आफ्नै नेता हराउन सक्रिय भुसाललाई लुम्बिनीका मुख्यमन्त्री केसीले ‘पुरस्कार’स्वरुप दिए लुप्राविको बोर्डमा नियुक्ति ! – Nepal Press

आफ्नै नेता हराउन सक्रिय भुसाललाई लुम्बिनीका मुख्यमन्त्री केसीले ‘पुरस्कार’स्वरुप दिए लुप्राविको बोर्डमा नियुक्ति !

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले शिक्षामन्त्रीलाई समेत कुनै जानकारी नदिई लुम्बिनी प्राविधिक विश्वविद्यालयमा बोर्ड सदस्य नियुक्त गरेका छन् । विश्वविद्यालयको कुलपति मुख्यमन्त्री र उपकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ ।

कार्यकालको अन्तिम समयमा रहेका मुख्यमन्त्री केसीले कपिलवस्तु वाणगंगा नगरपालिका- ८ का क्रसर उद्योग सञ्चालक नारायण भुसाललाई प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्य नियुक्त गरेका हुन् ।

मंसिर २९ गते कुलपतिको निर्णयानुसार भुसाललाई नियुक्त गरिएको विषय बिहीबार साँझमात्रै सार्वजनिक भएको छ । मंसिर २९ गतेको निर्णय मन्त्रिपरिषद बैठकमा समेत जानकारी नदिइएको शिक्षा मन्त्रालयका अधिकारीको भनाइ छ ।

प्रदेशका शिक्षामन्त्री बसिउद्दिन खानले यो विषयमा कुनै जानकारी नभएको नेपाल प्रेसलाई बताए ।

‘मैले तपाईंले भनेर थाहा पाएँ, यसबारे मलाई केही जानकारी छैन, प्राविधिक विश्वविद्यालयमा सोही क्षेत्रका विज्ञहरुलाई राख्ने कार्यविधि बनाएका हौं, म काठमाडौंमा छु’, उनले भने, ‘मुख्यमन्त्री कुलपति रहने व्यवस्था छ, उहाँले विशेष अधिकार प्रयोग गर्नुभएको होला । अहिले राजनीतिक समीकरण फेरिएपछि उहाँले एकलौटी गर्नुभएको हो । विषयगत मन्त्रालयलाई जानकारी दिनुपर्ने, निर्णय गरिनुपर्ने कानुनी व्यवस्था छँदैछ ।’

शिक्षामन्त्री खानले बोर्ड सदस्यमा आउन स्नातक उत्तीर्ण रहेको हुनुपर्ने र सम्बन्धित क्षेत्रमा दक्ष हुनुपर्ने कार्यविधिमा रहेका जानकारी दिए ।

प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा अगाडि सारेको यो विश्वविद्यालयमा ४ जना बोर्ड सदस्य रहने कार्यविधि छ । जसमा निजी क्षेत्रबाट सरकारले एकजना बोर्ड सदस्य नियुक्त गरेको रजिष्टार रेग भण्डारीले बताए । ‘बोर्ड सदस्यमा कसलाई पठाउने भन्ने विषय हाम्रो कार्यक्षेत्रमा पर्दैन, हिजो बोर्ड सदस्यमा नियुक्त नारायण भुसाललाई पत्र दिने समयमा म पनि पुगेको हो’, भण्डारीले भने ।

कार्यकालको अन्तिम समयमा मुख्यमन्त्रीले भुसाललाई नियुक्त गरेपछि उनकै पार्टीभित्र विरोध भएको छ । नेकपा माओवादी केन्द्रको कपिलवस्तु र रुपन्देहीका संयोजकहरुले भुसाल पहिले माओवादी भए पनि अहिले पार्टीको जिम्मेवारीमा नरहेको भन्दै नियुक्तिको विरोध गरेका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा कपिलवस्तु क्षेत्र नं १ मा तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका सचिव चन्द्रप्रकाश खनाल बलदेवलाई हराउन लागेका भुसाललाई पार्टीकै स्थायी कमिटी सदस्य एवं मुख्यमन्त्री केसीले पुरस्कारस्वरुप बोर्डमा लगेको भन्दै एक माओवादी नेताले व्यंग्य गरे ।

माओवादीको कपिलवस्तु तथा रुपन्देहीका जिल्ला संयोजकहरुले पार्टीको प्रतिष्ठामा समेत आँच आउने गरी मुख्यमन्त्री केसीले गरेको नियुक्तिको विषयमा पार्टीमा गम्भीर ढंगले उठाइने औंल्याए । उनीहरुका अनुसार भुसालको अध्ययनले उनी त्यहाँ नियुक्त हुन योग्य छैनन् ।

माओवादी रुपन्देहीका संयोजक निर्मल जीसीले मुख्यमन्त्रीले के कसरी नियुक्त गर्नुभयो भन्ने विषय आफूलाई थाहा नभएको तर पार्टीले उहाँलाई सिफारिस नगरेको बताए ।

कपिलवस्तुका संयोजक विष्णु वेल्वासे पनि वाणगंगाका भुसाल पार्टीको जिम्मेवारीमा नरहेको र कसैलाई पनि नियुक्तिको सिफारिस नगरिएको बताउँछन् ।

विश्वविद्यालय सञ्चालन गर्न साउन १६ गते उपकुलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी काम अगाडि बढाइएको छ । बाँकेको खजुरामा विश्वविद्यालयका केन्द्रीय कार्यालय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर