सहिदको सम्मानका लागि देश विकासको संकल्प गरौँ : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

सहिदको सम्मानका लागि देश विकासको संकल्प गरौँ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् ।

सोमवार सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले सहिदहरूले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए ।

उनले देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरू अमर र अजर रहने बताए । उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुनको लागि सहिदहरू प्रेरणाको श्रोत भएको बताए ।

प्रचण्डले माघ १६ गतेको दिनलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई सहिदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए ।

उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रको जुन रूपमा अभ्यास गरिरहेका छौँ । यसको पछाडि महान् सहिदहरूको त्याग र बलिदान नै प्रमुख रहेको छ । देशको र जनताको निम्ति, प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरू अमर हुन्, अजर हुन्छन् । उनीहरूले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहेका हुन्छन् । अघि बढ्न, प्रगतिको लागि, राष्ट्र र जनताको सेवामा समर्पित हुनको लागि एउटा प्रेरणाको श्रोतको रूपमा भूमिका खेलिरहेका हुन्छौँ । माघ १६ लाई हामीले त्यसै रूपमा स्मरण गर्ने गर्छाैँ । स्मरणको अर्थ फगत एउटा औपचारिक समारोहमा मात्रै छैन, महान् सहिदहरूका सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैको निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो । म यही संकल्पको निम्ति सबैसँग अपिल गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर