लेखक भट्टराई भन्छन्- सम्पादनमा इजोरियाबाट ५० हजार शब्द फालें, चार महिनामा ६० हजार बिक्री भयो – Nepal Press

लेखक भट्टराई भन्छन्- सम्पादनमा इजोरियाबाट ५० हजार शब्द फालें, चार महिनामा ६० हजार बिक्री भयो

काठमाडौं । सुविन भट्टराई युवा पुस्तामाझ लोकप्रिय लेखक हुनुको अलावा साहित्यिक सर्कलले सस्तो विषयमाथि कलम चलाएको भन्दै लेखकको रुपमा स्वीकार गर्न तयार छैन । र पनि उनकै पुस्तक हजारौं प्रति बिक्री भइरहेको छ । फुलटाइमर लेखक भएर विगत १२ वर्षदेखि सक्रिय छन् उनी ।

तर, सुविन भने कुनै पनि विषय कमसल र बलियो नहुने तर्क गर्छन् । कुनै पनि लेखकले छनोट गरेको विषयलाई न्याय गर्‍यो या गरेन, त्यसले मात्रै अर्थ राख्ने उनी बताउँछन् । कसैले मानेर कोही लेखक हुने र कसैले नमानेर कोही नहुने मानकमाथि नै सुविनको प्रश्न छ ।

अहिलेसम्म सुविनका आधा दर्जन किताब बजारमा आएका छन् । ‘समर लभ’, ‘साया’, ‘प्रिय सुफी’, ‘मनसुन’, ‘इजोरिया’ जस्ता किताब सर्वाधिक लोकप्रिय छन् । सुविनका अनुसार यी सबै पुस्तक ६० हजारमाथि बिक्री भइसकेका छन् । जसमार्फत् राम्रै रोयल्टी पनि थापेका छन् ।

गएको भदौमा आएको उनको ‘इजोरिया’ उपन्यास चार महिनाको अन्तरमै ६० हजार कपी बिक्री भइसकेको सुविनको दाबी छ । उनै सुविन भट्टराईसँग नेपाल प्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंशः

– इजोरिया चार महिनामै ६० हजार कपी बिक्री भइसकेको हल्ला छ । यो सत्य हो ?

चार महिनामा ६० बजार कपी बिक्री हुने यो मेरो पहिलो कितब हो । अरु किताब पनि यत्तिकै संख्यामा गएका छन् । तर, चार महिनामा गएका थिएनन् ।

– कोभिडपछि टिकटकलगायत सामाजिक सञ्जालले किताब पढ्ने पाठकको संख्या घटाएको आँकलन गरिन्छ । तपाईंको त यस्तै समयमा पनि ६० हजार बिक्री भएछ है ?

‘इजोरिया’ आउनुअघि निराशाजनक माहोल थियो । मान्छेहरुले पढ्ने संस्कृति सञ्जालले खाइरहेको छ भन्थे । इजोरियाको प्रकाशनको तयारी हुँदा कति कपी छाप्ने भनेर प्रकाशक, वितरक र लेखक बसेर धेरै छलफल गर्‍यौं । उहाँहरुको कुरा सुनेर निराश भएँ म पनि । भात खाने अवस्था छैन, मान्छेले किताब किन्न सक्दैनन् भन्ने निष्कर्ष थियो उहाँहरुको ।

‘इजोरिया’ मेरो सबैभन्दा मोटो कृति पनि भयो । एक लाख बढी शब्द छन् । पाँच सय पेज छन् । प्रेम छाडेर अलि सामाजिक विषय समेटेको छु । किताबको मूल्य पनि बढी भयो । यसका वाबजुद पनि प्रकाशकले आँट गरेर किताब छाप्यो ।

अर्कातिर मलाई सामाजिक सञ्जालले एकदमै साथ दिएको छ । ‘समर लभ’, ‘साया’मा फेसबुकले साथ दियो । ‘मनसुन’को वेला ट्विटरले साथ दियो । ‘प्रिय सुफी’लाई इन्स्टाले साथ दियो । इजोरियालाई टिकटकले साथ दियो ।

हरेक किताब आउने वेला एउटा न एउटा सामाजिक सञ्जालमा जानेर नजानेर प्रमोशन गर्दोरहेछु । समय पनि मिल्दो रहेछ । मुख्य कुरा त लेखकले पाठकलाई विश्वास दिलाउनुपर्ने रहेछ । चार वर्षपछि मेरो किताब आयो । यो चार वर्षमा सञ्जालमा यति धेरै पाठकले तपाईंको किताब कहिले आउँछ भनेर सोध्नुभयो । त्यो आँकडा हेर्दा मीठो प्रेसर हुने रहेछ । बजार सुस्त छ भनेर मैले मेरा पाठकलाई अन्डरस्टिमेड गरेको रहेछु ।

‘इजोरिया’ मेरो सबैभन्दा मोटो कृति पनि भयो । एक लाख बढी शब्द छन् । पाँच सय पेज छन् । प्रेम छाडेर अलि सामाजिक विषय समेटेको छु । किताबको मूल्य पनि बढी भयो । यसका वाबजुद पनि प्रकाशकले आँट गरेर किताब छाप्यो ।

– धेरै प्रकाशक भन्छन्, पुस्तकको बजार नै छैन । पाँच हजार जान पनि गाह्रो छ । प्रकाशकलाई हेर्ने हो भने बजारै छैन । तपाईंका अनुसार ‘इजोरिया’ व्यापक बिक्री भयो । प्रकाशक र बजारबीच विरोधाभाष जस्तो देखिन्छ नि ?

मेरो बिक्री हुँदा अरु लेखकको पनि सँगसँगै ३०-४० हजार बिक्री हुनुपर्ने हो । किन होला त्यस्तो ? ममात्रै खत्रा लेखक होइन ! कतिपय अवस्थामा समयको कुरा पनि होला । मेरो किताबप्रतिको पाठकको विश्वास पनि होला । म पाठकहरुलाई निरन्तर महत्व दिने, संवादमा रहने खालको लेखक पनि हुँ । त्यसकारण पनि नयाँ किताब ल्याउँदा ढुक्क हुन्छु ।

फुल टाइम लेखक भएर जीवन नै धान्नुपर्ने भएपछि किताब लेख्न पनि धेरै परिश्रम गर्छु । मेरो ड्युटी बजारमा किताब पु¥याएपछि सकिँदैन । प्रमोशनमा जताततै जाने तरीका छ ।

– प्रकाशकले पाँच हजार बिक्री हुन नसक्ने बजार देख्नुमा राम्रो लेखक र किताब चिन्न नसकेर हो त ?

यसको मलाई एक्जाक्ट उत्तर थाहा छैन । प्रकाशकले लेखक सम्पूर्ण रुपमा चिन्न नसकेको हुनसक्छ । राम्रो पुस्तक प्रकाशकले गुमाइरहेको हुन्छ । बढी आशा गरेर कुनै किताब निकाल्दा प्रकाशक फेल भइरहेको हुन्छ । बजारले अनपेक्षित स्वभाव देखाइदिन सक्छ ।

– तपाईंका किताब बेस्ट सेलिङ हुनुका कारण के हुन् जस्तो लाग्छ ?

मैले छनोट गर्ने कथा हो । साथसाथै भाषा हो । भाषालाई सरल सँगसँगै अलिकति लालित्यपूर्ण पनि बनाउँछु । कथा र भाषाको फ्युजन हो मेरो किताब । बाँकी पाठकले किन मन पराए, उहाँहरुलाई नै सोध्नुपर्छ । मेरो किताब किन मनपर्छ भनेर सोध्दा उहाँहरु पात्रलाई न्याय दिएकाले भन्नुहुन्छ ।

मेरा किताबहरुमा सुन्दर लाइनहरु हुन्छन् । फेसबुक स्टाटस र ट्वीट हुन्छन् सबै । किताब पढ्नसाथ ती लाइन टिकटकलगायत सञ्जालमा भाइरल बनाइदिनुहुन्छ । यो ट्रेन्ड हो । फ्रि पब्लिसिटी हो । यसले उत्साहित पनि हुन्छु । किताब रिराइट गर्नेवेला आवश्यक रहेको ठाउँमा मेहनत गर्छु ।

मैले छनोट गर्ने कथा हो । साथसाथै भाषा हो । भाषालाई सरल सँगसँगै अलिकति लालित्यपूर्ण पनि बनाउँछु । कथा र भाषाको फ्युजन हो मेरो किताब । बाँकी पाठकले किन मन पराए, उहाँहरुलाई नै सोध्नुपर्छ । मेरो किताब किन मनपर्छ भनेर सोध्दा उहाँहरु पात्रलाई न्याय दिएकाले भन्नुहुन्छ ।

– मेहनत त सबै लेखकले गरेकै हुन्छन् । पाँचौं, दशौं वर्ष लगाएर लेखेका हुन्छन् । तर, पाठकले जसरी स्वीकार गर्नुपर्ने हो, त्यहाँ चुकिरहेका हुन्छन् । १० घण्टा लगाएर सिध्याउनुपर्ने किताब पढिरहन मन लाग्ने बनाउने ट्रिक केही छ र तपाईंको ?

त्यस्तो केही छैन । अरु लेखकले पनि मेहनत गरेका हुन्छन् । सबैले आफ्नो तर्फबाट मेहनत गरेका हुन्छन् । तर, कसैलाई कम मेहनत गर्दा पनि सफलता मिलिरहेको हुन्छ । कसैलाई बढी गर्दा पनि नमिलिरहेको हुन्छ ।

आफ्नो लेखनको पहिलो पाठक म आफैं हो । किताब सम्पादनमा आफूले लेखेको सबै सही हो भन्ने लाग्छ । चार लाइन फाल्न पनि गाह्रो मान्छन् लेखकहरु । ‘इजोरिया’मा ५० हजार शब्द फालेको छु । जहाँ फ्ल्याट लाग्छ, त्यहाँ मैले ठीक लेखें कि भन्ने अडानमा बस्दिनँ ।

आफूले जे लेख्यो, त्यसलाई अन्तिम सत्य मान्नुहुन्न । रिराइट गर्दा मुटु मिच्नुपर्छ । कतिपय लेखकको कसैलाई पाण्डुलिपि नदेखाउने चलन छ । आफूले जे लेख्यो, त्यही छापिदिने गर्छन् । अरुका सल्लाह सुझावै नलिने बानी पनि हुन्छ । आफूभन्दा जुनियरलाई मान्छे नै नगन्ने पनि बानी छ । यो ठेट्नाहरुले के गर्लान् र भन्ने पनि छन् । म त सबैको संगत गर्छु । उनीहरुले खतरनाक भाषामा केही नभन्लान् । तर, खतरनाक कुरा सरल भाषामा भन्छन् । सिक्ने ठूला मान्छेबाट मात्रै होइन । सामान्य मान्छेले पनि सिकाउँछ ।

– जुनियरसँगको तपाईंको अट्याचमेन्ट धेरै देखिन्छ । सँगै प्रेममाथि लेख्ने नयाँ लेखकहरुलाई सुविन मार्काका लेखक भनेर ट्याग नै लगाइन्छ । साथै नयाँ लेखकहरुले तपाईंले जस्तो पाठकबाट वार्म वेलकम पाएका पनि छैनन् । यस्तो किन छ ?

लेखक अमर न्यौपाने दाइ भन्नुहुन्छ, पहिलोपटक साइकल बनाउने वैज्ञानिक हुन्छ । दोस्रोपटक साइकल बनाउने मिस्त्री हुन्छ । जबसम्म तपाईं आफ्नो राइटिङ लिएर आउनुहुन्न । भाषा, किताबको आकार हुबहु आउँदा मिस्त्रीको दर्जा पाउने सम्भावना बढी हुन्छ । यो अवमूल्यन गर्न खोजेको होइन । मान्छे त आफूजस्तो बन्नुपर्छ । फलानो जस्तो बन्न खोज्यो भने ट्याग लाग्छ ।

मैले बीपी कोइराला जस्तो भाषा लिएर आएको भए ट्याग लाग्थ्यो होला । त्यो भाषाशैली कपी गरेको भए, विषयवस्तु पछ्याएको भए अर्कै हुन्थ्यो होला । मलाई गाली गर्नुपर्‍यो भने प्रकाश कोविद जस्तो भनेर गाली गर्छन् । प्रकाश कोविद मैले किन घिस्याउनु ? मैले प्रकाश कोविद पढेकै छैन । कहिले चेतन भगत जस्तो भन्छन् मलाई । तर, मैले आफ्नै शैली लिएर आएको हो । त्यसैले नयाँ लेखकले शैली आफूले आविस्कार गरेर आउनुपर्छ ।

म त सबैको संगत गर्छु । उनीहरुले खतरनाक भाषामा केही नभन्लान् । तर, खतरनाक कुरा सरल भाषामा भन्छन् । सिक्ने ठूला मान्छेबाट मात्रै होइन । सामान्य मान्छेले पनि सिकाउँछ ।

– सुविन भट्टराईले सस्ता विषयमा कलम चलाउँछन् भनिन्छ । कमसल र बलियो विषय हुन्छ र ?

हुँदैन । म कुनै वाद पनि मान्दिनँ । म धच गौतामेबाट प्रभावित छु । उहाँले प्रगतिशीलताको कुरा उठाउँदा साहित्य साहित्यमात्रै हुन्छ, अरु केही हुँदैन भन्नुहुन्छ । साहित्य साहित्यमात्रै हो । न त्यो भूगोल हो न त त्यो इतिहास हो । शैली, भाषाले छुन्छ छि छुँदैन, कनेक्सन फिल हुन्छ कि हुँदैन, त्यो महत्वपूर्ण हो । तपाईंलाई छोएन होला, अर्को पाठकलाई कतै छोइरहेको हुन्छ ।

हामीलाई सबै खालको साहित्य चाहिन्छ । मान्छेको रुचि हुन्छ । समाजको जमातले घगडान भनेको किताब मलाई कमसल लागेको छ । पाठकको आफ्नो च्वाइस हुन्छ । ठूलो समुद्रमा डल्फिन, सार्क हुन्छन् । साना भुरा माछा पनि त्यही हुन्छन् । अक्टोपस, गंगटोलगायत हुन्छन् । समुद्र सबैको ठाउँ हो । एउटाले त्यो ठाउँ होइन जा भन्दा जाने भन्ने हुँदैन । मेरो रोजाइको होइन भन्नु र त्यो लेखक लेखक नै होइन भन्नु चाहिँ विभेद हो ।

– साहित्यलाई व्यवसायिक दृष्टिबाट हेर्नुहुँदैन । सृजनाको ओज, तागत र शक्तिलाई हेर्नुपर्छ भन्छन् नि ?

म पनि त्यही भन्छु । साहित्य शक्ति हो । साहित्यको शक्ति सुगन्ध हो । त्यो मगमगाउँछ । तर, कति मगमगाउँछ भन्ने हो । किताब छापेर मूल्य राखेपछि बजारमा जान्छ । सबैलाई चाहिएको पाठक हो । त्यो पनि धेरैभन्दा धेरै पाठक । मलाई सय वटामात्रै पाठक चाहिन्छ भनेर कसैले भन्दैनन् ।

किताब पुस्तक पसलमा झुण्डियोस् । पाठकले किनेर लगोस् भन्ने सोच्दै गर्दा व्यवसायिकता स्वतः जोडिन्छ । म साहित्य क्षेत्रमा आएको १२ वर्ष भयो । लेखनबाहेक मेरो अरु केही छैन । मैले यसमा व्यवसायिकता खोज्नु राम्रो कि नराम्रो ?

पाठकको आफ्नो च्वाइस हुन्छ । ठूलो समुद्रमा डल्फिन, सार्क हुन्छन् । साना भुरा माछा पनि त्यही हुन्छन् । अक्टोपस, गंगटोलगायत हुन्छन् । समुद्र सबैको ठाउँ हो । एउटाले त्यो ठाउँ होइन जा भन्दा जाने भन्ने हुँदैन ।

म धेरैपटक रिराइट गर्छु, परिस्कार गर्छु । मान्छेहरुलाई देखाइरहेको हुन्छु । म हार्ड वर्क गरेर लेखिरहेको हुन्छु । एउटा किताब लेख्न चार वर्ष लाग्छ । व्यवसायिकता नै खोज्ने हो भने ६ महिनामा लेख्न सक्छु । तर, कस्तो लेख्ने, किन लेख्ने भन्ने हुन्छ । दश वर्ष भयो, ‘समर लभ’को रौनक फिका भएको छैन । उत्तिकै रेस्पोन्स आउँछ । कति भर्सन अडियो आइसक्यो । मेरो किताब आफ्नै शक्तिले आएको हो । तर, कतिपयलाई प्रेमकथा कतिपयलाई जनरा नै मन नपरेको होला ।

– अरुको विमोचनमा जाँदा पनि पारिश्रमिक लिनुहुन्छ है ?

विमोचनमा जाने, भूमिका लेख्ने वा आफू बस्ने र अरुलाई समय दिने । समय खर्च भएको हुन्छ । त्यसका लागि पारिश्रमिक स्वाभाविक मान्छु । मैले यस्तो अभ्यास गरेको छु । कुनै कार्यक्रममा जाँदा मेरो मूल्य छ । तर, त्यहाँ जाँदा समाजलाई भलो हुनेछ भने लिन्नँ । जहाँ व्यवसायिकता जोडिएको छ, एउटा पक्ष फाइदामा जान्छ भने म माग राख्छु ।

– साहित्यिक सर्कलले तपाईंलाई लेखकको रुपमै मान्दैन, किन होला ?

उनीहरुले ‘समर लभ’, ‘साया’ पढेका होलान् । बाँकी किताब पढेका छैनन् । अनि यत्तिकै धारणा बनाउँछन्, यो यस्तै रहेछ भनेर ।

– चित्त दुख्दैन ?

चित्त दुख्छ । म पनि मान्छे हो । कसैले अपमान गर्दा, अवहेलना गर्दा चित्त दुख्नु स्वाभाविक हो । यहाँ कोही अलिकति अगाडि गयो भने उसलाई नमान्ने चलन छ । कोही राम्रो कवि आउँछ, चर्चा पाउँछ । तर, उसलाई मान्दैन । कसैलाई आरिस लाग्छ । कुण्ठामा चोट पर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर