नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुन्छ : झलनाथ खनाल (भिडिओ) – Nepal Press

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुन्छ : झलनाथ खनाल (भिडिओ)

रास्वपाप्रति झलनाथको कटाक्ष: घण्टी अराजकताको संकेत हो

काठमाडाैं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थीको केस लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताए ।

अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह गर्दै उनले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले सहन नसक्ने बताए । पूर्व प्रधानमन्त्री खनालले अनुसन्धानमाथि हस्तक्षेप गरे नेपाली नागरिकलाई सह्य नहुने चेतावनी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले घण्टी अराजकताको संकेत भएको बताए ।

आन्दोलनमा ठूलो भूमिका खेलको पार्टीहरूले देशको विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्न नसक्दा अहिलेको अवस्था आएको जिकिर गर्दै उनले भने, ‘यो १५ वर्षको समीक्षा गर्दै अब देशलाई अघि बढाउनुपर्छ । यी चिजलाई सच्याउन सकिएन भने देशमा अराजकता सिर्जना हुन्छ । कोही घण्टी बजाउँदै हिँड्लान्, कोही ढोल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान्, कोही मादल बजाउँदै हिँड्लान् । यो प्रकारको एउटा अवस्था आउँछ । ढोल र घण्टीहरू भनेका अराजकताका संकेतहरु हुन् ।’

पूर्व प्रधानमन्त्री खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिए। उनले पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसङ्ग उठाउँदै उनले पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताए ।

उन राष्ट्रिय प्रजातन्त्र पार्टी वा कुनै नयाँ पार्टी खोलेर संसदमा आए लोकतन्त्रको राम्रो पक्ष हुने बताए । पूर्व प्रधानमन्त्री खनालले नागरिकतासम्बन्धी प्रावधान होसियारीपूर्वक सोच्नुपर्ने बताए ।

देशको सामाजिक संरचनामाथि कुनैपनि व्यवधानका कार्यहरू हुने गरी कुनै प्रावधान राखेर नागरिकता ऐन बनाउनु राष्ट्रघाती हुने भन्दै राष्ट्रिय सहमतिका साथ टुंग्याउनुपर्ने र बहुमतको आधारमा जबरजस्ती गर्नु नहुने उनको भनाई छ ।

उनले पशुपतिनाथको जलहरी पित्तलको बनाइएको प्रकरण बाहिरिएको भन्दै यसबारेमा विशेष अनुसन्धान हुन जरुरी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर