जनगणनामा झण्डै आठ लाख व्यक्ति छुटेको पुष्टि, तर आधिकारिक जनसंख्यामा नथपिने – Nepal Press

जनगणनामा झण्डै आठ लाख व्यक्ति छुटेको पुष्टि, तर आधिकारिक जनसंख्यामा नथपिने

छुटेकाको हिसाब गर्दा नेपालको जनसंख्या ३ करोड छुनै लाग्यो

काठमाडौं । गत चैत १० मा सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा ७ लाख ७१ हजार ९९८ व्यक्ति छुटेको पुष्टि भएको छ । छुटेको हिसाब गर्दा देशको कुल जनसंख्या तीन करोड छुनै आँटेको छ ।

राष्ट्रिय जनगणनामा भएको त्रुटि पत्ता लगाउन गरिने गणना जाँच सर्वेक्षण (पीइएस) मा झण्डै ८ लाख व्यक्ति छुटेको पाइएको हो । यसअघि चैत १० गते सार्वजनिक गरेको जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो । अहिले छुटेकासहित जनसंख्या जोड्दा २ करोड ९९ लाख ३६ हजार ५७६ पुगेको छ । तर, यो संख्या आधिकारिक तथ्यांकमा जोडिने छैन ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले त्रिविले गरेको पीइएसबाट साढे ७ लाख मानिस जनगणनामा छुटेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘राष्ट्रिय जनगणनाको नतिजामा कति त्रुटि छ भनेर हामीले एउटा सर्वे गरेका थियौं । यही किसिमले कति छुट्यो त भनेर हामीले प्रदेशहरुमा निकालेका छौं । जम्मा करिब साढे ७ लाख मानिसहरु छुटे भन्ने प्रतिवेदनले देखायो ।’

‘जनगणना गर्ने निकायले नै यसको पुनरावलोन गर्नु नहुने अन्तर्राष्ट्रिय अभ्यास छ । त्यसैले राष्ट्रिय तथ्यांक कार्यालयले सर्वेक्षण गर्ने जिम्मा त्रिभुवन विश्वविद्यालयलाई दिएको थियो । त्रिविले स्वतन्त्ररुपमा सर्वेक्षण गरेको थियो’, लामिछानेले भने, ‘छुटेकाहरु जोड्दा २ करोड ९९ लाख ३६ हजार ५७६ मानिसहरु नेपालमा त्यो बेलामा थिए भन्ने देखिन्छ । अब भोलि प्लानिङ गर्दा यति मान्छेलाई समेटेर योजना बनाउन सकिने भयो ।’

जनगणनामा मानिसहरु छुट्ने नेपालमा मात्र नभई विश्वभर नै हुने उनको भनाइ छ ।

उनी थप्छन्, ‘भारतमा पनि २०११ मा पनि ३ करोड मानिसहरु जनगणनामा छुटेको देखिन्छ । अमेरिकामा पनि करिब करिब १० लाख मानिसहरु छुटेको भनिन्छ ।’

जनगणनाको नतिजा सार्वजनिक भएको तीन महिनाभित्रमा सर्वेक्षण गर्नुपर्ने हुन्छ । सोही सिद्धान्तअनुसार राष्ट्रिय तथ्यांक कार्यालयले रिपोर्ट बनाएको हो ।

छुटेका जनसंख्याबारे विस्तृत विवरण भने निकाल्न नसक्ने कार्यालयले जनाएको छ ।

‘छुटेकाहरुको धर्म-जाति लगायतका डिटेल हेर्न सकिँदैन । जनसंख्याको हिसाबले प्लानिङ गर्नको लागि भने निकै महत्वपूर्ण हुन्छ,’ लामिछाने भन्छन् ।

नेपालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ नै कायम रहनेछ । थपिएको संख्या जोडेर नेपालको जनसंख्या यति भयो भनेर भन्न नमिल्ने उनको भनाइ छ ।

‘त्यसलाई हामी थप्दैनौं । त्यसको स्टिमेट गर्दा मिलान हुन्छ, त्यसको अहिले त नेपालको जनसंख्या ९ करोड ९१ लाख ६४ हजार ५७८ नै हो’, लामिछानेले भने ।

अहिले छुटेकाहरुको जनसंख्या कूल जनसंख्यामा थप्नलाई विस्तृत विवरण चाहिने भएकाले नथपिने भएको हो ।

‘हामीले वडासम्म दिनुपर्ने हुन्छ । राष्ट्रियस्तरमा मात्र थपिएको भन्न त पाइदैन । तलसम्म दिनुपर्ने भएकाले त्यो हामी सक्दैनौं’, उनले भने ।

वडासम्मको स्टिमेट गर्नु अर्को जनगणना गरेजस्तै हुने लामिछाने बताउँछन् । साथै त्यो एकदमै खर्चिलो हुने उनको भनाइ छ । त्यही भएर राष्ट्रिय र प्रदेशअनुसार तथा ग्रामीण र शहरीअनुसार स्टिमेट गरेको कार्यालयले जनाएको छ ।

हरेक जनगणनामा केही प्रतिशत जनसंख्या छुट्ने गरेको छ । योभन्दा अगाडि करिब २०६८ सालमा ३.६ प्रतिशत छुटेका थिए । २०५८ सालमा ५ प्रतिशत गणना गर्दा छुटेका थिए । त्योभन्दा अगाडि २०४८ सालमा ११ प्रतिशत छुटेका थिए । अहिले २.६ प्रतिशत छुटेका छन् । यसले गर्दा करिब–करिब १ प्रतिशत फरक भएको छ ।

गणनामा छुटेका साढे ७ लाख मानिसहरुमध्ये धेरैजसो शहरका छन् । उनीहरु गणनामा सहभागी नभएको सर्वेक्षणले देखाएको छ । त्यसमा पनि काठमाडौंकै सबैभन्दा बढी छुटेको छ । निरक्षरभन्दा पनि शिक्षित मानिसहरु गणनामा छुटेको निर्देशक लामिछानेले बताए ।

शहरी क्षेत्रमा ५ लाख ८५ हजार ७८२ जना र ग्रामीण क्षेत्रमा १ लाख ८६ हजार २१६ जना छुटेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर