३४ वर्षपछि ऐतिहासिक थलोमा फर्किंदैछ एमाले, यस्तो छ अम्बासमा बैठकस्थलको तयारी – Nepal Press

३४ वर्षपछि ऐतिहासिक थलोमा फर्किंदैछ एमाले, यस्तो छ अम्बासमा बैठकस्थलको तयारी

काठमाडौं । मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने भएपछि बैठकस्थल व्यवस्थापनको काममा स्थानीय नेता कार्यकर्ता जुटेका छन् ।

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक भदौ ९ गते शनिबार सिरहाको धनगढीमाई नगरपालिका- १४ अम्बासमा बस्दैछ । यो त्यही ठाउँ हो, जहाँ सर्रे अम्बासमा भएको चौथो महाधिवेशनबाट तत्कालीन नेकपा मालेका महासचिव मदन भण्डारी चयन भएका थिए ।

२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो । त्यही ऐतिहासिक चौथो महाधिवेशनको सम्झनामा नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक अम्बासमा बस्ने निर्णय गरेको नेकपा एमालेका पोलिटव्युरो सदस्य एवं सिरहा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेलले जानकारी दिए ।

सर्रे अम्बासमा मदन भण्डारी स्मृति विद्यालय छ । त्यसैगरी मदन भण्डारी पार्क निर्माण गरेर राजनीतिक पर्यटनको विकास गर्ने, पुस्तकालय स्थापना गर्ने योजना रहेको प्याकुरेलले बताए । सोही बैठकस्थलमा ऐतिहासिक राष्ट्रिय महत्व राख्ने सहिद स्तम्भको शिलान्यास गरिनेछ ।

जसमा झापा, छिन्ताङ, नख्खु जेल ब्रेक र सिरहामा सहादत प्राप्त गरेका सहिदहरुलगायत कम्युनिष्ट आन्दोलनको ७५ वर्षे इतिहासमा योगदान दिने सहिदहरुको नाम स्तम्भमा समेटिनेछ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा गरेको अवसरमा पुस्तक विमोचन, वृत्तचित्र प्रदर्शन गर्ने तथा सिरहा जिल्लाका कष्टकर जीवन बिताएर पार्टीलाई यहाँसम्म ल्याउन योगदान दिने जीवित व्यक्तित्वलाई सम्मान गरिने कार्यक्रम पनि गरिने सिरहा ३ का सांसद तथा पोलिटव्युरो सदस्य लीलानाथ श्रेष्ठले जानकारी दिए ।

पुस्तकमा कम्युनिष्ट आन्दोलनमा कष्टकर जीवन बिताएर पार्टीलाई यहाँसम्म ल्याउनेहरुको योगदान समेटिएको छ । साथै कार्यक्रममा भूमिगत अवस्थामा पार्टीलाई योगदान दिने नेता कार्यकर्ताको सम्मान गर्ने कार्यक्रमसहित छोटो खुला सभा गरेर कार्यक्रम समापन गरिने छ ।

पूर्व पश्चिम राजमार्गको धनगढीबाट करिब १४ किलोमिटर उत्तर चुरे क्षेत्रमा रहेको राजनीतिक ऐतिहासिक स्थललाई राजनीतिक पर्यटनसँग जोडेर विकास गर्ने उद्देश्यले त्यहाँ नगरपालिकाले काम पनि गरिरहेको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले बताए । महतो एमालेबाटै निर्वाचित हुन् ।

अहिले धनगढीबाट अम्बाससम्म जोड्ने सरकारको योजनाअनुसार २५ करोडको लागतमा पिच सडक निर्माणको काम भइरहेको छ ।

यता नेकपा एमाले आयोजक तथा मूल व्यवस्थापन समिति संयोजक एवं सिरहाका अध्यक्ष चन्देश्वर मण्डलले ९ गते हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । सुरक्षा समिति, मञ्च व्यवस्थापन समिति, स्वागत समितिलगायतका विभिन्न समितिले तयारी गरिरहेको उनले बताए ।

सरेखालामाथि कच्ची सडक खोला तरेर जानुपर्ने भएकाले जेसीबीले ठाउँ ठाउँमा सडकसमेत बनाइरहेको छ । पार्टी अध्यक्षसँगै सचिवालयमा रहेका २३ जना सदस्यको उपस्थितिमा कार्यक्रम हुने भएपछि अम्बाससम्मको सडक मर्मत भइरहेको हो ।

तयारीको स्थलगत अनुगमनका लागि पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, लीलानाथ श्रेष्ठ, सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रामशंकर यादव, समानुपातिक सांसद गंगा यादव, केन्द्रीय सदस्य रामरती राम, जिल्ला कमिटी अध्यक्ष चन्देश्वर मण्डललगायतका जिल्ला कमिटी सदस्यसहितको टोलीले स्थलगत अनुगमनसमेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर