हक्की वडाध्यक्षको आकस्मिक वियोग, एक्कासी कसरी बिग्रियो स्वास्थ्य ? – Nepal Press

हक्की वडाध्यक्षको आकस्मिक वियोग, एक्कासी कसरी बिग्रियो स्वास्थ्य ?

काठमाडौं । काठमाडौं-१६ का वडाध्यक्ष मुकुन्द रिजाल गत बिहीबार वडा कार्यालय आउँदा थकित र व्यथित देखिएका थिए । वडा सचिव प्रकाश खड्कालाई भेटेर उनले आफूलाई जीउ दुखेर गाह्रो भएको सुनाए ।

अघिल्लो दिन एउटा तीज कार्यक्रममा भाग लिन पुगेका वडाध्यक्ष रिजालले नाचगानसहित रमाइलो गरेका थिए ।

‘त्यहाँ धेरै नाचेर हो कि ? सप्पैतिर जोर्नी-जोर्नीमा दुखेको छ,’ खुइय गर्दै उनले भने ।

वडासचिव खड्काले रिजाललाई सुझाए ‘त्यसो भएआफ्नो कार्यकक्षमा नजानुस् । मेरै कार्यकक्षमा बसेर केहीबेर काम गर्नुस् । नसके घर गएर रेस्ट गर्नुस् ।’

तर, रिजाल धेरैबेर बस्न सक्ने अवस्थामा थिएनन् । उनको अवस्था देखेर खड्काले छोरालाई फोन गरे । कान्छो छोरा आएर बुवालाई लिएर घर गए ।

भोलिपल्ट शुक्रबार सार्वजनिक बिदा थियो । रिजाल दिनभरि घरमै आराम गरेर सुते । शनिबार बिहान मर्निङ वाकमा रहेको बेला सचिव खड्कालाई रिजालका छोराको फोन आयो ।

‘अंकल, बुबालाई अस्पताल लैजाने हो कि ? उठ्नै सक्नुभएको छैन,’ छोराले सुनाए ।

त्यसपछि खड्काले ‘ल म आइहालेँ’ भनेर फोन राखे ।

घर पुगेर उनले रिजाललाई उठाएर नजिकैको क्लिनिकमा लिएर गए । सबै चेकअप भयो । पाँच बजे रिपोर्ट लिन आउनू भनियो । त्यसपछि रिजालका बुवाछोरालाई घर पठाइदिएर खड्का आफ्नो घरतिर लागे ।

भोलिपल्ट आइतबार खाना खाएर कार्यालय जाने तयारी गर्दा उनको मन मानेन । कार्यालय नगइकन फेरि रिजालको घरतिर लागे ।

घरमा पुग्दा रिजालकी पत्नी मात्र थिइन् । ‘खोइ त दाइ ?’ भन्दा छोराहरूले ग्राण्डी अस्पताल लिएर गएको रिजालपत्नीले बताइन् । त्यसपछि उनी ग्राण्डीतिरै हान्निए । उनी पुगेलगत्तै अस्पतालले रिजाललाई दिउँसो एक बजेतिर आइसीयूभित्र छिरायो । त्यसपछि कसैलाई पनि भेट्न दिइएन ।

खड्काका अनुसार आईसीयूमा छिराउनुअघि रिजाल हिँड्न-बोल्न सक्ने अवस्थामै थिए । तर, उच्च ज्वरो आइरहेको थियो ।

ग्राण्डी अस्पतालको आईसीयूभित्र राखिएको बिरामीलाई भेट्न दिइँदैन । खड्काका अनुसार परिवारका सदस्यलाई राति एकचोटि हेर्न दिइन्थ्यो । तर, बोल्न-बोलाउन अनुमति थिएन । अस्पतालले रिजालको स्वास्थ्य अवस्थाबारे कुनै पनि अपडेटसमेत नदिएको खड्काको गुनासो छ ।

तीन दिन आईसीयूमा राखेपछि हिजो (बुधबार) दुई बजे बल्ल रिजालको रिपोर्ट आएको खड्का बताउँछन् । उनका अनुसार डाक्टरले स्वाइन फ्लुको शंका गरेका थिए ।

‘दिउँसो दुई बजे डाक्टरले रिपोर्टमा स्वाइन फ्लुको लक्षण देखियो र हामीले हाइ डोजको औषधि चलाएका छौं भन्नुभयो,’ उनी भन्छन्, ‘फेरि ३ बजे फोक्सोमा पानी जमेर निमोनिया भएको भन्दै भेन्टिलेटरमा राख्नुपर्ने कुरा गरे । त्यसपछि पो हामी आत्तियौं ।’

खड्कासहित परिवारका सदस्यले अस्पतालका अधिकारीहरूसँग कुरा गरे । यदि क्रिटिकल अवस्था हो भने आफूहरूले इन्डिया लैजाने उनीहरूले बताए ।

‘हामीले उहाँहरूलाई भन्यौं कि तपाईंहरूले विजनेस गर्न खोजेको हो कि अवस्था नाजुक नै भएको हो ? अस्पतालका डाक्टरहरूले आफूहरू राति ११ बजेदेखि भारतको मेदान्त अस्पतालका चिकित्सकहरूसँग परामर्श गरिरहेको बताउनुभयो । उहाँहरूको टीमले भोलि आएर हेर्नुहुन्छ र आवश्यकता पर्‍यो भने एयर एम्बुलेन्सबाट भारत लैजान सकिन्छ भन्ने कुराहरू गर्नुभयो ’, खड्का सुनाउँछन् ।

त्यसपछि घर फर्किएका खड्का रातभरि नै अस्पतालसँग सम्पर्कमा थिए । बिहान ५ बजे उनी फेरि अस्पताल पुगे । उनी पुग्दा अस्पतालभित्र तनावको माहोल थियो । परिवारका सदस्य अत्तालिएका थिए । ७:३० बजे डाक्टरले मृत घोषित गरे ।

अस्पतालले एक विज्ञप्ति जारी गरी दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भएको अवस्थामा रिजाललाई अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको जनाएको छ ।

‘ARDs भई Refractory Spetic Shock/Acute Kidney Injury भई उहाँको उपचारको क्रममा आज बिहान ७:३० बजे निधन भएको सबैमा जानकारी गराउँछौं,’ अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हक्की स्वभावका रिजाल काठमाडौंका सर्वाधिक चर्चित वडाध्यक्षमा पर्छन् । बालेन साह काठमाडौं महानगरपालिकाको मेयर भएपछि रिजालको उनीसँग टकराव परेको थियो । महानगरको पहिलो कार्यपालिका वैठकमा बालेनको प्रतिवाद गर्दा उनी चर्को विवादमा परे । बालेनका समर्थकहरू उनीमाथि खनिएका थिए । तर, पछि बालेन आफैं वडाध्यक्ष रिजालको घरमा पुगेर उनीसँग सहकार्यको हात अघि बढाए । त्यसपछि भने रिजालले बालेनलाई साथ दिँदै आएका थिए ।

रिजाल काठमाडौं १६ मा लगातार दोस्रोपटक वडाध्यक्ष बनेका हुन् । उनी गत स्थानीय चुनावमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गर्दै ४००५ मतका साथ विजयी भएका थिए । रिजाल काठमाडौं ७ का क्षेत्रीय सभापति पनि हुन् ।

रिजाल निकै रसिक स्वाभावका पनि थिए । एकताका उनी टिकटकमा खुबै सक्रिय थिए । कार्यकक्षभित्रै पनि टिकटक बनाएर पोस्ट गर्ने गर्थे । यद्यपि आफ्नो जिम्मेवारी भने उनी गम्भीर थिए ।
रिजालका दुई छोरा छन् । उनीहरू दुवै कलेज पढ्छन् । पत्नी गृहणी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *