तथ्यांकमा विश्वकपका २१ फाइनल, दुई देशबाट खेल्नेदेखि दुई संस्करणमा गोल गर्नेसम्म – Nepal Press

तथ्यांकमा विश्वकपका २१ फाइनल, दुई देशबाट खेल्नेदेखि दुई संस्करणमा गोल गर्नेसम्म

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको २२ औँ संस्करणको उपाधि विजेता आइतबार राति टुंगो लाग्दै छ । नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुने खेलमा फ्रान्स र अर्जेन्टिनामध्ये जो विजेता बनेपनि तेस्रोपटक यो प्रतियोगिता जित्नेछन् ।

विश्वकपका अघिल्ला २१ वटा फाइनलमा विभिन्न कीर्तिमानहरु बनेका थिए  । ब्राजिलका भाभा र पेले, जर्मनीका पल ब्रेइटनर र फ्रान्सका जिनेदिन जिदान दुई वटा फाइनलमा गोल गर्ने खेलाडी हुन् ।

जिदानले सन् १९९८ र २००६, भाभाले सन् १९५८ र १९६२, पेलेले १९५८ र १९७० विश्वकपको फाइनलमा गोल गरेका थिए । यस्तै, ब्रेइटनरले सन् १९७४ र १९८२ को विश्वकपको फाइनलमा गोल गरेका थिए । यस्तै, ब्राजिलका काफु विश्वकपका तीन फाइनल खेल्ने एक मात्र खेलाडी हुन् ।

उनले १९९४, १९९८ र २००२ का फाइनल खेलेका थिए । लुइस मोन्टी दुई फरक देशबाट विश्वकप खेल्ने एक मात्र खेलाडी हुन् । उनले सन् १९३० मा अर्जेन्टिनाबाट उरुग्वेविरुद्ध र सन् १९३४ मा इटालीबाट चेकोस्लोभाकियाविरुद्ध फाइनल खेलेका थिए ।

सन् १९५८ को विश्वकपमा ब्राजिल र स्वीडेनबीच भएको फाइनलमा ब्राजिल ५-२ गोलले विजयी भएको थियो । फाइनलमा विजेता टोलीले यति धेरै गोल त्यसअघि र त्यसपछि कसैले गर्न सकेका छैनन् । उक्त विश्वकपमा ब्राजिलको पहिलो खेलमा सुरुवाती-११ मा नरहेका पेले, गारिन्चा, जाल्मा सान्तोस्, जितो र भाभाले फाइनलमा स्वीडेनविरुद्ध सुरुवाती-११ मा ठाउँ बनाएका थिए । त्यतिबेला १७ वर्ष मात्र रहेका पेले विश्वकपको फाइनल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।

स्वीडेनका ३५ वर्षीय निल्स लायधोल्म विश्वकपको फाइनल खेल्ने सबैभन्दा ज्येष्ठ खेलाडी बनेका थिए । सन् १९७४ को विश्वकपको फाइनलमा नेदरल्यान्ड्सका जोहान निस्केन्सले खेल सुरु भएको ८८ औँ सेकेन्डमै गोल गरेका थिए । विश्वकपको फाइनलमा यति छिटो गोल त्यसअघि र त्यसपछि भएको छैन ।

निस्केन्सले प्राप्त पेनाल्टी अवसर सदुपयोग गरेका थिए । विश्वकपको फाइनलमा दिइएको त्यो पहिलो पेनाल्टी पनि थियो । विश्वकपको फाइनलमा विजेता टोलीलाई गोल नव्यहोरी फाइनल जित्न ६० वर्ष लागेको थियो । सन् १९९० को विश्वकपमा तत्कालीन पश्चिम जर्मनीले अर्जेन्टिनालाई १-० गोलले हराएको थियो । त्यतिबेला जर्मनीको गोलकिपर रहेका बोडो इल्नर विश्वकप फाइनलमा गोल नव्यहोर्ने सबैभन्दा कान्छा गोलकिपर रहेका छन् ।

सन् १९५४ को विश्वकप फाइनलमा जर्मनीले हंगेरीलाई ३-२ गोलले हराएर उपाधि जितेको थियो । खेलमा २-० गोलले पछाडि परेको अवस्थाबाट जर्मनी विजेता बनेको थियो । विश्वकप फाइनलमा २ गोलले पछाडि परेर पनि उपाधि जितेको त्यसअघि र त्यसपछि कसैले पनि छैन ।

जर्मनीसँगको हारसँगै हंगेरीको ३० खेलको विश्व कीर्तिमानी अपराजित यात्रा टुंगिएको थियो । विश्वकपको टाइब्रेकरमार्फत विजेता टुंगो लगाएको पहिलो संस्करण सन् १९९४ को थियो । त्यतिबेला ब्राजिलले इटालीलाई टाइब्रेकरमा हराएको थियो । त्यसयता एकपटक मात्र सन् २००६ को विश्वकप फाइनलमा इटालीले फ्रान्सलाई टाइब्रेकरमा हराएको थियो । इङ्ल्यान्डका जियोफ हर्स्ट विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने एक मात्र खेलाडी हुन् ।

उनले सन् १९६६ को विश्वकपमा जर्मनीविरुद्ध ह्याट्रिक गरेका थिए । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । निर्धारित समयमा एक गोल गरेका हर्स्टले अतिरिक्त समयमा दुई गोल गरेका थिए । उक्त खेलमा दुई असिस्ट गरेका इङ्ल्यान्डका बबी मुर्रे विश्वकप फाइनलमा दुईवटा असिस्ट गर्ने पेलेबाहेकका एक मात्र खेलाडी हुन् । यस्तै एकै खेलाडीलाई दुई असिस्ट गर्ने उनी मात्र हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *