थ्री स्टारले जावलाखेललाई हराउँदा रेलिगेसनमा पर्‍यो एपीएफ – Nepal Press

थ्री स्टारले जावलाखेललाई हराउँदा रेलिगेसनमा पर्‍यो एपीएफ

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग २०७९/८० को अन्तिम खेलमा थ्री स्टार क्लबले जावलाखेल यूथ क्लबलाई १–० गोलको नतिजामा पराजित गर्दा एपीएफ क्लब रेलिगेसनमा परेको छ ।

२०६२ सालमा सिधै ए डिभिजन लिग खेलेको एपीएफले शीर्ष डिभिजनमा सधैँ मध्यम प्रदर्शन गर्‍यो ।

१८ वर्ष लामो ए डिभिजन यात्रामा एपीएफ पहिलो पटक बी डिभिजन लिगमा घटुवा भएको हो ।

शुक्रवार मछिन्द्र फुटबल क्लबसँग ४–० गोलको नतिजामा पराजित भएपछि एपीएफलाई रेलिगेसन संकट टार्न थ्री स्टारको नतिजामा निर्भर हुनु परेको थियो ।

यदि, आज थ्री स्टारले जावलाखेलसँग बराबरी खेलेको अथवा पराजित भएको भए एपीएफले रेलिगेसन संकट टार्थ्यो र थ्री स्टार बी डिभिजनमा घटुवा हुने समीकरण थियो ।

शनिवार दशरथ रंगशालामा सम्पन्न खेलको ८३औँ मिनेटमा कप्तान विक्रम लामाले पेनाल्टीमा गरेको गोल निर्णायक बन्दा थ्री स्टारले रेलिगेसन संकट टारेको हो ।

प्रमिन श्रेष्ठले विक्रमलाई १८ यार्ड बक्स भित्र फाउल गरेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीलाई विक्रमले सदुपयोग गर्दै गोल गरे ।

जितसँगै थ्री स्टार २६ खेलमा ७ जित ११ बराबरी र ८ हारको नतिजासहित ३२ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । पराजित जावलाखेल २६ खेलमा ११ जित ७ बराबरी र ८ हारको नतिजासहित ३७ अंक जोडेर चौथो स्थानमा छ ।

एपीएफ र एफसी खुमलटार यो वर्ष बी डिभिजन लिगमा घटुवा भएका छन् । नव प्रवेशी चर्च ब्वाइज यूनाइटेड एक खेल अगावै च्याम्पियन बनिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर