शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बन्न सक्दैन : शेखर कोइराला – Nepal Press

शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बन्न सक्दैन : शेखर कोइराला

‘शिक्षकका मागहरु संविधानकै सीमाभित्र रहेर सम्बोधन गरिनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानको सीमाभित्रै रहेर शिक्षकका मागहरु सम्बोधन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको शंकरापुरस्थित वनदेवी आधारभूत विद्यालयमा समाजसेवी स्व.राकेश हमालको सालिक अनावरण एवं कम्युटर ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै नेता कोइरालाले शिक्षकलाई निराश बनाएर विद्यार्थीको भविष्य उज्ज्वल बनाउन नसकिने बताए ।

‘आधारभूत तहमा शिक्षले ६ देखि १८ हजारको बीचमा तलब पाउँदा रहेछन् । यति सुविधामा शिक्षकले कस्तो पढाउला ? विद्यार्थी कस्तो बन्ला ?’, उनले प्रश्न गरे । शिक्षकका मागहरु संविधानकै सीमाभित्र रहेर पूरा गर्नुपर्ने उनले बताए ।

मुलुकमा हरेक क्षेत्र अराजकतातर्फ धकेलिएको भन्दै उनले नेपाली समाजमा सद्भाव बिथोल्ने प्रयास भैरहेको बताए । ‘कोशी प्रदेश, धरान र सर्लाहीको केही घटनाले हामीलाई गम्भीर बनाएको छ । कतै नेपाली समाजमा जातीय र धार्मिक द्वन्द्व सिर्जना हुदैछ कि भन्ने चिन्ता बढेको छ’, कोइरालाले भने ।

कार्यक्रममा महिला,बालबालिका तथा समाजकल्याण मन्त्री सुरेन्द्र आचार्यले हरेक बालबालिकालाई गुणस्तरीय शिक्षा र डिजिटल सचेतना उपलब्ध गराउन सरकारले काम गरिरहेको बताए । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले काठमाडौंमै भएर पनि विकासको दृष्टिले पछि परेका क्षेत्रहरुमा सबैले चासो दिनुपर्ने बताइन् । उनले शंकरापुर क्षेत्रका विद्यालयहरुलाई सुदृढ र गुणस्तरीय बनाउन आफूले पहल गर्ने बताइन् ।

सो क्रममा समाजसेवी स्व. राकेश हमालको शालिक अनावरण गरिएको थियो भने सफा सुनौलो नेपालद्वार निर्माण गरिएको कम्प्युटर ल्याब विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर