९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो: प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेशन आइतबार उद्घाटन गर्दै उनले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले उत्पादित जलविद्युत देशभित्रै खपत गर्नेगरी विद्युत खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको बताए ।

‘आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको छ । पूर्णरुपमा विद्युतीकरण गर्नसक्ने आधार तयार हुनु एउटा महत्वपूर्ण र ऐतिहासिक उपलब्धि हो । नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट पनि हो’, प्रधानमन्त्री प्रचण्डले भने ।

विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरु प्रभावित भएको बताए । जलविद्युत उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको उनको भनाइ छ ।

उनले प्रशारण लाइन विस्तारमा वन क्षेत्रको प्रयोग, रुख कटान तथा जग्गा अधिग्रहणमा ठूलो समस्या रहेको बताए ।

‘विकास र पर्यावरणबीच सन्तुलन कायम हुनेगरी योजनाहरु अघि बढाउन आवश्यक छ’, उनले भने ।

सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी एवं नर्वे सरकार तथा एसियाली विकास बैंकको आर्थिक सहयोगमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सवस्टेशन निर्माण गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर