विश्वकप इतिहासमा अर्जेन्टिना- सेमिफाइनल पुगेपछि फाइनल यात्रा सुरक्षित – Nepal Press

विश्वकप इतिहासमा अर्जेन्टिना- सेमिफाइनल पुगेपछि फाइनल यात्रा सुरक्षित

काठमाडौं । विश्वकप फुटबलको पहिलो सेमिफाइनलम दुईपटकको विजेता अर्जेन्टिनाले मंगलबार साविक उपविजेता क्रोएसियाको सामना गर्दैछ ।

अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर विश्वकपमा छैटौँपटक अन्तिम चारमा स्थान बनाएको हो । अर्जेन्टिनाले विश्वकपमा सेमिफाइनल पुगेर फाइनल नपुगेको इतिहास छैन ।

अर्जेन्टिना सन् १९३० मा आयोजना भएको पहिलो विश्वकपमै फाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा अमेरिकालाई ६-१ गोलले हराएको अर्जेन्टिना उपाधि भिडन्तमा उरुग्वेसँग ४-२ गोलले पराजित भयो । त्यसयता अर्जेन्टिना सन् १९७८ को विश्वकपमा विजेता बन्यो ।

त्यतिबेला दोस्रो चरणमा रहेका दुईवटा समूहका विजेताबीच उपाधि भिडन्त गराइएको थियो । सन् १९८६ को विश्वकप उपाधि जित्नेक्रममा अर्जेन्टिनाले सेमिफाइनलमा बेल्जियमलाई २-० गोलले हराएर फाइनल यात्रा तय गरेको थियो । सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना इटालीलाई टाइब्रेकरमा हराएर फाइनल पुगेको थियो ।

त्यसयता अर्जेन्टिनालाई सेमिफाइनल पुग्न २४ वर्ष लाग्यो । सन् २०१४ मा आयोजना भएको विश्वकपमा सेमिफाइनल पुगेको अर्जेन्टिना यसपटक पनि फाइनल पुग्नबाट चुकेन । त्यतिबेला नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराएर अर्जेन्टिनाले जर्मनीसँगको उपाधि भिडन्त तय गरेको थियो ।

यसरी हेर्दा ६ पटक सेमिफाइनल पुग्नेक्रममा अर्जेन्टिना ती सबैमा फाइनल पनि पुग्यो तर चारपटक उपविजेतामै सीमित बनेको थियो । अर्जेन्टिना ३५ वर्षयता विश्वकप उपाधिविहिन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *