लुम्बिनीसभामा यसपटक दोब्बर दल, समानुपातिकका ३५ मध्ये ३१ महिला (सूचीसहित) – Nepal Press

लुम्बिनीसभामा यसपटक दोब्बर दल, समानुपातिकका ३५ मध्ये ३१ महिला (सूचीसहित)

रुपन्देही । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ । ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य भएकाले प्रत्यक्षतर्फ १ जनामात्र महिला निर्वाचित भएकाले समानुपातिकमा सबै दलबाट अधिकांश महिला चुनिएका छन् ।

३५ समानुपातिक सीटमध्ये ३१ जना महिला र ४ पुरुष छनोट भएका छन् । सबै दलले निर्वाचन आयोगमा शनिबार अन्तिम नामावली बुझाइसकेका छन् ।

समानुपातिकतर्फ लुम्बिनीमा एमालेले पहिलो बन्दै ११, कांग्रेसले १०, माओवादी केन्द्रले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले २, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले १/१ गरी ३५ सीट प्राप्त गरेका छन् । ३२ दल सहभागी रहेको निर्वाचनमा लुम्बिनी प्रदेशसभामा १० दलको मात्रै प्रतिनिधित्व भएको छ । नेकपा एस र जनमोर्चा भने प्रत्यक्षमा कुनै सीट नल्याएपनि समानुपातिकमा एकएक सीट ल्याएका छन् ।

एमालेका ११ मध्ये १० महिला

प्रत्यक्षतर्फ १८ सीट जितेको एमालेले समानुपातिकमा ११ सीट पाएको हो । एमालेले खसआर्य महिलातर्फ वसन्ती न्यौपाने (बाँके), जानकी न्यौपाने (रूपन्देही), आदिवासी जनजाति महिलाबाट सरिता पुन (रुकुमपूर्व), यमुना रोका तामाङ (रोल्पा), थारूबाट सीता चौधरी (दाङ), भगवतीकुमारी थरूनी (रूपन्देही), दलिततर्फ इन्द्रकुमारी गहतराज (पाल्पा), यसैगरी रेखाकुमारी शर्मा (दाङ), मधेसीतर्फ शान्ति लोध (रुपन्देही), (अल्पसंख्यक) र मुस्लिमतर्फ रासा बानु (बाँके) र खसआर्य पुरूषमा गिरिधारीलाल न्यौपाने (कपिलवस्तु) लाई पठाएको छ ।

कांग्रेसका ९ जनामा को-को आए ?

प्रत्यक्षतर्फ १७ सीट जितेको कांग्रेसले समानुपातिकतर्फ १० सांसद पाएको छ । जसमध्ये खस आर्यबाट जमुना ढकाल (रूपन्देही), निमा गिरी (प्युठान) र मालती सोडारी (बर्दिया) रहेका छन् । यस्तै जनजातितर्फ धनलक्ष्मी श्रेष्ठ (प्यूठान), माया पुन (बाँके) रहेका छन् । यसैगरी थारूबाट देवीप्रसाद चौधरी (रुपन्देही) र सञ्जुकुमारी चौधरी (बाँके) रहेका छन् । मधेसीतर्फ सुशीला बादी (दाङ), दलिततर्फ लोकीकुमारी बिक (दाङ) र मुस्लिमतर्फ मीनाकुमारी सिद्दिकी (बाँके) रहेका छन् ।

माओवादीमा महिला र पुरुष बराबर

माओवादी केन्द्रबाट २ महिला र २ पुरुष समानुपातिबाट सांसद बनेका छन् । खस आर्यतर्फ भक्तिप्रसाद आचार्य (अर्घाखाँची), जनजातितर्फ दिलकुमारी बुढा (रुकुमपूर्व) थारूतर्फ कृष्णा थारू (बर्दिया) र दलिततर्फ यमबहादुर नेपाली (गुल्मी) रहेका छन् । माओवादीबाट प्रत्यक्षमा एकजना महिलाले जितेकी छन् ।

अन्य दलबाट को-को आए ?

नागरिक उन्मुक्ति पार्टीबाट निर्मलाकुमारी थारू चौधरी (रुपन्देही) र नोरीकुमारी चौधरी (बाँके) रहेका छन् । जनमत पार्टीबाट सुमन रायमाझी (बर्दिया) र गीता गुरूङ (रुपन्देही रहेका छन् । त्यस्तै लोसपाबाट हेमा बेल्वासे केसी, राप्रपाबाट मेनुका खाँण (गुल्मी) र जनजातितर्फ मीनाकुमारी श्रेष्ठ बाँके रहेका छन् । जनता समाजवादी पार्टीबाट अम्बिका काफ्ले (बर्दिया) रहेका छन् ।

प्रत्यक्षमा कुनै सीट नल्याएका राष्ट्रिय जनमोर्चाबाट गुल्मीकी तारा थापा र नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी घिमिरे (रुपन्देही) सिफारिस भएका छन् । राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गुल्मी कालीगण्डकी गाउँपालिकाकी पूर्व उपाध्यक्ष थापा जनमोर्चाको लुम्बिनी प्रदेश समानुपातिक सांसद कोटाबाट प्रदेश सांसदमा सिफारि भएकी हुन् ।

दलको सहभागिता दोब्बर

यसअघि लुम्बिनी प्रदेशसभामा ५ दलको सहभागिता रहेकोमा यसपटक १० राजनीति दलको सहभागिता हुने भएको छ । लुम्बिनीमा ३२ दलले चुनावमा भाग लिएका थिए । स्वतन्त्रले ३ सीट जितेका छन् । प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’ कटाएर एक/एक सीट पाउने भएपछि प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर