कलंकीको सर्भिस लेनमा फेरि खेलवाड, पहिलेकै गल्ती दोहोराएर टालटुल गरिँदै – Nepal Press

कलंकीको सर्भिस लेनमा फेरि खेलवाड, पहिलेकै गल्ती दोहोराएर टालटुल गरिँदै

काठमाडौं । काठमाडौंको कलंकी-कोटेश्वर सडक खण्डअन्तर्गत कलंकीको खसी बजारदेखि बल्खु चोकसम्म बायाँतर्फको एक किलोमिटर सर्भिस लेन फेरि बिगार्ने खेल भएको छ । सडक डिभिजन कार्यालयले फेरि पुरानै गल्ती दोहोराउँदै सर्भिस लेन मर्मतमा खेलवाड गरेको हो ।

गत चैत दोस्रो साता खसी बजारदेखि बल्खु चोकसम्म सर्भिस लेनमा फुट्ने, चर्किने र भासिने समस्या देखिएपछि भत्काइएको थियो । सर्भिस लेनको बेसमेन्ट फेलियर भएको भन्दै भत्काएर नयाँ बेस राखेर कालोपत्रे गर्न लागिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै समस्या नभइकन सडक भत्काइएको भन्दै अनियमितताको आशंकामा गत बैशाखमा छानबिन थालेपछि काम रोकिएको थियो । अख्तियारको निर्णय आउन समय लाग्ने भएकाले काम अगाडि बढाइएको सडक डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद निहुरेले बताए ।

केही समयअघि विश्व बैंकले सडक विभागको रोहवरमा गरेको परीक्षणमा करिब ३४ करोड रुपैयाँ खर्च गरेर बनाएको बल्खु-खसी बजार सर्भिस लेनको जमिनको भारवहन क्षमता कमजोर रहेको र ग्राभेल बेस प्याक गर्दा राम्रोसँग नगरेको पाइएको थियो । नियमानुसार पाँच वर्ष नभई ‘पेरियोडिक मेन्टेनेन्स’ भनेर सडक मर्मत गर्न पाइँदैन । यो सडक हस्तान्तरण भएको साढे तीन वर्षमात्र भएको छ । सडक हस्तान्तरण भएको पाँच वर्षअघि भत्किएमा पुरानै ठेकेदार कम्पनीले आफ्नै खर्चमा बनाउनुपर्ने हुन्छ ।

साढे ३ वर्षमा नै सडकको भारवहन क्षमता कमजोर भएको भनिए पनि गुणस्तरहीन सडक बनाउने ठेकेदार कम्पनीमाथि कारबाही भएको छैन । कलंकीदेखि कोटेश्वरसम्मको सडकको बीचको भागमा कालो माटो बढी भएकाले जमिनको भारवहन क्षमता कमजोर छ ।

त्यसबेला बीचको ४ लेन साङ्घाई कन्स्ट्रक्सन गु्रप लिमिटेडले निर्माण गर्दा साढे १ देखि २ मिटर गहिरो खनेर कालो माटो निकालिएको थियो । त्यसपछि चार तह बेस प्याक गरेर जमिनको भारवहन क्षमता वृद्धि गरी निर्माण गरिएको थियो । तर, नेपाली ठेकेदार ‘कन्टेक खरिढुङ्गा जेभी’ ले गुणस्तरहीन काम गर्दा साढे ३ वर्षमा नै सडक भासिने अवस्था आयो । सोही समयमा चीनले बनाएको सडक भने दुरुस्त रहेको छ ।

याे पनि पढ्नुहाेस् : चीनले बनाइदिएकाे ६ लेन सद्दे, नेपाली ठेकेदारले बनाएकाे सर्भिस लेन साढे तीन वर्षमै जीर्ण (भिडिओ)

पहिलेकै गल्ती दोहोराइयो, करोडौं रकम जोखिममा

सडक डिभिजन कार्यालयले आगामी असार मसान्तसम्म सर्भिस लेन मर्मत गरिसक्ने गरी १३ करोड ८२ लाख रुपैयाँमा नयाँ ठेक्का वर्ल्ड वाइड पीआर एसके जेभीलाई दिएको छ । अहिले अरु काम सकिएर कालोपत्रे गर्नमात्र बाँकी छ ।

सडक विभागका पूर्वमहानिर्देशक शिवहरि सापकोटाका अनुसार बेसमेन्ट फेलिएर भनिएको सडक मर्मत गर्दा चार तहमा काम गरेपछि मात्रै कालोपत्रे गर्नुपर्ने हुन्छ ।

‘साढे १ देखि २ मिटर गहिरो खनेर कालो माटो निकालेर ढुङ्गा भरेर जमिनको भारवहन क्षमता वृद्धि गरी निर्माण गर्नुपर्ने हो’, सापकोटाले भने ।

सडक डिभिजन कार्यालयकै कर्मचारीहरु उक्त सर्भिस लेनमा यसअघि कालो माटो ननिकाली सडक निर्माण गरिएको स्वीर्काछन् । अहिले फेरि सोही गल्ती दोहोराउँदै आँखामा छारो हाल्नेमात्र काम भइरहेको छ । अहिले पनि नयाँ ठेकेदारले कुनै प्रक्रिया पूरा नगरी लटरपटर सडक बनाउँदैछ ।

अहिले न २ मिटरसम्म गहिरो खनेर कालो माटो निकालिएको छ न त ढुंगा हालेर ग्राभेल गरिएको छ । पहिला नै चार तहको काम गरिसकेकाले दुई तहमा मात्र काम गरिएको डिभिजन कार्यालयको दाबी छ ।

अहिले पुरानो पिच फालेर त्यसभन्दा मुनि १५ सेन्टिमिटर गिटीमाटो मिसिएको बेस हालेपछि ६ सेन्टीमिटर बराबरको एस्पालको पीच गर्ने तयारी भइरहेको छ ।

अहिले बनिरहेको सडकमा विश्व बैंकको ऋण लगानी छ । तर, विश्व बैंकको ऋण तुरुन्तै भुक्तानी आउने भएकाले समयावधि नै नपुगी पेरियोडिक मेन्टेनेन्सको नाममा रकम दुरुपयोग भइरहेको सडक विभागका एक इञ्जिनियर बताउँछन् ।

‘बेसमेन्ट फेलियर भएको डिभिजन कार्यालय आफैंले भनिरहँदा सुधार गर्न जमिनको भारवहन क्षमता बढाउनुपर्थ्यो’, ती इञ्जिनियरले भने, ‘तर, सीधै पीच उप्काएर तीन इन्च बेस राखी त्यसैमा रोलरले पेलेको छ ।’

यो सडक केही पनि भएको थिएन कि भन्ने शंका उब्जिएकोसमेत उनले बताए । ‘यदि भित्र केही समस्या थियो भने त्यसमा सुधार नगरिकन किन टालटुल गरियो त ?’, उनले प्रश्न गरे ।

८ लेनको साढे ९ किलोमिटर कलंकी-कोटेश्वर सडक खण्ड चीन सरकारले पाँच अर्ब खर्च गरेर निर्माण सम्पन्न गरेको थियो । २०७० असारदेखि कलंकी-कोटेश्वर सडक विस्तारको काम सुरु गरेको सांघाई गु्रपले तीन वर्षको ठेक्का पाँच वर्ष लगाएर २०७५ माघ १४ मा निर्माण सम्पन्न गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको थियो ।

सम्झौताअनुसार साढे १० किलोमिटर सडक नै बनाउने जिम्मा पाएको सांघाईले तोकिएको समयमा काम नसक्ने भएपछि एक किलोमिटरको सर्भिस लेन बनाउने जिम्मा नेपाललाई नै दिइएको थियो । नेपाल आफैंले बनाएको बल्खुदेखि कलंकी खसी बजारसम्मको १ किलोमिटर सर्भिस लेन बिग्रेको हो । सडक विभागअन्तर्गत चक्रपथ विस्तार आयोजनाले आह्वान गरेको टेन्डर ‘कन्टेक खरिढुङ्गा जेभी’ ले पाएर सम्झौताअनुसार २०७६ सालमा निर्माण सम्पन्न गरेको थियो ।

अनियमितता भएको छैनः सडक डिभिजन कार्यालय

अख्तियारले छानबिन सुरु गरेपछि बीचमा विभागले आफैं अनुसन्धान गरेको थियो । अनुसन्धानपश्चात विभागले आवश्यक निर्देशन दिएपछि काम सुरु गरेको डिभिजन कार्यालयका प्रमुख नारायणप्रसाद निहुरेले दाबी गरे ।

‘सामान्य मर्मतबाट नहुने भनेर विभागले निर्देशन दिएपछि कालोपत्रे झिकिएको हो’, उनले भने ।

पिच भत्काएपछि भित्री सतहका सबै माटो परीक्षण गरिएको पनि निहुरेको भनाइ छ । झण्डै एक महिनामा परीक्षण रिपोर्ट आएपछि काम सुचारु गरिएको उनले बताए ।

तर, सडक विभागका प्रवक्ता रामहरि पोखरेलले भने कार्यालयलाई सडक निर्माणबारे निर्देशन दिएकोबारे जानकारी नभएको बताउँछन् । उनले भने, ‘विभागले यसरी सडक बनाउनु भनेर निर्देशन दिएकोबारेमा मलाई जानकारी छैन । के रहेछ, बुझ्छु ।’

आम चासोको विषय भएको हुनाले अख्तियारले छानबिन गरेको हुनसक्ने निहुरे बताउँछन् । ‘हामीले लगभग काम गरिसक्यौं । अब स्पाल ओभल गर्नमात्र बाँकी छ । त्यो मौसम हेरेर एक दुई दिनमा गर्छौं’, उनले भने ।

अख्तियारको निर्णय आउन समय लाग्ने भएकाले काम अगाडि बढाइएको उनको भनाइ छ ।

‘अख्तियारले कसैले उजुरी गरेको भएर आफ्नो हिसाबमा हेर्दैछ । उसले सोध्ला नि त हामीलाई ! केमा अनियमितता भयो थाहा छैन । उसले आफ्नो काम गर्दै गर्छ, हामी हाम्रो काम गर्छौं । काम रोक्नु भनेको छैन’, उनले थपे ।

जनतालाई सास्ती हुन्छ भनेर छिटो कालोपत्रे गर्न लागेको उनले बताए ।

अख्तियार भन्छः छानबिन भइरहेकाे छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले छानबिन चलिरहेको बताए । उनले भने, ‘अनुसन्धान नसकिएकाले सबै कुरा खुलाउन मिल्दैन । छिट्टै छानबिन सक्छौं ।’

तर, अख्तियारले छानबिन सक्नुअघि नै सडक डिभिजन कार्यालयले काम सकाउने तयारी गरेको छ । अख्तियारले आर्थिक अनियमतिताका विषयमा मात्रै अनुसन्धान गरेको हो । प्रश्न चाहिँ कामको गुणस्तरमाथि उठिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर