‘लथालिङ्ग अर्थतन्त्र’ को कारण र समाधान खोज्दै काँकरभिट्टामा बहस – Nepal Press

‘लथालिङ्ग अर्थतन्त्र’ को कारण र समाधान खोज्दै काँकरभिट्टामा बहस

काठमाडौं । कोशी प्रदेशको काँकरभिट्टामा ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेवार ?’ विषयक कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले आफू निर्वाचित भएपछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीबीच सेतुको रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले उद्योगी व्यवसायीको समस्या समाधानमा लागि पर्ने बताएका हुन् ।

‘वरिष्ठ उपाध्यक्ष भएपछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरूबीच सेतुको रूपमा काम गर्नेछु । विधानमा वरिष्ठ उपाध्यक्षको कामको बारेमा व्याख्या नगरे पनि आफूले सक्रियरूपमा उद्योगी व्यवसायीको समस्या समाधानमा काम गर्नेछु ।’

कार्यक्रममा पूर्वअर्थसचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै निजी क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए ।

पत्रकार विराट अनुपमले कोशी प्रदेशमा आर्थिक गतिविधिका लागि उच्चतम सम्भावना भएको भन्दै बीबीआईएनमा कोशी प्रदेशले नेतृत्व लिनसक्ने औंल्याए ।

उनले नेपालको पूर्वी नाकाबाट बंगलादेश, भुटान भारतलगायतका देशहरुसम्म यातायात सहजता भएको हुँदा यसले बजार विस्तार गर्न सकिने बताए ।

‘हामीले कोशी प्रदेशमा ह्याट अर्थात हाईड्रोपावर, एग्रिकल्चर तथा एभिएसन र ट्रेड, टुरिजम तथा ट्रान्जिटको लागि योजना बनाउनुपर्नेछ । यसमा हामीले गर्न सक्ने धेरै काम छ र यसलाई निजी क्षेत्रले लगानी गरेर अगाडि जानुपर्छ,‘ उनले भने।

अनुपमले भुटानी नागरिकहरुलाई पूर्वी नाकाबाट भित्र्याएर लुम्बिनीसम्म पुर्‍याउने तथा बंगलादेशीलाई हिमाल हेर्न बोलाउन सकिनेसहितका योजनाहरु ल्याउन निजी क्षेत्रसँगसमेत आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर