पूर्वमहान्यायाधिवक्ताको आरोप- राष्ट्रपतिले संविधान मिचे,प्रधानमन्त्रीले नागरिकता विधेयक मोदीलाई उपहार लिएर गए – Nepal Press

पूर्वमहान्यायाधिवक्ताको आरोप- राष्ट्रपतिले संविधान मिचे,प्रधानमन्त्रीले नागरिकता विधेयक मोदीलाई उपहार लिएर गए

काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलमाथि संविधान मिचेको र प्रधानमन्त्री प्रचण्डले भारतको भिसा पाउँनका लागि नागरिकता विधेयक उपहार चढाएको आरोप लगाएका छन् ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीको भारत भ्रमणकै दिन विवादस्पद नागरिकता विधेयक प्रमाणीकरण गरिनु भारतको भिसा पाउन नरेन्द्र मोदीको पाउमा उपहार चढाइएको बाहेक अरु कुनै कारण नरहेको बडालले बताए ।

पूर्वमहान्यायाधिवक्ता बडालले भने, ‘पहिलो कुरा विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिकहाँ प्रधानमन्त्रीले होइन सभामुख वा राष्ट्रियसभा अध्यक्षले हो । दोस्रो कुरा त्यो विधेयकको संवैधानिक अस्तित्व नै समाप्त भइसकेको छ । राष्ट्रपतिले असंवैधानिक काम गरेका छन् र प्रधानमन्त्रीले नांगो दलाली गरेका छन् ।’

बडालले प्रधानमन्त्रीले अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्न पाउने संवैधानिक अधिकार रहे पनि विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्‌बाट निर्णय गरेर राष्ट्रपतिलाई भेटेरै आग्रह गरिनु असंवैधानिक रहेको बताए ।

उनले भने, ‘यो तहको दलाली गर्लान् जस्तो लागेको थिएन । यसबाट के प्रष्ट हुन्छ भने हिजो प्रचण्डले राष्ट्रपतिमा एमालेलाई धोका दिएर रामचन्द्र पौडेल बनाउँन हद दर्जाको अनैतिक काम यही राष्ट्रघातका लागिा गरेका थिए । उनीहरुको गठबन्धन कसले बनाइदिएको हो भन्ने नागरिकता विधेयक उपहारमा चढाएर पुष्टि गरेका छन् ।’

बडालले नागरिकता विधेयक हिजो के उद्देश्यले ल्याइएको थियो र देशको हितविपरीत भनेर तत्कालीन राष्ट्रपतिले रोक्दा किन विरोध भएको थियो भन्ने अब छर्लङग भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर