बोल्न नसक्ने युवकको बयानले प्रहरी हैरान- ठाउँ ठाउँमा हत्या गरेको दाबी – Nepal Press

बोल्न नसक्ने युवकको बयानले प्रहरी हैरान- ठाउँ ठाउँमा हत्या गरेको दाबी

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा ४ जनाको सामूहिक हत्या गरेको आरोप लागेका २३ वर्षीय युवक यतिबेला काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् ।

‘एग्रेसिभ’ स्वभावका भएकाले सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राखेर सन्जय भन्डारीलाई हिरासतमा राखिएको छ । जन्मजात बोल्न नसक्ने ती आरोपीलाई प्रहरीले बहिरा संघका अधिकारी र दोभाषे अगाडि राखेर सोधपुछ गरिरहेको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन्, ‘बोल्न नसक्ने भएपनि युवक निकै चलाख देखिन्छन्। अनेक कुराहरु गरेर अलमलमा पारिरहेका छन्।‘ ती अधिकारीका अनुसार सन्जयले काठमाडौं, ललितपुर र सिन्धुपाल्चोकमा पनि मान्छे मारेको बताएका छन् ।

प्रहरीले सन्जयले मान्छे मारेको भनेका ठाउँमा प्रहरीले बुझेको पनि थियो। स्वंय उनलाई पनि ती घटनास्थलमा पुर्यामएको थियो ।

‘उनले एउटा घटनास्थलबारे हामीलाई भनेको कुराहरु केही मिलेको छ । त्यहाँ बुझ्दा मान्छेको हत्या भएको पनि देखिन्छ । तर मारिएका मान्छेबारे अरु केही थाहा नभएकाले पुष्टी गर्न गाह्रो छ । उनले बोलेका ठाउँमा शंका गर्ने ठाउँहरु चाहीँ छन्’, ती अधिकारी भन्छन् ।

काठमाडौंको रातोपुल र बालुवाटार क्षेत्रमा आफुले दुई जनाको हत्या गरेको सन्जयले सोधुपछका क्रममा बताएका थिए । अनुसन्धानका क्रममा ती ठाउँमा मानिस केही समय पहिला मृत भेटिएको पनि पाइएको छ । सन्जयले केहीलाई मारेर गाडेको पनि बताएका छन् । ‘पत्याउनु हुन्न भने ती ठाउँमा खनेर हेर्नुस्’, सन्जयले प्रहरीलाई भन्ने गरेका छन् ।

‘उनी यसरी बोलिरहेका छन् की पूर्णरुपमा पत्याउन सकिने अवस्था पनि छैन’, अनुसन्धानमा खटिएका एक अधिकारी भन्छन् । दुई वर्षअघि बौद्धको टाउन प्लानिङमा मान्छेको एउटा मात्र खुट्टा भेटिएको घटना पनि आफुले गराएको उनले बताएका छन् । ‘हत्या गरेर एउटा खुट्टा बोरामा ल्याएर राख्ने सिसिटिभीमा देखिएका चार जनामध्ये म पनि एक हुँ’, सन्जयले भनेका छन् ।

हिरासतमा भएका व्यक्ती पनि संलग्न रहेको आरोप

लागु ‍औषध मुद्धामा पक्राउ गरेर ल्याइएका एक युवकलाई पनि सन्जयले एउटा हत्यामा जोडेका छन् ।

बौद्धको टाउन प्लानिङमा खुट्टा मात्र भेटिएको घटनामा ती युवक पनि संलग्न रहेको सन्जयले बताएका छन् । ती युवकसँग पनि प्रहरीले घटनाबारे सोधपुछ गरेको छ। प्रहरीका अनुसार ती युवकले सन्जयलाई नचिनेको बताएका छन् ।

‘हामी अनुसन्धानकै क्रममा छौँ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । गैह्रीगाउँस्थित काठमिलमा बस्दै आएका ४ जना हत्या गरिएको अवस्थामा भदौ २९ गते राती फेला परेका थिए । सन्जयले मृतकमध्ये नविन राईले चलाएको मोटरसाइकलले ठक्कर दिएर उल्टै कुटपिट गरेका कारण आफुले उनको हत्या गरेको र घटना अरुले पनि थाहा पाएपछि बाँकी ३ जनाको पनि हत्या गरेको बयान दिएको प्रहरीको दाबी छ ।

पेप्सीकोलामा दिदी भिनाजुकोमा बस्दै आएका सिन्धुपाल्चोकका भन्डारीलाई प्रहरीले सिसिटिभी फुटेजका आधारमा नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर