वाम एकताको विकल्प छैन, नेकपा एस छिट्टै सरकारमा समेटिन्छ : देव गुरुङ (भिडिओ) – Nepal Press

वाम एकताको विकल्प छैन, नेकपा एस छिट्टै सरकारमा समेटिन्छ : देव गुरुङ (भिडिओ)

मुलुक संकटमा जानसक्ने अवस्था भएकाले नेतृत्व फेर्नुपर्छ भन्दा पाँच दलमा सहमति जुटेन

रुपन्देही । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने प्रक्रियामा लाग्नुको विकल्प नभएको बताएका छन् ।

शुक्रबार रुपन्देहीको भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले दीर्घकालीनरूपमा वामपन्थी एक नभए प्राप्त उपलब्धि गुम्दै जाने बताए । सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्नेमा गुरुङको जोड थियो ।

‘सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य हुनुपर्छ, नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं ’, उनले भने ।

मुलुकको स्वाधीनताको रक्षा विगतका नेतृत्वबाट सम्भव नदेखिएकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाइएको उनको दाबी छ । पूर्वमन्त्रीसमेत रहेका गुरुङले विगतको नेतृत्वबाट संविधान, लोकतन्त्रको रक्षा र संसद्को पुन:स्थापनामा सफल भए पनि राष्ट्रिय स्वाधीनतामाथि खतरा पर्दा र बाह्य शक्तिले चलखेल गर्दा नेतृत्वले ध्यान पुर्‍याउन नसकेको बताए ।

उनले भने, ‘विभिन्न ढंगले मुलुक संकटमा जानसक्ने अवस्था भएकाले नेतृत्व परिवर्तन गर्नुपर्छ भन्दा पाँच दलबीच सहमति जुट्न सकेन, मुलुकलाई सामान्य अवस्थामा लैजानुपर्ने आवश्यकता छ ।’

राष्ट्रियतासँग जोडिएका मुद्दामा सहमति जुटाउँदै अघि बढ्नुपर्ने नेता गुरुङको भनाइ थियो ।

‘प्रचण्डले धेरैलाई प्रधानमन्त्री बनाउन भूमिका खेल्नुभयो, यो संकटपूर्ण अवस्थामा सरकारको नेतृत्व गर्ने कार्य महत्वपूर्ण छ’, उनले भने, ‘माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई समेट्न सकिएन, विस्तारै समेट्ने प्रक्रियामा छौं ।’

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्री बन्ने प्रस्ताव राखेपछि अहिलेको अवस्थामा उहाँको मागदाबीअनुसार जिम्मेवारी दिँदा उपयुक्त हुन्छ भन्ने हिसाबले नै अगाडि बढिएको बताए ।

‘मन्त्रालयको जिम्मेवादी दिने कुरा प्रधानमन्त्रीले मात्र सोच्ने विषय होइन्, आपसी समझदारी खोज्ने प्रक्रियामा गृहमन्त्रीको जिम्मेवारी दिइएको हो, रवि लामिछानेलाई समेट्नु स्वाभाविक प्रक्रिया हो ’, महासचिव गुरुङले भने ।

निर्वाचनको प्रक्रियाबाट नयाँ घटक आएकाले राजनीतिक रूपमा कसैलाई निषेध गरी जान सक्ने स्थिति नभएको उनले प्रष्ट्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर