प्रचण्ड, देउवा र ओलीको अन्तिम परीक्षा, इतिहासले दिँदैन पटक-पटक मौका
![](https://www.nepalpress.com/wp-content/uploads/2024/05/bishnu-bahadur-chettri.jpg)
विकासशील देशको विडम्बना भनौं, हरेक मानिस राजनीतिबाट अछुत रहँदैन । हाम्रो हरकुनै विषय, समाज, संस्था वा समस्या यो वा त्यो प्रसंगमा राजनीतिसँगै जोडिएर आउँछ । यो हाम्रो असंगत र अस्थिर राजनीतिको परिणति पनि हुनसक्छ । लोकतान्त्रिक संस्कृतिलाई संस्कार र मूल्य मान्यताबाट निर्दिष्ट गर्न नसक्दाको नियति पनि हुनसक्छ वा संस्थागत संरचना वा व्यवस्थित भइनसकेको कारणले पनि यस्तो हुनसक्छ ।
राजनीति, राजनीति र राजनीति सर्वत्र छाएको पाइन्छ । देश बनेन भनेर चिन्ता धेरै हुने गर्छ । ‘नेगेटिभ न्यारेटिभ’ले हर वर्ग, क्षेत्र, पेशा वा समाज अभिशप्त देखिन्छ । विशेषगरी युवाहरुमा यो चिन्ता उत्कर्षमा देखिन्छ, जुन स्वाभाविक हो । उसको उमेरले उसको मात्र हैन, देशको भाग्य र भविष्यको सुनौलो इन्द्रेणी भविष्य खोजेका बेला यो व्यग्रता देखाउनु एउटा बाध्यता पनि हो ।
देश बनाउँछु भनेर सुनौं सुनौं लाग्ने कर्णप्रिय भाषण र घोषणाले स्थानीय तहदेखि केन्द्र सरकारसम्म धेरै व्यक्ति पुगे, पुग्दैछन् । तथापि देशले खोजेको र जनताले चाहेअनुरुपको नेतृत्व आजपर्यन्त मिल्न नसकेको कटु यथार्थ हाम्रोसामु छ । देश चिन्ता गरेर बन्ने होइन, देश बनाउन चाहिने धेरै विषयमध्ये एउटा विषय चिन्तन पनि हो ।
गणतन्त्र प्राप्तिपछिकै कुरा गर्दा पनि सबै पार्टी आलोपालो सरकारमा पुगेकै छन्, पुग्दैछन् । कतिपय प्रियतावादी भाष्य सृजना गरेको भरमा नेतृत्व हत्याउने व्यग्र प्रतीक्षारत पनि छन् । बाहिर हुँदा विकसित देश बनाउन पूरै ‘रोडम्याप’ देखाउने प्रवृत्ति हाम्रोमा नौलो होइन, तर सरकारमा गएपछि पारा उही देखिन्छ- ‘जुन जोगी आए पनि कानै चिरिएको ।’ यो परिस्थितिका हामी निरन्तर भुक्तभोगी हौं ।
विगतबाट सिक्दै आज यही परिस्थितिबाट तत्काल देश र जनतालाई खुशी, सुखी र आधारभूत आवश्यकताले परिपूर्ण कसरी बनाउन सकिएला भन्ने चिन्तन नै आजको मूख्य आवश्यकता हो । नेतृत्वको वा नेतृत्व लिन चाहनेले देखाउने मिसन, भिजन र अठोट यो हो । यो चिन्तनले र यसकारणले म स्थानीय, प्रदेश वा संघीय सरकारको नेतृत्वमा जान चाहन्छु भन्ने हुटहुटी, अठोट र प्रतिज्ञा नभएसम्म देशले काँचुली फेर्न सक्दैन । परिवर्तनको पारिलो घाम लाग्ने छाँट छैन ।
कतिपय प्रियतावादी भाष्य सृजना गरेको भरमा नेतृत्व हत्याउने व्यग्र प्रतीक्षारत पनि छन् । बाहिर हुँदा विकसित देश बनाउन पूरै ‘रोडम्याप’ देखाउने प्रवृत्ति हाम्रोमा नौलो होइन, तर सरकारमा गएपछि पारा उही देखिन्छ- ‘जुन जोगी आए पनि कानै चिरिएको ।’
स्पष्ट नीति, कार्यनीति, रणनीति, कार्यक्रम र त्यसको कार्यान्वयन, जुन उसको राजनीतिक आस्था र सिद्धान्त, अनि मूल्य मान्यताले निःसृत हुनुपर्छ । दर्शन र सिद्धान्तविनाको लोकप्रियता वा प्रियतावादी पपुलिष्ट एक्टिभिज्मले राजनीतिमा एउटा खहरेभन्दा केही होइन भन्ने हाम्रोमा पनि हालैका पपुलिष्ट राजनीतिक एक्टिभिस्टले देखाएका छन् । घट्नाक्रम त्यस्तै देखिन्छ । परन्तु परिवर्तनका लागि प्रियतावादीको वैशाखी टेक्नेहरुले समयक्रमसँगै परिमार्जन र परिष्कृत गर्दै जाने हो भने त्यो एउटा अनुभवको कसीमा संयोग सृजित तर जायजै घट्नाक्रम मान्न सकिएला ।
गर्न सकिने कुरा धेरै छन् । तथापि एउटा कुराबाट सुरुवात गर्ने हो भने देश आजैबाट बन्न सुरु हुनेछ । वर्तमानमा हर राष्ट्रवादीलाई पिरोलेको युवा पलायन, बेरोजगारी, कुशासन जस्ता विषय हुन्, जसले निराशालाई मलजल गरेको छ । यस्तो निराशालाई निचोरेर हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भने झैं आशाको जुनकिरी उदाउने गरी एउटा अवसर देशले पाएको छ । समस्यालाई अवसरका रुपमा लिएर समाधानको खुडकिलो उक्लने । यसका निम्ति सत्ताका लागि दलहरुमा लुछाचुँडी भए पनि एउटा प्रतिबद्धता र देशभक्ति भए पुग्ने स्थिति छ ।
देशलाई समुन्नतितर्फ लैजान एउटा अवसरको रुपमा लिन सकिने परिस्थिति पैदा भएको छ अहिले । सामान्यतया हामीले केही समयदेखि भोग्दै आएको परिस्थितिको मात्र मूल्याङ्कन गर्यो भने यो झन् बिग्रँदो र निराशाजनक छ । यो स्थितिलाई सकारात्मक रुपमा लिएर अवसरको रुपमा विकास गर्ने क्षमता राजनीतिक नेतृत्वले राख्ने हो भने यो देशको भविष्यका लागि नै एउटा सुवर्ण अवसर प्रमाणित हुन सक्छ, अहिलेको समस्याग्रस्त अवस्था ।
यसका निम्ति सरकारमा जो पार्टी बसे पनि एउटा प्रतिबद्धतासहित यो वा त्यो पार्टीको, आफ्नो वा अर्काको पार्टीको नभनी जति पनि चर्चामा रहेका भ्रष्टाचारका काण्डहरू जस्तै सबै सुन, सहकारी ठगी प्रकरण, गिरीबन्धु टी-इस्टेट नीतिगत भ्रष्टाचार, यती, ओम्नी, ललिता निवास, टेरामेक्स, वाइड बडी खरिद, भुटानी शरणार्थीलगायतका विशेष गरी २०४६ सालपछिका सबै काण्डलाई छानबिन गरी यथार्थ बाहिर ल्याउनुपर्छ । यथार्थ सार्वजनिक गरी दोषीलाई कारबाही गर्ने हिम्मत, साहस र नेतृत्व वर्तमान संसदमा प्रतिनिधित्व गर्ने दलमा हुनुपर्छ ।
गर्न सकिने कुरा धेरै छन् । तथापि एउटा कुराबाट सुरुवात गर्ने हो भने देश आजैबाट बन्न सुरु हुनेछ । वर्तमानमा हर राष्ट्रवादीलाई पिरोलेको युवा पलायन, बेरोजगारी, कुशासन जस्ता विषय हुन्, जसले निराशालाई मलजल गरेको छ ।
अहिले पार्टी नेताहरुको अभिव्यक्ति सुन्दा एकले अर्कोलाई हिलो छ्याप्नेमात्र गरेको देखिन्छ । एउटा काण्डमा एउटाले छानबिन हुनुपर्छ भन्यो भने अर्को पार्टीले अर्को काण्डको कुरा उठाउने र तैं चुप मै चुप हुने गरेको देखिन्छ । अझै भनौं, आफू सत्तामा हुँदा र विपक्षमा हुँदा बोल्ने अभिव्यक्ति एउटै विषयमा पनि सीधै १८० डिग्री फरक कोणमा देखिन्छ । वास्तवमा राजनीतिक दल र राजनीतिकर्मीमाथि जनविश्वास घट्दै जानुको मुख्य चुरो कुरो पनि यही हो ।
राजनीतिक नेतृत्वले जनतामा आशा र भरोसा पैदा गर्न सक्नुपर्छ, तर यहाँ हरदिन हरेक घटनाले एकपछि अर्को निराशा थप्छ । अब यो परिस्थितिबाट मुक्त भएर देशलाई विकासको बाटोमा डोर्याउन कहीँ न कहीँबाट विषम देखिए पनि, अप्ठ्यारो देखिए पनि, एउटा कामको लागि सहज र अनुकूल स्थिति बनेको छ । संसदमा प्रतिनिधित्व गर्ने दल र नेताहरुको परीक्षाको घडी पनि यो हो । यस परीक्षामा पास हुन सबै दल र दलको नेताले हालसम्म भएका सुनिएका सबै भ्रष्टाचार काण्डलाई एकसाथ छानबिन गर्ने, दोषीलाई कारबाही गर्ने र देशलाई सही बाटोमा लैजाने आँट अब गर्न सक्नुपर्छ । त्यसपछि देश बनाउने मार्गचित्र अर्थात रोडम्याप पस्कनुपर्छ ।
यो अवसर वर्तमान सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री प्रचण्ड, ठूला दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीलाई राजनेता बन्ने अन्तिम अवसर हो । त्यस्तै कांग्रेसका गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, एमालेका योगेश भट्टराई, नयाँ दल रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपाका ज्ञानेन्द्र शाहीलगायत जो राजनीतिको मध्य यात्रामा हुनुहुन्छ, उहाँहरुको राजनीति देश र जनताकै लागि हो भनेर प्रमाणित गर्ने अवसर हो ।
होइन भने यिनै दल र नेताको कारण वर्तमान व्यवस्थामाथि पनि प्रश्न उठिरहन्छ । विकल्पको खोजी पनि भैरहन्छ भने जनताको नजरमा वर्तमान राजनैतिक दलका नेताहरु पनि सोलोडोलोमा उही कानै चिरेका एक थान जोगीबाहेक केही नहुन सक्छन् । इतिहासले मौका एक पटक दिन्छ । पटक पटक दिँदैन । चेतना भया !