अनमोलको छड्केलाई शोभित बस्नेतको प्रहार- फ्लपको पनि सीमा हुन्छ नि ! – Nepal Press

अनमोलको छड्केलाई शोभित बस्नेतको प्रहार- फ्लपको पनि सीमा हुन्छ नि !

काठमाडौं । ‘लेख्दा पनि कमसेकम यति मान्छे आए वा शो क्यान्सिल भयो भनेर लेख्नुपर्‍यो । ‘तिम्रो मेरो साथ’मा ६ जना आएका थिए, ‘छड्के’ मा एकजना पनि नआउँदा कसरी लेख्ने ?’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको चलचित्र फ्लप हुँदा कटाक्ष गरेका निर्देशक शोभित बस्नेतले नायक अनमोल केसी अभिनित चलचित्र ‘छड्के’बारे मुख खोलेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बस्नेतले ‘छड्के’ बोल्न लायकको सम्म नभएको अभिव्यक्ति दिए ।

‘‘तिम्रो मेरो साथ’ फ्लप भए पनि यतिसम्म फ्लप भयो भन्ने लेख्न लायक थियो । तर ‘छड्के’ त्यो लायक पनि नभएर मैले नलेखेको हो । फ्लप हुनुको पनि एउटा सीमा हुन्छ नि ! सीमाभन्दा तल फ्लप भएको चलचित्रलाई मैले के भन्ने ?’, उनले भने ।

‘छड्के २.०’ फ्लप भएपछि आफ्नो ट्रोलहरु बनेको उनले बताए । ‘साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ आउँदा बोलेका शोभित ‘छड्के’ फ्लप हुँदा किन मौन भन्ने प्रश्नहरु धेरै आए । म ट्रोलर्सहरुलाई के भन्न चाहन्छु भने साम्राज्ञीको चलचित्र आउँदा म बोलेको हो । त्यो म मान्छु । ‘छड्के’ आउँदा म बोलिनँ । किनकि त्यो चलचित्र बोल्न लायकको पनि थिएन’, उनले थपे ।

उनले ‘छड्के’ बारे थप जोड्दै भने, ‘लेख्दा पनि कमसेकम यति मान्छे आए वा शो क्यान्सिल भयो भनेर लेख्नुपर्‍याे नि ! ‘तिम्रो मेरो साथ’मा ६ जना आएका थिए । ‘छड्के २.०’ मा एकजना पनि नआउँदा कसरी लेख्ने ?’

शाेभितले अनमोलको चलचित्रबारे कटाक्ष गरे पनि उनको हिम्मतलाई भने सलुट गर्ने बताए । ‘अनमोलको सोचलाई म मान्छु । अनमोलको मलाई मनपरेको कुरा भनेको उसको हिम्मत हो । चलचित्र चल्दा आफूले क्रेडिट लिने कलाकार, निर्देशक र निर्माताहरुले चलचित्र नचल्दा पनि त्यसको भार थाम्न सक्नुपर्छ । अनमोलको यो हिम्मतलाई सलुट गर्नुपर्छ’, उनले थपे ।

केही समयअघि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’ असफल हुँदा निर्देशक बस्नेतले ‘१५ लाख लिने नायिकाले एउटा शो हाउसफुल गराउन सकेनन्’ भन्दै कटाक्ष गरेका थिए । ‘तिम्रो मेरो साथ’ पश्चात साम्राज्ञीको अर्को चलचित्र ‘ह्यारी कि प्यारी’ पनि घरेलु बक्स अफिसमा फ्लप भएपछि शोभितले पुनः ‘१८ लाख होइन १ लाख ८० हजार लिँदा हुन्छ’ भन्दै आफ्नो सामाजिक सञ्जालमा कटाक्ष गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर