विश्वकप क्वालिफायरमा नेपाल- ‘सर्ट बल’ले हैरान ब्याट्सम्यान – Nepal Press

विश्वकप क्वालिफायरमा नेपाल- ‘सर्ट बल’ले हैरान ब्याट्सम्यान

वेस्ट इन्डिज र जिम्बाबेविरुद्ध सम्मानजनक प्रदर्शन गरेको नेपाल नेदरल्यान्ड्सँग कसरी चुक्यो ?

काठमाडौं । पहिलोपटक एकदिवसीय क्रिकेट विश्वकप खेल्ने नेपालको सपना जिम्बाबेमा चुँडिएको छ । विश्वकपको ग्लोबल क्वालिफायरमा नेदरल्यान्ड्सविरुद्ध नमीठो पराजयसँगै नेपालको यात्रा समाप्त भएको हो ।

त्यसो त चार टेस्ट राष्ट्र सहभागी प्रतियोगिताको फाइनलमा पुगेर विश्वकपमा स्थान सुरक्षित गर्नु नेपालका निम्ति फलामको च्यूरा चपाउनुसरह नै थियो । यद्यपि, नेपालले कम्तिमा सुपर ६ मा पुग्ने लक्ष्य राखेको थियो, जुन अस्वाभाविक थिएन । जिम्बाबे र वेस्ट इन्डिजविरुद्धको हारका बाबजुद नेपाल सुपर ६ मा पुग्न सक्थ्यो । तर, निर्णायक म्याचमा नेदरल्यान्ड्सविरुद्ध नेपालले खराब प्रदर्शन गर्‍याे । टेस्ट राष्ट्रविरुद्ध सम्मानजनक प्रदर्शन गरेको नेपाल आफूसरहको एसोसिएट राष्ट्रसँग चुक्नु दुर्भाग्यपूर्ण भयो ।

नेपालले पहिलोपटक यो स्तरको प्रतियोगिता खेलिरहँदा थुप्रै सकारात्मक र केही नकारात्मक पक्षहरु उजागर भएका छन् । अपरिचित पिचमा नेपालले जुन स्तरको क्रिकेट खेल्यो, त्यसलाई निराशाजनक भन्न मिल्दैन । जिम्बाबेविरुद्ध ब्याटिङमा र वेस्ट इन्डिजविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुवात गरेको हो । तर, अनुभवको कमी, फिल्डिङमा त्रुटि तथा केही रणनीतिक कमजोरीले गर्दा नेपालले सनसनी नतिजा भने निकाल्न सकेन ।

चौंथो खेलमा नेदरल्यान्ड्सविरुद्धको प्रदर्शन भने निराशाजनक नै थियो, चाहे ब्याटिङमा होस् या बलिङमा । १० नम्बरसम्म ब्याट्सम्यानहरु भरिभराउ भएको टीम १६७ रनमै अलआउट भयो । अनि, बलिङले पनि कुनै चमत्कार देखाउन सकेन । फास्ट बलर र स्पिनर दुवै फ्लप भए । नेदरल्यान्ड्सले २७ ओभरमै लक्ष्य भेट्टाइदियो ।

हरेक पराजयले केही पाठहरु सिकाउँछन् । नेपालले खेलेका खेलहरु स्टार स्पोर्ट्समा लाइभ थिए । त्यसैले नेपाली खेलाडीहरुको कौशल मिहिन रुपमा नियाल्ने अवसर मिल्यो । चारवटै म्याच हेर्दा नेपालको ब्याटिङको एउटा ‘कमजोर कडी’ सर्ट बल । खासगरी नेदरल्यान्ड्सले नेपालको यो कमजोरीलाई नराम्रोसँग दोहन गरेको छ ।

सर्ट बलले नेपालका ब्याट्सम्यानहरुलाई किन समस्यामा पार्‍याे भन्ने चर्चा गर्नुअघि सर्ट के हो भन्ने बुझ्न जरुरी छ । क्रिकेटमा बलरले पीचको अवस्था र आफ्नै क्षमताका आधारमा विभिन्न लम्बाइका बलहरु फ्याक्ने गर्छन् । स्टम्पबाट जति वर बललाई बाउन्स गराइन्छ, बल ब्याट्सम्यानको त्यति नै बढी उचाइमा जान्छ । स्टम्पबाट निकै वर बाउन्स गराउने बललाई बाउन्सर भनिन्छ, जुन ब्याट्सम्यानको छातीभन्दा माथिको उचाइमा आउँछ । स्टम्पबाट नजिकै बाउन्स गराउनुलाई ‘गुड लेन्थ’ भनिन्छ । बाउन्सर र गुड लेन्थबीचको क्षेत्रमा पीच गराइएको बल सर्ट पीच बल हो ।

विश्वका धेरै नामुद ब्याट्सम्यानहरु छन्, जो सर्ट बलसँग डराउँछन् । ब्याटिङकै लागि चिनिने भारतीय क्रिकेट टीम परम्परादेखि सर्ट बलमा कमजोर मानिन्छ । सचिन तेन्दुलकर, सौरभ गांगुली, युवराज सिंह, सुरेश रैना हुँदै अहिले श्रीयस एयरसम्मलाई यस्तो बलले धेरै दुःख दिएको छ । तुलनात्मक रुपमा अष्ट्रेलिया–इंग्ल्यान्डका ब्याट्सम्यानहरु सर्ट बल राम्ररी खेल्न सक्छन् ।

सर्ट बललाई खेल्न अलिकति बेग्लै टेक्निक चाहिन्छ । यसमा ब्याट्सम्यानको फुटवर्क र ‘प्रिजेन्स अफ माइन्ड’ महत्वपूर्ण हुन्छ । बलको गतिलाई बुझ्न सक्नुपर्छ । अन्यथा टाइमिङ नमिलेर बल सही दिशामा नजाने, एज लाग्ने, हावामा उड्ने सम्भावना हुन्छ । तर, टेक्निक र टाइमिङ मिल्यो भने सहजै बलले बाउन्ड्रीको दिशा पार गर्नसक्छ । त्यसैले ब्याट्सम्यानसँग अवसर पनि हुन्छ, चुनौती पनि ।

सर्ट बललाई प्रहार गर्ने आत्मविश्वास नभएका खेलाडीहरु यस्तो बल छोड्ने पनि गर्छन् । क्रिकेटमा बल छोड्नु पनि एउटा कला हो । गलत बललाई छोड्न पुग्दा सीधै स्टम्पमा लागेर आउट हुने गर्छन् । टी-२० र एक दिवसीयमा भने ब्याट्सम्यानले सर्ट पिच बलबाट चौका-छक्का निकाल्न खोज्छन् । यसो गर्दा आउट हुने खतरा पनि बढी हुन्छ ।

वेस्ट इन्डिज, जिम्बाबे र नेदरल्यान्ड्सका बलरहरुले सर्ट बललाई नै नेपालविरुद्धको मुख्य हतियार बनाए । नेदरल्यान्ड्सविरुद्धको म्याचसम्म आइपुग्दा नेपालको यो कमजोरी एक्सपोज भइसकेको थियो ।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका १० मध्ये ८ विकेट फास्ट बलरले चट्काएका थिए । उनीहरुमध्ये ६ जना सर्ट पिच बलमा आउट भएका हुन् । नेदरल्यान्ड्सले नेपालको ‘कमजोरी’ बुझेर सर्ट बललाई मुख्य हतियार बनाएको थियो । सफल पनि भयो । म्याचपछि कप्तान रोहितलाई यस विषयमा सोधिएको थियो । उनले सर्ट बलका लागि आफूहरुले रणनीति बनाएको तर, त्यसलाई कार्यान्यवन गर्न सफल नभएको स्वीकारे ।

‘हामीले योजना बनाएका थियाैं । तर, त्यसलाई मूर्त रुप दिन सकेनौं । अब घर फर्केर यो एरियामा कसरी सुधार गर्न सकिन्छ भन्ने हेर्नुपर्छ’, पोस्ट म्याच प्रिजेन्टेसनमा उनले भने ।

नेपाली टीमका ब्याट्सम्यानहरु सर्ट बल खेल्नै नसक्ने भने होइनन् । तर, उनीहरुमा तेज बल खेल्ने कम अभ्यास छ । उनीहरु स्तरीय बाउन्सर र सर्टबलसँग त्यति धेरै अभ्यस्त छैनन् । त्रिवि क्रिकेट मैदानको पीच ब्याट्सम्यान मैत्री छ, जहाँ बल त्यति धेरै बाउन्स हुँदैन । यस्तोमा ब्याट्सम्यानहरु जस्तोसुकै बलको सामना सहज रुपमा गर्न सक्छन् । तर, जहाँ ‘बाउन्सी’ पीच छ, त्यहाँ उनीहरु समस्यामा पर्छन् । यस्तो पीचमा धेरै खेल्ने मौका नपाएकाले नै उनीहरु निखारिन नसकेका हुन् ।

राष्टिय टीमका पूर्वकप्तान तथा फास्ट बलर विनोद दास नेपाली ब्याट्सम्यानहरुसँग सर्ट बलको सामना गर्ने क्षमता भएको बताउँछन् । तर, विकेटको कन्डिसन र बलरको स्तरले धेरै फरक पर्ने उनको भनाइ छ ।

‘सर्ट बल नै हाम्रो कमजोरी हो भन्ने लाग्दैन । ब्याट्सम्यानहरुमा परिपक्वता आउन बाँकी नै होला, सुधार्ने ठाउँहरु धेरै होलान् । तर, यो लेभलमा उनीहरुले पहिलोपटक खेल्न पाइरहेका छन् । कठिन पिच र बलिया प्रतिस्पर्धीहरुविरुद्ध जसरी खेलिरहेका छन्, त्यो सन्तोषजनक छ’, उनले भने ।

यदि विपक्षी बलरले सर्ट बल फ्याकेर नेपालका ब्याट्सम्यानहरुलाई दुःख दिन्छन् भने नेपालका बलरले पनि विपक्षी ब्याट्सम्यानलाई त्यही गर्न सक्नुपर्ने हो । तर, नेपालको फास्ट बलिङ तुलनात्मक रुपमा कमजोर छ । राम्रो बाउन्सर वा सर्ट बल फ्याक्न बलमा राम्रो गति पनि चाहिन्छ । होइन भने ब्याट्सम्यानको आक्रमणमा पर्न सक्छन् बलर । नेपाली फास्ट बलरसँग धेरै गति नभएकाले उनीहरुले सर्ट बल फ्याक्दा त्यो कम प्रभावकारी हुन्छ । ब्याट्सम्यानले ठूला सट हान्न समय पाउँछन् ।

केही समयदेखि सोमपाल कामी र करण केसीले फास्ट बलिङको बागडोर सम्हालिरहेका छन् । तर, उनीहरु दुवैको प्रदर्शन भर गर्न लायक छैन । आक्कलझुक्कलबाहेक नेपालको बलिङ स्पिनरमै निर्भर छ । जहाँको पिचले स्पिनरलाई धेरै फेभर गर्दैन, त्यहाँ नेपालको बलिङ सफर गर्छ । जिम्बाबेमा भएको त्यही हो । त्यहाँको पिच फास्ट बलिङलाई सुट गर्ने खालको छ । तर, फास्ट बलरले त्यसको राम्ररी सदुपयोग गर्न सकेनन् । करण केसीले वेस्ट इन्डिजविरुद्ध पावर प्लेमा चार विकेट लिए । तर, पछि उनी पनि पिटिए ।

कम्तिमा यो प्रतियोगिताबाट नेपालले आफ्नो कमजोरी बुझेको छ । अब प्रशिक्षकको दायित्व हो कि उनले नेपालको यो कमजोरीलाई सुधार्ने । तर, नेपालका प्रमुख प्रशिक्षक मोन्टी देसाई बलिङका नभएर ब्याटिङका विज्ञ हुन् । त्यसैले नेपालले अब एकजना बलिङ प्रशिक्षक पनि राख्नुपर्ने आवश्यकता खट्किएको छ । यही स्तरको फास्ट बलिङले नेपाललाई यो लेभलबाट अपग्रेड गर्न सक्दैन ।

जिम्बाबेको टुरमा नेपाली टीमका केही सकारात्मक पक्षहरु पनि देखिएका छन् । उद्घाटन म्याचमा आयोजक राष्ट्रविरुद्ध ‘ड्रिम स्टार्ट’ गरेको थियो नेपालले । नेपालका ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले जिम्बाबेका बलरहरुमाथि हामी हुँदै पहिलो विकेटका लागि १७४ रनको म्याराथन साझेदारी गरेका थिए । तर, तल्लो क्रमका ब्याट्सम्यान नचल्दा नेपालले विशाल लक्ष्य दिन चुक्यो । नेपालले बनाएको २९० रनलाई जिम्बाबेले सहजै निलिदियो ।

वेस्ट इन्डिजविरुद्ध पनि नेपालले साहसिक प्रदर्शन गरेको हो । पावर प्लेका १० ओभर सकिँदा वेस्ट इन्डिज २ विकेटमा ३० रनमात्र बनाएर संघर्ष गरिरहेको थियो । तर, टीमका भरपर्दा ब्याट्सम्यान साइ होप र विस्फाेटक ब्याट्सम्यान निकोलस पुरनको साझेदारी तोड्न नसक्दा नेपालले वेस्ट इन्डिजलाई सस्तोमा समेट्ने अवसर गुमायो । १६.६ ओभरमा ललित राजवंशीले ३ रनमा खेलिरहेका पुरनको ब्याटबाट एज निकाल्न सफल भएका थिए । तर, विकेट किपर आसिफ शेखले बल होल्ड गर्न सकेनन् । यदि त्यो क्याच लिएको भए खेलले अर्कै दिशा समात्न पनि सक्थ्यो । तर, क्रिकेटमा ‘इफ’ ‘बट’ का कुराहरुले खासै अर्थ राख्दैनन् ।

नेपालको विश्वकप सपना अहिलेलाई सकिएको छ । तर, यसले नेपाली क्रिकेटको प्रगति भने रोकिँदैन । अब सेप्टेम्बरमा टीमले अर्को ठूलो इभेन्टमा सहभागी जनाउँदैछ, जहाँ अहिलेको भन्दा पनि बलिया प्रतिस्पर्धीहरु हुनेछन् । विश्व क्रिकेटका महाशक्तिका रुपमा रहेका भारत र पाकिस्तानसँग भिड्न पाउनु नेपाली क्रिकेटका लागि ऐतिहासिक हो ।

नेपालले आफूलाई प्रुफ गरेर देखाउने अवसर छ । पाकिस्तान र श्रीलंकाको पीच कन्डिसन स्पिनर मैत्री हुने भएकाले नेपालले त्यहाँ आफ्नो उत्कृष्टता देखाउन सक्छ । जीतको आशा राख्नु बढी महत्वाकांक्षी सुनिएला । तर, भारत-पाकिस्तानलाई कडा चुनौती दियो भने पनि त्यो जीत बराबर हुनेछ । तर, त्यसभन्दा अगाडि नेपालको फास्ट बलिङ अपग्रेड गर्नु अति महत्वपूर्ण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *