प्रहरी हिरासतमा कसरी मारिएका थिए कृष्ण सेन ? समाचार ब्रेक गर्ने किशोर श्रेष्ठको डायरी – Nepal Press

प्रहरी हिरासतमा कसरी मारिएका थिए कृष्ण सेन ? समाचार ब्रेक गर्ने किशोर श्रेष्ठको डायरी

काठमाडौं । जनादेश साप्ताहिकका तत्कालीन प्रधानसम्पादक तथा जनदिश दैनिकका सम्पादक कृष्ण सेन इच्छुक २०५९ सालमा आजकै दिन (जेठ १३ गते) मारिएका थिए । माओवादी जनयुद्धका बेला पक्राउ गरेर हिरासतमा राखिएको केही दिनमै उनको निधन भएको थियो ।

माओवादीको मुखपत्रका रुपमा चिनिन्थ्यो जनादेश साप्ताहिक । इच्छुकले भूमिगत रुपमै उक्त पत्रिका प्रकाशन गर्थे । माओवादी जनयुद्धलाई पक्षपोषण गर्ने समाचार तथा विचार यस साप्ताहिकमा आउँथे । तर, प्रहरीको नजरबाट इच्छुक जोगिन सकेनन् । २०५९ जेठ ६ गते प्रहरीले उनलाई गिरफ्तार गरेको थियो ।

इच्छुकको प्रहरी हिरासतमै निधन भएको खबर पहिलो पटक जनआस्था साप्ताहिकले प्रकाशित गरेको थियो । साप्ताहिक पत्रिकाहरु नै सूचना र विचारको प्रमुख स्रोत हुने तत्कालीन समयमा जनआस्थाको ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकको समाचारले ठूलै खल्बली मच्चाएको थियो । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ त्यसबेलादेखि नै सेनादेखि दरबार र माओवादीसम्मका समाचार सबैभन्दा बढी ब्रेक गर्ने पत्रकारका रुपमा चिनिन्थे ।

त्यसो अहिले पनि उनी जनआस्थामा समाचार ब्रेक गरिरहेकै छन्, तर जनआस्थाको समाचार दैनिक पत्रिकादेखि अनलाइनसम्मले कपी गरेर भाइरल बनाउँदा जनआस्था भने ‘हिङ बाँधेको टालो’ जस्तो बन्न पुगिरहेको छ । बाँसबारी प्रकरणदेखि जीबी राईको घोटालासम्म विषय सबैभन्दा पहिले जनआस्थामा आएपछि अरुले फलोअप गरेका हुन्, तर कृष्ण सेन इच्छुक हत्या प्रकरणको बेला प्रेस स्वतन्त्रताको माहोल अहिले जस्तो थिएन । यो हत्याको समाचार बाहिर ल्याउनु नै जोखिमको कुरा थियो । जनआस्थामा समाचार आएपछि श्रेष्ठ स्वयम्ले अनेक धाकधम्की सहनुपर्‍यो । त्यसो त उनी यस्ता धाकधम्कीसँग पहिल्यैबाट अभ्यस्त पत्रकार हुन् ।

कृष्ण सेन इच्छुकको वार्षिकीका दिनमा सामाजिक सञ्जालमा पोस्ट गर्दै पत्रकार श्रेष्ठले त्यतिबेलाका क्षणहरु सम्झिएका छन् । उनले कसरी प्रकाशित गरेका थिए त्यो समाचार, कसरी भएको थियो कृष्ण सेनको मृत्यु ?

श्रेष्ठकै शब्दमा

२०५९ साल जेठ अन्तिम साताको कुरा हो । मंगलबार राति हामीलाई स्रोतले फोन गरेर साउतीको स्वरमा भन्यो- कृष्णलाई मार्‍यो नि !

‘को कृष्ण ?’, उसले डिटेलमा भन्न सकेन । संकटकालको बेला थियो- सेना, प्रहरी सबैले प्रेसलाई सताइराखेको अवस्था । दरबार हत्याकाण्ड भएर ज्ञानेन्द्रले सत्ता लिएको वर्ष दिन पुग्दै थियो । हामीलाई यसरी सूचना दिने व्यक्ति कृष्ण सेन मारिएको ठाउँका प्रत्यक्षदर्शीमध्येकै ।

फोन आएपछि यस विषयमा छलफल गर्‍यौं, तर कन्फ्युजन भयो । मारिएका व्यक्तिको नाम कृष्णमात्रै भनिएको थियो । जबकि पक्राउ परेका दुई जना थिए । कृष्णध्वज खड्का (हाल सञ्चारमन्त्री रेखा शर्माका पति) र अर्का कृष्ण सेन इच्छुक । हामीले यो हप्ता विस्तृत सूचना पाउन नसकेपछि समाचार लेखेनौं । अर्काे हप्ता सोमबार फेरि फोन आयो । स्रोतले भन्यो- ‘तपाईंहरु समाचार छाप्न डराउनु भएछ यार !’

हामीले भन्यौं- ‘किन डराउनु र ! को कृष्ण हो, डिटेलमा भन्नुपर्‍यो नि !’

उसले भन्यो- ‘त्यो पत्रकार कृष्ण के त !’

यसपछि भने मारिने व्यक्ति कृष्ण सेन इच्छुक नै रहेछन् भन्ने पक्का भयो । उनलाई जेठ ६ गते प्रहरीले पक्रेको थियो । त्यो घटना थियो जेठ १३ गतेको । घटना के हो भनेर सोध्दा स्रोतले भन्यो- ‘बसेर केरकार गर्दागदै ढल्यो । औषधि नियमित खानुपर्ने उसलाई मुटुको रोग पनि रहेछ । औषधि पनि खान नपाएको, अलिअलि गर्दागर्दै ढल्यो ।’

कृष्ण सेनको हत्या हुँदा त्यहाँ को को थिए भन्ने हाम्रो प्रश्नमा स्रोतले भन्यो- ‘तत्कालीन भ्याली डीआईजी, नगर प्रहरीका इन्चार्ज र ज्याङगो ज्यान भएका इन्स्पेक्टर कमल खाँड । उनीहरुले नै कुटेर मारेका हुन् ।’

‘अनि लाशलाई के गरे त ?’

‘पिकअप गाडीमा हालेर लगे र विष्णुमतीतिर सेलाए । पोल्नुभन्दा पहिला इन्काउन्टरमा मारिएको भन्ने पार्नलाई छातीमा दुईवटा गोली हानेर मुचुल्का बनाए ।’

स्रोतले यस्तो जानकारी दिएपछि हामीले २०५९ असार १२ गतेको जनआस्था साप्ताहिकमा ‘कृष्ण सेन पशुपतिमा खरानी’ शीर्षकमा अलबिदा कृष्ण सेन भनेर लेख्यौं । कृष्ण सेन मेरा पनि साथी थिए । म पत्रकार महासंघमा महासचिव उठ्दाखेरि महेश्वर दाहाल केन्द्रीय सदस्यका उम्मेदवार । हामीबीच संयुक्त प्यानल बनाउँदा कृष्ण सेन पनि सँगै थिए ।

समाचार लेख्ने बेलामा मैले तत्कालीन भ्याली डीआईजीलाई पनि पुस्ट्याइँको निम्ति सोधें । उनले ‘भाइ, लेख्न चाहिँ नलेख्नुहोस्, तर अलिअलि तीतोमीठो गर्दागर्दै गयो क्या’ भने । अर्काे हप्ता फलोअप स्टोरी गर्ने क्रममा फेरि पुरानो स्रोतलाई सोधियो- ‘आखिर सेनलाई कसरी मारियो ?’

स्रोतले भन्यो, ‘तिनै डीआईजीले कृष्ण सेनलाई सोधे, ल भन ‘तँ ठकुरी, म पनि ठकुरी, राजा त झन ठकुरी, तैंले के ठानेको छस् र के गर्न सक्छस् ?’ कृष्ण सेन त्यत्ति बोलिराखेका थिएनन्, कमजोर थिए । त्यही क्रममा सानो कोठामा लगेर भाक्कभुक्क हिर्काउँदाहिर्काउँदै मरिहाले ।’

सेनको हत्यासम्बन्धी समाचार आएपछि गृह मन्त्रालयले यसबारेमा छानबिन गर्न गुप्तचर उपप्रमुख श्रीपुरुष ढकाल (पछि लोकसेवा आयोग सदस्य) को नेतृत्वमा टीम बनाएको थियो । डा.हरिहर वस्तीले पोष्टमार्टम गरेको भन्ने उसको रिपोर्ट छ । मंगोलियन अनुहारको, यति उमेरको मान्छे गोकर्णको जंगलमा इन्काउन्टरमा मारिएको भन्ने निचोड छ उक्त आयोगको । कृष्ण सेनको समाचार लेखेपछि जनआस्थामाथि चर्काे प्रहार भयो ।

त्यतिबेला देवेन्द्रराज कँडेल गृहराज्यमन्त्री थिए । देउवा प्रधानमन्त्री । हिरासतमा भएको मान्छेलाई मारेको भनिसकेपछि उनीहरुलाई सीपीजेबाट चर्काे दबाब आयो । पत्रकार गोपाल बुढाथोकीलाई पनि त्यही बेला सेनाले अपहरण गरेको थियो । मैले भागीभागी हिंड्नुपरेको थियो । तत्कालीन प्रधानसेनापति प्रज्ज्वलशमशेरको समाचार लेख्दा मलाई पक्राउ पनि गरियो । तत्कालीन सेनापति प्रज्ज्वलशमशेरसँग मेरो झगडै भयो, उनले ‘तँलाई सुट गर्छु’ सम्म भने । पञ्चायतमा विमर्श साप्ताहिकबाट शासकहरुलाई जस्तो अप्ठयारो थियो, त्यसपछि लगातार जनआस्थाबाट उनीहरु त्यसैगरी आत्तिएको अवस्था थियो ।


प्रतिक्रिया

One thought on “प्रहरी हिरासतमा कसरी मारिएका थिए कृष्ण सेन ? समाचार ब्रेक गर्ने किशोर श्रेष्ठको डायरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर