उपप्रधानमन्त्री महासेठलाई उपहार भन्दै बालेनले पठाए एक ट्रक धूलो, कार्यालय अगाडि खन्याइयो (भिडिओ) – Nepal Press

उपप्रधानमन्त्री महासेठलाई उपहार भन्दै बालेनले पठाए एक ट्रक धूलो, कार्यालय अगाडि खन्याइयो (भिडिओ)

बालेन भन्छन्- दिनदिनै पठाउनेछु, माया सम्झेर स्वीकार्नुहोला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् ।

विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै धूलो उपहार पठाएका हुन् ।

उनले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने बताएका छन् ।

उनले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग सुपरिवेक्षण तथा अनुगमन कार्यालय अगाडि एक ट्रक धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा राखेका छन् ।

त्यसबारे उनले लेखेका छन्

माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठज्यू !

तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंको जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको छ ।

काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँकै धूलोको हात छ, जसले गर्दा महानगरवासीले धूलोधूवाँ खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारीसाधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानुपरेको छ ।

यो धूलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने छु, माया सम्झेर स्वीकार्नुहोला ।


प्रतिक्रिया

One thought on “उपप्रधानमन्त्री महासेठलाई उपहार भन्दै बालेनले पठाए एक ट्रक धूलो, कार्यालय अगाडि खन्याइयो (भिडिओ)

  1. गजब,
    मलाई यस्तो अराजकता खुब मनपर्छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर