ने छ ।

जम्बो पदाधिकारी टीमसहित ७४ जनाको नयाँ नेतृत्वको चुनाव हुन लागेको हो । यसपटक अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दर्ता गराएका छन् । हालका दुई अध्यक्ष डा. बद्री केसी (रुस) र रुबिना थापा (अमेरिका) सहित महेशकुमार श्रेष्ठ (जापान) र राजेन्द्रकुमार (आरके) शर्मा (कतार) ले अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

एनआरएनएको चुनावमा पार्टीगत हिसाबले प्यानल उम्मेदवारी परेको बुझिएको छ । अध्यक्षका चार प्रत्याशीमध्ये तीनजना नेपालका प्रमुख तीन दलनिकट हुन् ।

डा. केसी एमाले निकट मानिन्छन् । उनी हालका तीन अध्यक्षमध्ये कार्यकारी अधिकारयुक्त हुन् । एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई अघि सारेको हो । केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड तथा गैरआवासीय नेपालीको हक-अधिकारलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

महेश कांग्रेसनिकट हुन् । उनी हाल एनआरएनएको उपाध्यक्ष पदमा छन् । सन् २००२ देखि एनआरएनएमा आवद्ध श्रेष्ठले जापानबाट राष्ट्रिय समन्वय परिषदको संस्थापक, अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्ष हुँदै अघिल्लो महाधिवेशनबाट उपाध्यक्ष बनेका हुन् । कांग्रेसबाट हालका महासचिव डा. केशव पौडेल पनि अध्यक्षका आकांक्षी थिए । तर, पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका छन् ।

अर्का प्रत्याशी शर्मालाई माओवादीको आशिर्वाद छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेको चर्चा छ । उनी पनि बहालवाला उपाध्यक्ष हुन् ।

अध्यक्षका यी तीन प्रत्याशी अघिल्लो महाधिवेशनमा एउटै प्यानलमा थिए । १० औं महाधिवेशनमा डा. केसीको प्यानलमा श्रेष्ठ र शर्माले उपाध्यक्षमा उम्मेदवारी दिएर जितेका हुन् । अहिले उनीहरू तीनतिर बाँडिएका छन् ।

चौथो प्रत्याशीका रूपमा रहेकी रविना थापा हालकी अध्यक्ष हुन् । त्यसअघि उनी उपाध्यक्ष थिइन् । उनले पनि आफूलाई बलियो दावेदारका रूपमा अघि सारिरहेकी थिइन् । स्वतन्त्र विश्लेषकहरूले भने भिडन्त त्रिपक्षीय हुने प्रक्षेपण गरिरहेका छन् ।

एनआरएमा ६ खुल्लासहित ८ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव ७ सचिव, एक कोषाध्यक्ष, चार संयुक्त कोषाध्यक्षसहितको जम्बो पदाधिकारी टीमको व्यवस्था रहेको छ । ६ खुल्ला उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूमा डा. विनोद श्रेष्ठ, अभिमान सिंह बस्नेत, गणेश केसी, डा. हेमराज शर्मा लगायत छन् । एक महासचिवमा बुद्धिसागर सुबेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ । दुई उपमहासचिवका लागि ५ जना तथा ६ सचिवका लागि १५ जनाले मनोनयन दर्ता गराएका छन् । यस्तै कोषाध्यक्षका लागि सुदनकुमार थापा र ठाकुरप्रसाद ढुंगानाको उम्मेदवारी छ ।

महाधिवेशनमा आउँदो २ गते नयाँ नेतृत्वको चुनाव हुने छ । पहिलोपटक एनआरएनमा फेसियल भेरिफिकेसनको माध्यमबाट अनलाइन भोटिङको व्यवस्था मिलाइएको छ । ५९ देशका चार हजार २२७ जनाले महाधिवेशनमा मतदान गर्नेछन् । एनआरएनएको सञ्जाल अहिले ८६ देशमा विस्तार भइसकेको छ ।

हेर्नुस् मनोनयन पत्र दर्ता गराएकाको पहिलो नामावली सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर