पर्वतकै पहिलो ‘क्याबिनेट’ मन्त्री पदम- एमालेको तेस्रो पुस्ताका तेज धावक – Nepal Press

पर्वतकै पहिलो ‘क्याबिनेट’ मन्त्री पदम- एमालेको तेस्रो पुस्ताका तेज धावक

आफ्ना नेता खगराजले थालेको स्वास्थ्य बीमा प्रभावकारी बनाउने र पैसाका कारण उपचार नहुने अवस्था अन्त्य गर्ने प्राथमिकता

काठमाडौं । मूलधारका भनिएका ठूला पार्टीमा ४० वर्ष उमेर समूहका युवाले सांसदमा होइन वडाको टिकट पाउन संघर्ष गर्नुपर्छ । तर, आफ्नो काम र भूमिकाका कारण केही युवाले छलाङ मार्छन् । यस्तै युवामा पर्छन् नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी ।

विद्यार्थी राजनीतिबाट अघि बढेका गिरी अनेरास्ववियुको पदाधिकारी बन्ने प्रयास असफल भएपछि मौका ढुकेर बसेनन् । उनी खुरुक्क पोखराबाट गृहजिल्ला पर्वत झोला बोकेर फर्किए । त्यसपछि उनले राजनीतिमा कहिल्यै पछि फर्किनु परेन । यस हिसाबले पदम गिरी एमालेको तेस्रो पुस्ताको तेज धावक हुन् ।

नेता होइन जनता र कार्यकर्ता रिझाएमात्र राजनीतिमा सफल भइन्छ भन्ने उदाहरण बन्न सफल भए गिरी । पर्वतको राजनीतिमा छोटो समयमा स्थापित बन्दै राष्ट्रियस्तरको युवा नेतामा दरिएका गिरी जिल्लाकै पहिलो क्याबिनेट मन्त्री बन्ने रेकर्ड राख्नसमेत सफल भएका छन् ।

संयोग नै मान्नुपर्छ, कांग्रेसबाट लगातार ३ पटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएका प्रभावशाली नेता अर्जुन जोशीलाई लगातार दुईपटक पराजित गरेका गिरीले पहिलाे पारीमै हेभिवेट मानिने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । पर्वतको इतिहासमा अहिलेसम्म कसैले पनि क्याबिनेट मन्त्री पाएको थिएन ।

राष्ट्रिय राजनीतिमै ‘डायनामिक युथ लिडर’ अर्थात गतिशील युवा नेताको छवि बनाएका गिरी पर्वत जिल्लाकै पहिलो क्याबिनेट मन्त्री बन्नु जिल्लाकै लागि गौरवको विषय बनेको छ ।

पर्वतको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा ४५ वर्षअघि जन्मिएका गिरीमा राजनैतिक चेतको अंकुरण १४ वर्षको किशोर अवस्थादेखि नै सुरु भएको हो । उक्त चेतको पुष्पन एवम् पल्लवन मुलुककै ठूलो राजनीतिक महत्व बोकेको पृथ्वीनारायण (पीएन) क्याम्पस पोखरामा भएको हो ।

गाउँकै श्री काफल चौर माविबाट माध्यमिक तहसम्मको अध्ययन पूरा गरेका गिरीले स्कुले जीवनमै एमाले समर्थित अनेरास्ववियुको विद्यालयको प्रारम्भिक कमिटीको सचिव हुँदै अध्यक्षसम्मको जिम्मेवारी सम्हालेका थिए । माध्यमिक तहको पढाइ सकेर गिरी उच्च शिक्षा हासिल गर्न विसं २०५० मा देशकै ठूलो पीएन क्याम्पस पुगे ।

सरल, मृदुभाषी तथा नेतृत्वदायी क्षमता बोकेका गिरीले पीएन क्याम्पस भर्ना भएपछि सुरुका दिनमा अनेरास्ववियू पर्वत पोखरा सम्पर्क कमिटीको अध्यक्ष भई नेतृत्व सम्हाले । विद्यार्थी राजनीतिलाई नै निरन्तरता दिँदै गिरी २०५५ सालमा अनेरास्वियू पृथ्वीनारायण क्याम्पसको प्रारम्म्भिक कमिटीको सचिव र स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित भएका थिए ।

उनले २०५७ सालदेखि अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटीको नेतृत्व गरेका थिए । गिरीले २०५९ माघ १९ को शाही ‘कु’ को विरुद्ध गणतन्त्रको माग गर्दै पीएन क्याम्पसबाट विरोध प्रदर्शनको नेतृत्व गरेका थिए । सो समयमा शाही सेनाले गिरीलाई नियन्त्रणमा लिएर चरम यातना दिएको जानकारहरु बताउँछन् ।

गणतन्त्रको पक्षमा अडिग गिरीको त्यसपछि पनि प्रहरी हिरासतमा पर्ने र निस्कने क्रम जारी नै रह्यो । गणतन्त्रको वकालत र संगठन विस्तार नै आफ्नो मुख्य लक्ष्य भएको बताउने पदम विद्यार्थी राजनीतिमा सक्रिय रहेकै वेला एक त्यागी एवं धैर्यवान नेताको छवि बनाउन सफल भएका थिए । विसं २०६२ सालको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा सभापतिमा निर्वाचित भएसँगै उनको राजनैतिक यात्राले नयाँ आयाम लिएको थियो ।

अनेरास्ववियुको १९ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालयमा निर्वाचित भएका गिरी स्ववियु परिचालन विभागको प्रमुख बनेका थिए । उनले विद्यार्थी विशेष जिल्ला कमिटीको सदस्य हुँदै आफ्नो गृह जिल्ला पर्वतको पार्टी राजनीतिमा पाइला चाले । पर्वतको सातौं जिल्ला अधिवेशनबाट उनी सचिवालय सदस्यमा निर्वाचित भएका थिए ।

नेकपा एमाले पर्वतको आठौं जिल्ला अधिवेशनबाट भने उनी अध्यक्षमा निर्वाचित भएका थिए । विद्यार्थी राजनीतिको समयमा धैर्यवान नेताको छवि बनाएका गिरी पार्टी राजनीतिमा भने गतिशील ढंगबाट अघि बढ्दै गए । फलस्वरुप उनी २०७४ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एमालेबाट चुनावी मैदानमा होमिए । सो समयमा उनका मुख्य प्रतिस्पर्धी थिए नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशी ।

२०५६ सालको संसदीय चुनाव, २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा चुनाव जितेका अर्जुनसँग ‘न्यू ब्वाई’ पदमको जीत सो समयमा धेरैको लागि अपत्यारिलो थियो । यद्यपि गिरीले १२ हजार ४५६ को भारी मतान्तरसहित सानदार जीत हासिल गर्दै देशकै कान्छो सांसदको रुपमा प्रतिनिधिसभामा इन्ट्री गरेका थिए ।

नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सह-इन्चार्ज बनेका गिरी प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा दोस्रो पटक नेकपा एमालेबाट निर्वाचित भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अर्जुन जोशीलाई दोस्रो पटक माथ खुवाउँदै विजयी पदमको मन्त्रालयको यात्रा भने पहिलो हो । यसपटक जोशीसँग पाँच दलीय गठबन्धन थियो तर गिरी एक्लैले जितेनन् मात्र पर्वतमा एमालेले क्लिन स्वीप गर्यो ।

एमालेले यसपटक बनाएको मापदण्ड दुईपटक चुनाव जितेर मन्त्री बन्ने अवसर नपाएकालाई मौका दिने भन्ने थियो,त्यसमा गिरी पर्ने नै भए । क्लीनस्वीप गरेको जिल्ला र लगातार दुईपटक चुनाव जितेका तथा पार्टीको मूल नेतृत्वलाई सधैं साथ दिएका गिरी मन्त्री बन्नु स्वभाविक थियो ।

देशभर राम्रो सन्जाल भएका र युवा विद्यार्थीबीच लोकप्रिय मानिएका गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएपछि एमाले पंक्तिले उनलाई सहजरुपमा स्वीकार गरेको छ । एमालेको तेस्रो पुस्ताका प्रतिनिधि गिरीको राजनीतिक करिअर निकै लामो रहेकाले उनले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने अपेक्षा नेतृत्वले पनि गरेको छ ।

उनले मन्त्रालयमा कार्यभार सम्हालेलगत्तै आफ्ना नेता तथा तत्कालीन स्वास्थ्य मन्त्री खगराज अधिकारीले शुरु गरेको स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै बिस्तार गर्ने योजना सुनाएका छन् । चिकित्सक पृष्ठभूमिकै राज्यमन्त्री डा.तोसिमा कार्की समेत उनको टिममा रहेकाले यो युवा नेतृत्वले राम्रो नतिजा दिने अपेक्षा गरिएको छ ।

हालसम्म पर्वतले ६ जना राज्य र सहायकमन्त्री पाए पनि फुल क्याबिनेट मन्त्री पाएको थिएन । जसअनुसार गिरी पर्वतका पहिलो फुल मन्त्रीको रेकर्ड राख्न सफल भएका छन् । विद्यार्थी राजनीति होस् वा पार्टी राजनीति ‘म्यान अफ द इलेक्सन’ को रुपमा स्थापित गिरीले स्वास्थ्यमन्त्रीको रुपमा आफ्नो जिम्मेवारीलाई कुन रुपमा वहन गर्लान् ? यसको उत्तर पाउन भने केही समय कुर्नुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर