अध्यक्ष कमरेड ! राष्ट्रियताका पहरेदार भीम रावललाई यथाशीघ्र कारवाही गरियोस् – Nepal Press

अध्यक्ष कमरेड ! राष्ट्रियताका पहरेदार भीम रावललाई यथाशीघ्र कारवाही गरियोस्

१० वर्षे सशस्त्र युद्धमा सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये हाम्रो गाउँ पनि पर्छ । मैले नेपाल प्रहरी देख्न लोकतन्त्र कुर्न परेको थियो किनकि थलारा खोलीमा भएको पुलिस चौकी माओवादीहरूले म बुझ्ने हुनुअगाडि नै ध्वस्त पारिसकेका थिए । नेताहरू भनेका माओवादीमात्र देखिन्थे, तर बुवाको पुरानो रेडियोले एमाले, कांग्रेसका नेताहरूको नाम समेत सुनाउँथ्यो । गाउँघरका एमाले-कांग्रेसका नेता कि त गुप्त बस्थे कि भारत पुगेका थिए । अरु पार्टी भन्नेबित्तिकै ६ इन्च छोट्याउने वा ६ इन्च बढाउने नीति लिएको थियो ।

२०६२ साल फागुनमा म स्कुलबाट फर्किँदै गर्दा खोली बजारमा एक छुट्टै पार्टीको कार्यक्रम देखेँ । हेर्दै सुन्दै गर्दा उद्घोषकले बुवाको रेडियोले कहिलेकाहिँ नाम लिने एमाले नेता भीम रावललाई भाषण गर्न बोलाए । उनले सुरूमै देउडा गीत गाए र करिब एक घण्टा युद्धरत माओवादी र दमनकर्ता श्री ५ को सरकारको घोर विरोध गरे । कुना कुनामा छ्यापछ्याप्ती उभिएका हतियारधारी माओवादीले पनि सुनिरहे । त्यहाँका कयौं स्थानीय नेता डरले घरबाहिर निस्किएनन् तर अछामबाट बाजुरा हुँदै छान्नाको लामो बाटो हिँडेर आएका ती मान्छेले डरको प्रवाहै नगरी रावलले आफ्नो पार्टीको प्रचार गरे माओवादी र सरकारको आलोचना गरिरहे । मलाई त्यो मान्छेको तस्बिर त्यसैदिनदेखि साहसी मान्छेको रूपमा बस्यो । सायद, त्यसैले होला अर्को वर्ष लोकतन्त्र आएसँगै म पनि बुवाको पार्टीको सदस्य नबनेर त्यसै बहादुर मान्छेको पार्टीको सदस्य बनेँ ।

कमरेड अध्यक्ष, मैले देखेको र प्राय एमाले नेता-कार्यकर्ताले बुझेको यो सत्य हो कि त्यो मान्छेले त्यस्तो माओवादी आतंक बीचमा समेत सुदूरपश्चिमका हरेक गाविस पुगेर कयौं मृत्युहरू जित्दै पार्टी निर्माण गर्‍यो, जोगायो र जितायो । देशभित्रै मात्र नभई धेरै विदेशमा रहेका नेपालीमाझ पार्टी कमिटी विस्तार गरे । यतिसम्म कि उनकै नेतृत्वमा सुदूरपश्चिमका १६ मध्ये १४ स्थान जित हासिल गर्‍यो र पार्टीलाई शासन सत्ता सुम्पिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो ।

अध्यक्ष कमरेड ! अहिले विश्वमा अंग्रेजीविना के सम्भव छ भन्नु त ? तर त्यी रावल टेलिभिजनमा गएर शुद्ध नेपालीमात्र बोल्छन् । भाषामा मिसावटको विरोध गर्छन् । साथै देशमा आगोसरी फैलिएको इसाईकरणको मात्र नभएर हजुरकै अगुवाइमा आयोजित होलि वाइन कार्यक्रमको अहिलेसम्म समेत चर्को विरोध गर्ने मान्छे एमाले भइरहन मिल्छ ?

आज नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशनको मञ्चमा करिब २ सय एमाले नेताहरूको विभत्स हत्या गरेको कथित जनयुद्धको अगुवाकर्तामध्येका एक नेता लेखराज भट्ट हर्ताकर्ता देखिए तर त्यही नरसंहारको बेला सुदूरका पहाडका कुनाकाप्चा र तराईका फाटहरूमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र पार्टी जोगाउन हिँडेका भीम रावल सुदूरपश्चिमकै अधिवेशनमा नदेखिनु धेरैका लागि आश्चर्य बन्यो । तल हलबाट कोही कार्यकर्ताले प्रश्न गरे भीम रावल खै ? किन बोलाइएन ?

अध्यक्ष कमरेड ! म प्रत्यक्षरूपमा त्यस कार्यक्रममा उपस्थित हुन सकिन त्यसैले यही आलेखमार्फत एक महत्त्वपूर्ण प्रस्ताव पेस गर्दछु।

कमरेड अध्यक्ष ! २०३८/३९ सालतिर एउटै कमिटीमा आवद्ध श्रीमती जो क्षमतामा एमालेको हरेक महिला नेतृभन्दा अब्बल थिइन् । तर, श्रीमान-श्रीमती दुवै पार्टीमा हुनुभन्दा नयाँ महिलाहरूलाई जिम्मेवारी दिनुपर्छ भन्दै श्रीमतीलाई पदका लागि दबाब दिन छोडेर नयाँहरूलाई अवसरका लागि पद छोडाउने र आएका कयौं अवसरहरूमा अरु महिलाहरूलाई प्रस्ताव गर्ने भीम रावललाई कसरी अहिलेको एमालेको सदस्य स्वीकार गरौं म ? सके श्रीमतीलाई पनि मन्त्री, सांसद बनाउनु नसके आईएनजीओको हर्ताकर्ता बनाएर विभिन्न दूतावासहरूबाट पैसा ल्याएर गुट सञ्चालन गर्न त सक्नुपर्थ्यो तर त्यी मान्छेले त्यतिसम्म पनि गर्न सकेनन् ।

दुई जना छोराहरू भएको मान्छेले २१ महिना देशको गृहमन्त्रालयको नेतृत्व गर्दा समेत सुन तस्कर, ठेकादार बनाउनुको साटो जेठो छोरालाई डाक्टर पढाएर सशस्त्र प्रहरी बलको स्वास्थ विभागमा जागिर खान लगाए। कान्छोलाई इन्जिनियर पढाएर विदेशमा विद्यावारिधि गराउँदै देशमै सेवा गर्नुपर्छ भनेर स्वदेशमै काम गर्न प्रेरित गरेर के गर्न खोजेको ? सके तस्कर बनाउनू, नसके ठेकेदार त बनाउनू तर एउटा छोरालाई डाक्टर र अर्कोलाई इन्जिनियर बनाएर नेपालमै काम गर्न निर्देशन र प्रोत्साहन गर्ने बुवा कसरी अहिलेको नेपाली नेता त्यसैमा एमाले बन्न सम्भव छ ?

घरघर बिजुली होईझाउ, कर्णाली थुन्निझाउ ।
सुदूरपश्चिम डाको लाउला, काठमाडौं सुन्निझाउ ।।

अध्यक्ष कमरेड, यो कुनै चर्चित देउडा गायकले गाएको देउडा गीत नभई अस्ति गौरा पर्वका उपलक्ष्यमा काठमाडौं टुँडिखेलमा आयोजित वृहत् कार्यक्रममा त्यनै भीम रावलले आफ्नो मन्तव्यको अन्त्यमा वाचन गरेको देउडा हरफ हो । धेरै समय होइन करिब ३० वर्षअघिसम्म पनि सुदूरपश्चिमबाट काठमाडौंले सुन्ने गरी बोल्ने माध्यम थियन । यतिसम्म कि गाडी चढेर काठमाडौं बोली सुनाउन आउने बाटोसमेत थियन, कार्णालीमा पुल थियन । तर, आज काठमाडौंमात्र होइन देशका हरेक कुनाकुनामा सुदूरपश्चिम सुनिन्छ, देखिन्छ । राजनीतिको नेतृत्वमा होस् या खेलका मैदानमा सुदूरपश्चिमका सबैभन्दा चम्किलो रूपमा चम्किरहेको छ । आज देशमा यसरी सुदूरपश्चि देखिने, सुनिने अवस्थामा पुर्‍याउन उनै भीम रावलको अग्रणी भूमिका छ । जुन कुरा मलाइभन्दा बढी एमाले नेता कार्यकर्ताहरूलाई थाहा छ । उनले आफ्नो गीतको एक लाइनमा भने झैँ काठमाडौंमा सुदूरपश्चिम सुन्निने त भएको छ ।

अर्को लाइनमा भनेको कर्णाली नदीमा ड्याम बाँधेर ठूलो मात्रामा बिजुली निकालेर सुदूरका घरघर उज्यालो बनाउने सपना पूरा गर्ने असल नेतृत्व चाहिन्छ । आज माथिल्लो कर्णाली आयोजना भारतीय कम्पनीले ओगटेर बसेको दसक भइसक्यो । त्यो आयोजना बनाउन नदिने उस्को योजनाको विरुद्धमा बोल्ने अघिल्लो सदनमा बोल्ने उनै रावल मात्र थिय। अहिले सर्वोच्चो अदालतले म्याद नथप्न आदेश दिदा समेत त्यो अवस्था कायमै छ। यसरी विदेशी कम्पनिले ओगटेका आयोजना बन्नुपर्छ भन्ने मान्छेले कसरी पार्टी निर्माण गर्न सक्छ ? तीनै कम्पनीहरूबाट चन्दा असुलेर गुट चलाउन सक्ने सम्मको हैसिएत र मन नभएको मान्छेलाई म कसरी एमाले नै हुन मान्नु ?

२०६२ साल फागुनमा म स्कुलबाट फर्किँदै गर्दा खोली बजारमा एक छुट्टै पार्टीको कार्यक्रम देखेँ । हेर्दै सुन्दै गर्दा उद्घोषकले बुवाको रेडियोले कहिलेकाहिँ नाम लिने एमाले नेता भीम रावललाई भाषण गर्न बोलाए । उनले सुरूमै देउडा गीत गाए र करिब एक घण्टा युद्धरत माओवादी र दमनकर्ता श्री ५ को सरकारको घोर विरोध गरे । कुना कुनामा छ्यापछ्याप्ती उभिएका हतियारधारी माओवादीले पनि सुनिरहे ।

अध्यक्ष कमरेड ! जतिबेला देशमा संविधान निर्माणको चटारो थियो त्यतिबेला हरेक महत्त्वपूर्ण बैठकहरू विपक्षीसँग तर्कसंगत ढंगले दृढतापूर्वक पार्टीको प्रस्ताव पेस गर्न पो भीम रावल चाहिन्थे । देशको नाम र झण्डा फेर्नुपर्ने प्रस्ताव आउँदा त्यसका विरुद्ध लड्ने उनी प्राय एक्लै हुन्थे । अहिले त्यो समय सकिएको छ । अहिले पाए मिलीजुली सरकार बनाएर दोहन गर्ने नसके संसद बन्धक बनाउने कार्यभार पार्टीले अवलम्बन गरेको बेला उनको के काम ?

पार्टीको १०औं चितवन महाधिवेशनमा एमाले चौतर्फी घेरामै थियो । सिंगो सञ्चारमाध्यम र बौद्धिक वर्ग एमालेमा लोकतन्त्र खोसिएको बारेमा चर्को स्वरमा बोल्दै थिए । एमालेले जबज छोडेको प्रमाणित गर्दै थियो । त्यही पार्टीभित्रको आन्तरिक लोकतन्त्र जोगाउन र जबजको रक्षाका लागि कयौं अपमान सहेर अन्तिमसम्म लड्ने उनी एक्लै थिए । आज एमालेमा आन्तरिक लोकतन्त्र फर्किएको केही संकेतहरू भइरहेका प्रदेश अधिवेशनले देखाइरहेका छन् । अब पार्टीमा लोकतान्त्रिक प्रणाली पुन: सुचारू हुँदा पार्टी लोकतन्त्रका लागि लडेको उनी किन चाहियो ?

पार्टी विभाजनको बेला पार्टी ५०/५० कै हाराहारीमा विभाजनको अवस्था थियो । त्यसबेला एकपक्षको नेतृत्व गर्ने पार्टी बिभाजन रोकेर १० बुँदे समझदारी गर्दै कयौं नेता कार्यकर्ताहरूलाई पार्टी एकताकै पक्षमा समाहित गराए । ९औं महाधिवेशनमा र पछि पार्टीमा देखिएको अन्तरसंघर्षलाई पार्टी विभाजनसम्म जान नदिन उनको अतुलनीय योगदान छ । अहिले पार्टीमा विभाजनको सम्भावना नभएसी विभाजन टार्न सक्ने मान्छेको के काम ?

गत चुनावमा वदनीयतपूर्वक विभेद गरेर टिकटसम्म नदिएर अपमान गर्दासमेत पार्टी नछोड्ने, तर अझै गाउँगाउँ गएर एमालेप्रति जनतामा जागरण जगाइराख्ने यति परिपक्क र सहनशील मान्छे अहिलेको समयमा के काम ?

भीम रावलले ६५ वर्षको उमेरमा समेत पढ्न-लेख्न छोडेका छैनन् । माओवादी युद्धमा वैदेशिक प्रभावजस्तो संवेदनशील विषयमा विद्यावारिधि सके । के अहिलेको सामाजिक सञ्जालमा तमासा देखाउने समयमा यस्ता देश र जनतालाई जानकारी गराउने महत्त्वपूर्ण विषयमा अध्ययन अनुसन्धान गरेर पार्टी बन्छ त ? पार्टीको नवौं महाधिवेशनदेखिकै घोषित कार्यभार छ ‘समृद्ध नेपाल सुखी नेपालि’ को नारा पूरा गर्न के पढेर/लेखेर, जनतामा विचार सम्प्रेषण गरेर त्यो सम्भव होला त ? हुन्न बरु बरु सामाजिक सञ्जालमा भिड्ने, मनपरी बोल्ने, तँछाडमँछाड मच्चाउने, चन्दा उठाउने गुट बनाउने मान्छेहरूलाई अवसर दिएर उनलाई कारवाही गर्न सके त्यो नारा चाँडै पूरा हुन्थ्यो होला कि !

आज एमालेमा आन्तरिक लोकतन्त्र फर्किएको केही संकेतहरू भइरहेका प्रदेश अधिवेशनले देखाइरहेका छन् । अब पार्टीमा लोकतान्त्रिक प्रणाली पुन: सुचारू हुँदा पार्टी लोकतन्त्रका लागि लडेको उनी किन चाहियो ?

अध्यक्ष कमरेड ! भीम रावलविना एमालेको अवस्था सुदूरपश्चिममा कस्तो होला भन्ने जानकारी गत निर्वाचनले देखाइदिएको छ । फेरि अर्को चुनाव आउने नै छ र अवस्था के हुनेछ भन्ने पूर्वानुमान छँदैछ । तर, पार्टीभन्दा गुट ठूलो र न्यायभन्दा घमण्ड बलवान् भन्ने मौलाउँदै गएको मान्यता मर्न दिन हुँदैन । आज हरेक दिन नेपालका सञ्चारमाध्यममा धेरै एमाले नेताहरूको नाम जोडिएका कयौं काण्डहरूको चर्चा सुनिन्छ । प्रायः शीर्ष नेताहरू कुनै न कुनै काण्डमा नाम मुछिएकै सुनिन्छ, देखिन्छ । अनि कुनै पनि अनिमियताताको काण्डमा नामै नजोडिएको मान्छे कसरी एमाले नै हुन् भनेर जनताले विश्वास गर्ने ?

एकदिन संसदमा नेपाली पाठ्यक्रममा ‘ई’ माने ईश्वर हटाएर ‘ई’ माने इसा लेखिएको बारेमा र बजेट भाषणमा सयौं अंग्रेजी शब्द राखिएको विरोधमा एकजना माननीय रोष्टमामा गएर चर्को श्वरमा विरोध जनाए । तीनै व्यक्तिलाई बेलुका पत्रकार टीकाराम यात्रीले आफ्नो कार्यक्रममा बोलाएर भन्दै थिए- ‘जब देशमा राष्ट्रियताको सवाल उठ्छ, जब देशको सीमा अतिक्रमण हुन्छ, या आफ्नो भाषा-संस्कृति अतिक्रमणको अवस्था आउँछ त्यस्तो बेला यत्तिको बुलन्द आवाज उठाउने, सतिसाल झैं उभिने तपाईंप्रति मेरो सदैव उच्च सम्मान छ, डाक्टर रावल तपाईँलाई यत्रो साहस कसरी आउँछ ?’ के यसरी स्वतन्त्र तथा विद्वान वर्गले समेत तारिफ गर्न मिल्ने मान्छे एमाले हुन सम्भव हुन्छ ?

अध्यक्ष कमरेड ! अहिले विश्वमा अंग्रेजीविना के सम्भव छ भन्नु त ? तर त्यी रावल टेलिभिजनमा गएर शुद्ध नेपालीमात्र बोल्छन् । भाषामा मिसावटको विरोध गर्छन् । साथै देशमा आगोसरी फैलिएको इसाईकरणको मात्र नभएर हजुरकै अगुवाइमा आयोजित होलि वाइन कार्यक्रमको अहिलेसम्म समेत चर्को विरोध गर्ने मान्छे एमाले भइरहन मिल्छ ? यसरी अंग्रेजीकरण भइरहेको विश्वमा हाम्रो नेपाली भाषाको पनि संरक्षण हुनुपर्छ भन्ने र धर्म संस्कृति पनि बचाउनु पर्छ भनेर अग्रणी रूपमा अगाडि बढिरहेको, पार्टीको आन्तरिक लोकतन्त्र र देशमा भइरहेको अलोकतान्त्रिक गतिविधिहरूको आलोचना गर्ने पात्रलाई यथासक्य कारवाही गरी नेपालमा इसाइकरणको नेतृत्व गरिरहेका एकनाथ ढकालहरूलाई उच्च सम्मानका साथ पार्टीमा थप जिम्मेवारी प्रदान गरियोस् ।

(पीएचडी स्कलर भट्टराई हाल बोन जर्मनीमा छन्)


प्रतिक्रिया

4 thoughts on “अध्यक्ष कमरेड ! राष्ट्रियताका पहरेदार भीम रावललाई यथाशीघ्र कारवाही गरियोस्

  1. नेकपा एमालेलाई कमजोर बनाउने अन्तिम प्रयास पनि असफल भएपछि मात्र भीमबहादुर रावलले एमाले नछाडेका हुन्। रावलको अन्तरमनले अझैपनि एमालेका पक्षमा क्रियाशील हुन मन छैन्। त्यसैले त बेला बेलामा नेतृत्व विरूद्ध बोल्छन् र आफूलाई भाउ ननदिएको गुनासो गर्छन्। यदि उनले एमालेको माया गर्थे भने सार्वजनिक रूपमा एमालेलाई कमजोर बनाउने गरी बोल्दैनथे। एमाले विरोधीको पक्षमा बोलेका छैनन्। रह्यो कुरो जिम्मेवारी पाउने वा नपाउने, त्यस्ता कैयौं कार्यकर्ता छन् पदबिना पनि एमाले बलियो बनाउने भूमिकामा रमाएका छन्। लेखकले एकपक्षीय भएर लेखेको देखियो।

  2. हरिजिको रोईलो किन ? भिम रावललाई महाअधिवेशनमा सर्वसम्मति गरौं तपाईं बरिष्ठ उपाध्यक्ष बस्नुहोस् भन्दा हुदैन म केपिसँग अध्यक्ष मा लडछु भनेर घमण्ड गरेको होईन ? ल ठिकै छ लोकतान्त्रिक अभ्यास हो गर्न पाईन्छ भनेर चुनाव भयो । ओलिले जिते । अब केन्द्रीय सदस्य बस भन्दा बस्दिन भनेर बटारिएको किन ? एउटा संगठित सदस्य मात्र भएर बस्न रहर गरेको होईन ? उनको माग पूरा भएकै छ त। उनीजस्ता लाखौं संगठित सदस्य छन् एमालेमा । सबैलाई व्यक्तिगत निमन्त्रणा गर्न, मञ्चमा राख्न सम्भव हुन्छ ? पार्टीले जति सम्मान दिन खोज्दा पनि बटारिईरहने, विनाकारण संस्थापनको विरूद्व कुरा गर्ने अनि वास्तै गरेनन् भन्न मिल्छ ? लेखराज लगायत सबै माओवादीले हतियार विसाय, शान्तिपूर्ण राजनीतिमा आए, एमाले रोजे, पार्टीमा मन लगाएर काम गरिरहेका छन् । अब उनीलाइ के मञ्चबाट तल झार्ने ? भिम रावलले पद नलिने, जे कुरा गरे पनि बटारिने गरेको देख्दा वहाँ भित्रभित्रै एमाले विरोधीको गोटी त बनिरहनु भएको छैन ? शंका गर्ने ठाउँ छ । वहाको राष्ट्रियता प्रतिको अडान कहिलेकाही उग्र हुन्छ । त्यस्ता उग्र कुरा गर्ने जिम्मेवार हुन्छ ? भोलि देश चलाउनेले यस्ता उग्र कुरा गरेर हुन्छ ? त्यसैले ओलि र एमालेले जे गरेका छन् देशको परिस्थिति अनुसार देशको हितको लागि गरेका छन् । भिमजीले पार्टीको दिएको जिम्मेवारी लिएर काम गर्नुपर्छ । वटारिएर भाषण गरेर विरोधीले तिघ्रा त ठटाउलान तर एमालेलाइ केहि नाप्दैन । ख्याल रहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *