बालेनले धूलो खन्याएपछि सडक डिभिजनको चेतावनी- अराजक व्यवहार सह्य हुँदैन – Nepal Press

बालेनले धूलो खन्याएपछि सडक डिभिजनको चेतावनी- अराजक व्यवहार सह्य हुँदैन

कठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो दैलोमा फोहरको धूलो खन्यापछि सडक विभागअन्तर्गतको सडक डिभिजन काठमाडौंले उक्त व्यवहार सह्य नहुने बताएको छ ।

विभागले आजै प्रेस विज्ञप्ति जारी गर्दै डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाइ भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने चेतावनी दिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आजै उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै एक ट्रक धूलो उपहार पठाएका थिए । उक्त धूलो महानगरको गाडीले सडक डिभिजन काठमाडौंको प्रवेशद्वारमा खन्याइदिएको थियो ।

विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धूलो र कष्ट व्यहोर्नुपरेको भन्दै बालेनले भौतिक पूर्वाधारमन्त्रीलाई धूलो उपहार पठाएका थिए ।

उनले काम अगाडि नबढेसम्म पायक पर्ने ठाउँमा एक ट्रक धूलो उपहार पठाउने बताएका छन् ।

याे पनि पढ्नुस् : उपप्रधानमन्त्री महासेठलाई उपहार भन्दै बालेनले पठाए एक ट्रक धूलो, कार्यालय अगाडि खन्याइयो (भिडिओ)

डिभिजन सडकले कार्यालयको गेटमा काठमाडौं महानगरपालिककाको मिनि टिपरबाट कार्यालय परिसर छिर्नसमेत अवरोध हुनेगरी फोहोर फालिएको विषयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘काठमाडौं जिल्लाभित्रका सडक निर्माण तथा मर्मतसम्भारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास हुनेगरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ’, विज्ञप्तिमा भनिएकाे छ, ‘आज मिति २०८१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा विनाअनुमति सडक काटी सडकको कतबलमबचम चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत विनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाइ गरिएको यस किसिमको व्यवहारले कानूनी राज्यको उपहास गरेको ठम्याइ यस सडक डिभिजनको रहेको छ ।’

कार्यालयले आफ्नो कार्य क्षेत्रभित्र भएका त्रुटि औंल्याइ आवश्यक सुझाब दिए सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने, तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाइ भएका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *