नेकपा एसको जागरण अभियान- ओलीको गृहजिल्लाबाट थाल्ने, जनताको रोजाइको पार्टी बन्ने – Nepal Press

नेकपा एसको जागरण अभियान- ओलीको गृहजिल्लाबाट थाल्ने, जनताको रोजाइको पार्टी बन्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादी जागरण अभियान २०८० गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्न लागेको हो ।

समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । असोज १४ गते काँकडभिट्टाको मेची नदि किनाराबाट शुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ ।

एमालेबाट विद्रोह गरेर बनेको नेकपा एसले पार्टीको जागरण अभियान एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्लाबाट सुरु गर्न लागेको हो । अभियानमा करिव १ हजार किलोमिटर यात्रा हुने प्रवक्ता खतिवडाले बताए ।

अभियानमा विभिन्न जिल्लाहरुमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरुसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताए । उनले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने उनको भनाइ छ ।

त्यस्तै आगामी माघमा पार्टीको महाधिवेशन हुने भन्दै महाधिवेशन अघि जनताको सुझाव संकलनका रुपमा पनि यो अभियान रहेको उनले बताए । यस अभियानको क्रममा बेरोजगारी समस्याको समाधान, कृषिको विकास, उद्योग क्षेत्रको विकास र पूर्वाधार निर्माणको सम्बन्धमा पनि पार्टीको योजना सुनाउँदै जनताको सल्लाह, सुझाव पनि सुन्ने उनले बताए ।

उनले भने, ‘समृद्धि र समाजवादको आजको चरणको ठोस कार्यक्रम के हुनसक्छ ? भन्ने बारेमा हामीले दुनियाँलाई यो कुरा बताउने । त्यस अर्थमा हाम्रा एजेण्डाहरु राष्ट्रलाई सुनाउने, यो महाधिवेशन अगाडी नै हामी पूर्वदेखि पश्चिम गएर आफ्ना कुराहरु राख्ने । त्यसमा जनताको, बौद्धिक जमातको र अरु तमाम क्षेत्रको सुझावहरु समेत लिएर अझ स्पष्टताका साथ आउने महाधिवेशनमा जानका लागि पहलकदमी लिएका छौँ । त्यही पहलकदमी यो अभियान हो ।’

वर्तमान राजनीतिक दलहरुमा समाजवादमा कसरी पुग्ने भन्ने कुरामा अस्ष्टता रहेको भन्दै आफूहरु भने स्पष्टता साथ अघि बढेको बताए । यस अभियानका क्रममा आफूहरुले समाजवादमा जाने बाटो स्पष्टताका साथमा बताउने उल्लेख गरे ।

उनले यो अभियानपछि एकीकृत समाजवादीजस्तो वाम विकल्प र स्पष्ट लक्ष्य भएको पार्टी अरु हुनै नसक्ने दाबी गरे । समाजवादी जागरण अभियानको क्रममा जनताको घर दैलोमा पुगेर र दुख सुखमा साथ दिने लक्ष्य लिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर