चक्रवर्ती कलेजको शुल्कमा मनोमानी : अवैध कामको विरोध गर्दा विद्यार्थी निष्कासित – Nepal Press

चक्रवर्ती कलेजको शुल्कमा मनोमानी : अवैध कामको विरोध गर्दा विद्यार्थी निष्कासित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा कानूनमा ५ वर्षे स्नातक कार्यक्रम चलाउँदै आएको चक्रवर्ती ल कलेजले अनियमिततामा प्रश्न गर्ने विद्यार्थीहरूलाई निष्कासन गरेको छ । कलेजको भर्ना कोटा, शैक्षिक शुल्कदेखि विभिन्न मुद्दामा प्रश्न उठाएपछि नरेश धामी र आशुतोष यादवलाई निष्कासन गरिएको हो ।

धामी शैक्षिक सत्र २०७६/७७ व्याचका र आशुतोष २०७८/७९ व्याचका विद्यार्थी हुन् । कलेजका सञ्चालक देवेन्द्रबहादुर भण्डारी छन् ।

के हुन् विद्यार्थीले उठाएका चक्रवर्ती कलेजका मुद्दा ?

चक्रवर्ती कलेजका विद्यार्थीले भर्ना कोटा र शुल्कको विषयमा कुरा उठाएका थिए । पूर्वाञ्चल विश्वविद्यालयले तोकेको कोटा भने १०० हो । तर, कलेजले तोकेको भन्दा धेरै विद्यार्थी भर्ना गर्दै आएको छ । २०७८ मा मात्र २४० विद्यार्थी भर्ना गरिएको थियो । यस्तै २०७९ मा ३३० जनाभन्दा धेरै विद्यार्थी भर्ना लिइएको थियो । विश्वविद्यालयमा पठाइएको रेकर्डमा भने २८८ जना देखाइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमालले गत जेठ ४ मै कोटाभन्दा धेरै विद्यार्थी भर्ना नगर्न निर्दशन दिएको नेपाल प्रेसलाई बताए ।

शुल्कको विषयमा पनि मनोमानी भएको विद्यार्थीहरूको दुःखेसो छ । उदाहरणका लागि पुस्तकालय शुल्क ४० हजार तोकिइएको छ । त्यसमा दुई पुस्तकमात्रै दिइन्छ । २०७८ मा प्रवेश परीक्षा फारामको समयमा भनिएको ७ लाख १६ हजार हजार पछि बढाएर प्रवेश परीक्षाको चरणमा आउँदा बढाएर ९ लाख ३० हजार भनियो । शुल्क तिर्ने बेलामा भने १० लाख ७० हजार लिइएको थियो ।

विश्वविद्यालयले ५ सय तोकेको प्रवेश परीक्षा शुल्कमा पनि कलेजले आफूखुशी बढाएर कलेजले २०८० को लागि ४ हजार लिएको छ । कलेजको यीनै बेथितिमा आवाज उठाउँदा कलेजले उल्टै आफूलाई कारबाही गरेको पीडित विद्यार्थीले बताएका छन् ।

सन् २०१० मा स्थापना भएको उक्त ल कलेज विगत तीन वर्षबाटै प्राचार्यविहीन छ । सञ्चालक देवेन्द्रबहादुर भण्डारीले नै आफैँ हर्ताकर्ताको रूपमा काम गरिरहेका छन् । बिदामा कडाइ भन्ने कलेजले दरबार हत्याकाण्ड भएको जेठ १९ को सम्झनामा बिदा दिएको छ । यो बिदा हटाउन अनेरास्ववियुका विद्यार्थीले असार ६ सम्मको समय दिएर ध्यानाकर्षण गराएका थिए ।

अखिलका नेता सुदीप थापा भन्छन्, ‘अहिलेसम्म कुनै निचोड दिएको छैन । आज पनि हाम्रो आन्दोलन भयो । जबसम्म हाम्रो जायज माग पुरा हुँदैन तबसम्म आन्दोलन जारी रहन्छ ।

कलेजमा बढेको बेथितिबारे बुझ्न खोज्दा सञ्चालक भण्डारीले फोन उठाएनन् ।

चर्को शुल्कले खारेज भएको थियो नर्सिङ कलेज

२०७४ मै प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद (सीटीईभीटी) ले चक्रवर्ती हबि नर्सिङ कलेज खारेज गरिदिएको थियो । खारेज गरेको दुई वर्षपछिसम्म पनि कलेजले भर्ना लिएको थियो । २०७६ मा पीसीएल नर्सिङ पढ्ने ३० विद्यार्थीबाट जनही ३ लाख ११ हजार लिएर अलपत्र पारेको थियो यस कलेजले । भक्तपुरको मध्यपुरथिमीमा रहेको कलेज बन्द गरे पनि कलेजको कानूनतर्फको ठगी भने निरन्तर रहेको देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर