कोसी अस्पतालका डाक्टर र कर्मचारीले पान, गुट्खा र खैनी खाए कारबाही गरिने – Nepal Press

कोसी अस्पतालका डाक्टर र कर्मचारीले पान, गुट्खा र खैनी खाए कारबाही गरिने

विराटनगर । राजनीतिक हस्तक्षेपका कारण सेवा प्रवाहमा समस्या देखिएको कोसी अस्पतालमा नयाँ मेसु आएसँगे सेवा सुधारको प्रयास थालिएको छ ।

नयाँ सरकारले कोसी अस्पतालमा रविराज सिंहलाई निमित्त मेसु नियुक्त गरेसँगै उनले सेवा प्रवाहमा कडाई थालेका हुन् ।

यसअघि ६ महिना सम्म अस्पताल विकास समितिको बैठक बस्न सकेको थिएन । बैठक बस्न नसक्दा सेवा प्रवाहमा समस्या भएको थियो ।

६ महिनासम्म बैठक नबसेपनि सिंहले नियुक्त भएसँगै अस्पतालको सुधारका लागि अस्पतालका डाक्टर चिकित्सक कर्मचारीलाई आफ्नो काममा संलग्न हुन निर्देशन दिएका छन् ।

उनले सबै विभागीय प्रमुखलाई पत्र लेख्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, कर्मचारी, कार्यालय सहयोगी, स्वीपर र धोबीलाई आफ्नो कार्यमा संलग्न रहन निर्देशन दिएका हुन् । विभाग तथा शाखाहरुमा कर्मचारीहरु कार्यक्षेत्रमा नरहने सेवाग्राहीको जनगुनासो बढेको थियो ।

अस्पतालका विभागीय प्रमुखहरुले राजनीतिक हस्तक्षेपका कारण पियन र स्वीपरलाई समेत काममा लगाउन नसक्दा सेवा प्रवाहमा समस्या भएको बताउने गरेका थिए । सिंहले कार्यक्षेत्रमा रहँदा अनिवार्य परिचय पत्र र तोकिएको पोशाक लगाउन निर्देशन दिएका छन् । यस्तै, दैनिक रुपमा हाजिर गर्नुपर्ने निर्देशन पनि दिएका छन् ।

अस्पतालमा यसअघि कतिपय कर्मचारीले १५ दिनको हाजिरी एकैपटक आएर गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

अबदेखि बिदामा बस्नु पर्दा जस्तोसुकै कर्मचारीले अनिवार्य मेसु वा विभागीय प्रमुख वा नर्सिङ प्रमुखको पूर्व स्वीकृति लिनुपर्ने छ ।

अस्पताल परिसरभित्र पान, गुट्खा, खैनी मदिरा सेवन गरेको प्रमाणसहित फेला परेमा जरिवाना गरिने मेसु सिंहले जानकारी दिए ।

‘कर्मचारी स्वयमले चुरोट, पान, पान पराग, गुट्खा, खैनी र सुर्तिजन्य वस्तु नखाने भनिएको छ’, उनले भने, ‘सम्बन्धित वार्डका स्वीपर र कार्यालय सहयोगीहरुले तिनै सिफ्टमा सरसफाई अनिवार्य गर्नुपर्ने नियम लगाइएको छ ।’

अभियानको रुपमा सरसफाई

कोसी अस्पतालमा हुने फोहर व्यवस्थापनका लागि समुदायसँगको साझेदारीमा सरसफाई अभियान सुरु गरिएको छ । कोसी अस्पतालको बाहिरी अवस्था सफा नहुँदासम्म नागरिकले महसुस गर्न नसक्ने निष्कर्षसहित सरसफाई अभियान चलाइएको कोसी अस्पताल विकास समितिका सदस्य मुशेक बुढाथोकीले बताए ।

‘मेसु परिवर्तन भएसँगगै अस्पतालका गतिविधिहरु बढेका छन्’, उनले भने, ‘हिजो नभएका कामहरु अहिले तिब्र गतिमा हुन थालेका छन् ।’ शुक्रबार बिहान ७ बजेदेखि नै जम्मा भएका कर्मचारी तथा अभियन्ताहरु कोसी अस्पतालको सरसफाईमा लागेका थिए ।

शुक्रबार दोश्रो दिनको सरसफाई अभियान चलाइएको छ । दुई हप्ता अघिबाट कोसी अस्पतालमा समुदायसँगको साझेदारीमा सरसफाई अभियान सुरु भएको हो । अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले बाहिरी सरसफाईले अस्पतालको अवस्था झल्काउने भएकोले सरसफाईलाई ध्यान दिईएको बताए ।

‘कोसी अस्पताल सरसफाईमा सबैको समान सहभागीता हुनु पर्ने गरि कर्मचारी र विभागहरुलाई पनि हरेक शुक्रबारलाई सरसफाई दिनको रुपमा काम गर्ने गरि परिपत्र भएको भन्ने जानकारीमा आएको छ’, उनले भने, ‘यो अभियानले कोशी अस्पतालमा सरसफाई भएन भन्नु पर्ने अबस्थामा सुधार हुने अपेक्षा गरेका छौँ ।’

‘कोसीमा फोहोर भयो भन्ने गुनासो बढ्यो’ उनले भने, ‘सफाइ गर्नका लागि अभियान चलाएका छौ । यो नियमति रुपमा सञ्चालन हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर