लाक्पा र मनोजको टकरावले झापा क्रिकेट संघमा बबण्डर, कुनै बेला थिए राष्ट्रिय टोलीका ‘टीममेट’ – Nepal Press

लाक्पा र मनोजको टकरावले झापा क्रिकेट संघमा बबण्डर, कुनै बेला थिए राष्ट्रिय टोलीका ‘टीममेट’

लाक्पाले माइन्युट नै हत्याएर आफूखुशी निर्णय गरेको मनोजको आरोप

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचनमा पूर्व क्रिकेटर लाक्पा लामा रुँदै विरोध गरिरहेको भिडिओ यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

बन्द सत्रबाट लाक्पालाई निकाल्न प्रहरीलाई निर्देशन दिइएपछि उनी रुँदै बाहिरिएका थिए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रतिनिधि चयन विवादका कारण झापालाई मताधिकार नरहेको निर्णय सुनाउँदै लाक्पालाई बन्द सत्रबाट निस्कन निर्देशन दिएका थिए ।

तर, लाक्पाले आफू झापाको आधिकारिक प्रतिनिधि भएको भन्दै मताधिकार खारेज हुनुको लिखित पत्र दिन माग गरिरहेका थिए । बन्द सत्रबाट बाहिरिँदै गर्दा लाक्पाले जिल्लासँग निर्णय परिवर्तन गर्ने अधिकार भएको बताएका थिए ।

झापा जिल्ला क्रिकेट संघमा साउन २४ गते निर्वाचन भएको थियो । झापा क्रिकेट संघको अध्यक्षमा प्रवीण थापा र सचिवमा लाक्पा निर्वाचित भएका थिए । जिल्ला समितिले साउन २९ गते मनोज कटवाललाई केन्द्रीय निर्वाचनम प्रतिनिधि पठाउने निर्णय गरेको थियो । त्यतिबेला लाक्पाले समेत प्रतिनिधि बन्ने इच्छा व्यक्त गरेपछि मतदानबाट निर्णय भएको थियो ।
त्यसमा मनोजले १२ र लाक्पाले ३ मत पाएका थिए । त्यतिबेला लाक्पाले माइन्युट जबर्जस्ती लगेको मनोजको आरोप छ । माइन्युटको फोटोसमेत खिच्न नदिइएको उनले बताए । यता लाक्पा पनि मनोजलाई सशर्त प्रतिनिधि पठाउने निर्णय भएको बताउँछन् ।

‘मनोज राखेपको कर्मचारी भएकाले प्रतिनिधि पठाउने कि नपठाउने भन्ने विवादबीच उक्त निर्णय भएको थियो । तर, पछि विभिन्न ठाउँबाट राखेपको बहालवाला कर्मचारी संघमा बस्न नपाउने कुरा आएपछि अर्को निर्णय भएको हो’, लाक्पा भन्छन् ।

झापा जिल्ला क्रिकेट संघले सेलेक्सन कमिटी गठनसहितको एजेन्ड राखेर भदौ २२ गते पनि कार्य समिति बैठक बोलाएको थियो । उक्त बैठकमा अध्यक्ष र सचिव पनि उपस्थित थिए । तर, माइन्युट क्लोजिङ नगरी लाक्पाले माइन्युट बुक लगेको मनोजको आरोप छ ।

‘कार्य समितिका सदस्यलाई हस्ताक्षर गर्न लगाएर माइन्युट क्लोजिङ नगरी लाक्पाले फेरि माइन्युट बुक लगेछन् । पछि आफूलाई प्रतिनिधि पठाएको उल्लेख गरेर अध्यक्ष र सचिवले मात्र अन्त्यमा हस्ताक्षर गरेको देखिन्छ र त्यही आधारमा लाक्पा केन्द्रीय निर्वाचनमा आएका हुन्’, मनोजले भने ।

लाक्पा वैधानिक तरिकाले निर्णय गरेर त्यसबारे क्यानलाई भदौ २६ गते जानकारी गराएको बताउँछन् ।

‘उक्त पत्र पठाएपछि त्यसको कुनै जवाफ आएन । त्यसपछि म असोज १ गते काठमाडौं आएको हुँ’, लाक्पा भन्छन् ।

लाक्पाले आफूलाई प्रतिनिधि बनाएर माइन्युट गरेको चाल पाएकाले भदौ २९ गते फेरि बहुमत सदस्यले आफूलाई प्रतिनिधि पठाएको भनेर अर्को माइन्युट गरेको दाबी मनोजको छ ।

झापा जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष विरु श्रेष्ठले क्यानलाई पठाएको पत्रमा मनोज नै प्रतिनिधि भएको उल्लेख छ । विवादमा आउने भएपछि अध्यक्ष थापाले श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिएर भारत लागेको मनोज पक्षको आरोप छ । लाक्पा जिल्लामा दु:ख गरिरहेको आफूजस्तो व्यक्तिमाथि सबै मिलेर राजनीति भएको गुनासो गर्छन् ।

‘यदि मेरो प्रतिनिधि रद्द भएको थियो भने बन्द सत्रअघि किन लिखित जानकारी गराइएन । बन्द सत्रमा सहभागी भएपछि मलाई बेइज्जत गरेर त्यहाँबाट निकालियो । कसैले केही बोलेन’, लाक्पाले भने ।

मनोज र लाक्पा कुनै समय नेपाली राष्ट्रिय टिमबाट एकसाथ क्रिकेट खेल्थे । मनोज विकेटकिपर र लाक्पा स्पिन बलर थिए । लाक्पाको बलिङ निकै धारिलो थियो भने विकेटपछाडि मनोज फुर्तिला थिए । निकै राम्रो सम्भावना देखाएका लाक्पा पछि यत्तिकै हराए ।

उनीहरुले अन्डर १९ क्रिकेट पनि सँगै खेलेका हुन् । २१ वर्षअघि अन्डर १९ विश्वकपमा पनि उनीहरु एक साथ सहभागी थिए । नेपालले पाकिस्तानलाई हराउँदा उनीहरू दुवै टीममा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *