एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ईशान किशनको विश्व कीर्तिमानसहित दोहोरो सतक – Nepal Press

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ईशान किशनको विश्व कीर्तिमानसहित दोहोरो सतक

नयाँ दिल्ली। भारतका विकेटकिपर ईशान किशन एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा दोहोरो सतक बनाउने ब्याटर बनेका छन्।

बंगलादेशविरुद्ध भएको तेस्रो तथा अन्तिम खेलमा शनिबार किशन एक्लैले २ सय १० रन बनाए। उनले एक सय २६ बलमा दोहोरो सतक पुरा गरेका थिए। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि न्युजिल्यान्डकी आमेलिया करले एक सय ३४ बलमा दोहोरो सतक पुरा गरेकी थिइन्।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको पुरुतर्फ क्रिस गेलको नाममा एक सय ३८ बलको विश्व कीर्तिमान थियो। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटको पुरुषतर्फ नवौँपटक ब्याटरले दोहोरो सतक बनाएका हुन्। पहिलो दोहोरो सतक सचिन तेन्दुलकरले बनाएका थिए।

त्यसयता रोहित शर्माले तीनपटक तथा मार्टिन गप्टिल, फखर जमान, विरेन्द्र सेहवाग र क्रिस गेलले एकएकपटक दोहोरो सतक बनाएका थिए। सबैभन्दा बढी रनको पाली २ सय ६४ रनसहित रोहितको नाममा छ।

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो सतक बनाउने २४ वर्षिय किशन सबैभन्दा कम उमेरका खेलाडी पनि हुन्। रोहित शर्मा घाइते भएपछि स्थान पाएका किसनको यो पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय सतक पनि हो।

२४ चौका र १० छक्का प्रहार गरेका इसनले विराट कोहलीसँग २ सय ९० रनको साझेदारी गरेपछि भारत चार सय १० रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो। कोहलीले एक सय १३ रन बनाए।

कोहलीले ४४ औँ एकदिवशीय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा समग्रमा ७२ औं सतक बनाएका हुन्। सुरुका दुई खेल जितेर शृंखला हात पार्ने पक्का गरेको बंगलादेश तेस्रो खेलमा २ सय २७ रनले पराजित भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Press - Live
Nepal Press - Live