मेस्सीलाई रोक्न ७१ वर्षीय प्रशिक्षकको मास्टर माइन्डमा अनुभवी रक्षक भान डायक तयार – Nepal Press

मेस्सीलाई रोक्न ७१ वर्षीय प्रशिक्षकको मास्टर माइन्डमा अनुभवी रक्षक भान डायक तयार

गोल गर्ने जिम्मा डिपे र गाक्पोलाई

दोहा । कतारमा जारी विश्वकप फुटबलमा शुक्रवार दुई वटा क्वाटर फाइनल खेल हुन लागे पनि धेरैको ध्यान नेदरल्यान्ड्स र अर्जेन्टिनाको खेलमा केन्द्रित छ। राती पौने १ बजे सुरु हुने खेलमा विगतका पराजयको बदला र लियोनल मेस्सीको विश्वकप उपाधि सपनासँग जोडिएको छ।

तीन पटक विश्वकपको फाइनल पुगेको नेदरल्यान्ड्सले उपाधि भने जित्न सकेको छैन। सन् १९७८ मा नेदरल्यान्ड्सलाई नै फाइनलमा हराएर अर्जेन्टिना पहिलो पटक विश्व विजेता बनेको थियो। उता नेदरल्यान्ड्स भने लगातार दोस्रो पटक फाइनलमा पुगेर उपविजेतामा सिमित बनेको थियो।

सन् २०१० मा पनि फाइनल पुगेको डच टोली उपाधि भिडन्तमा स्पेनसँग पराजित भएको थियो। सन् २०१४ को विश्वकपमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भएर सेमिफाइनलबाट बाहिरिएको डच टोली गत संस्करणमा भने छनोट नै हुन सकेको थिएन।

यस पटक अर्जेन्टिनासँग क्वाटर फाइनल खेल्न लाग्दा डच टोली उत्कृष्ट लयमा छ। उसले अन्तर्राष्ट्रिय फुटबलमा १९ खेलयता हार बेहोरेको छैन। जारी प्रतियोगितामा डच टोलीले चार खेलमा ८ गोल गरेको छ भने दुई गोल मात्र बेहोरेको छ। डच टोलीमा अनुभवको कमी छैन। ७१ वर्षीय प्रशिक्षक लुइस भान गालले डच टोलीलाई पुन विश्वकपमा लयमा फर्काएका हुन्।

यसअघि सन् २०१४ मा पनि भान गालकै प्रशिक्षणमा नेदरल्यान्ड्सले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। स्पेनिस क्लब बार्सिलोना, जर्मन क्लब बायर्न म्युनिख र इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडजस्ता क्लब सम्हालिसकेका भान गालले प्रशिक्षकका रुपमा जित्न बाँकी राष्ट्रिय टोलीका लागि उपाधि मात्र हो। उनी विश्व फुटबलमा प्रभावशाली प्रशिक्षक मानिन्छन्। उनी गत वर्षमात्र फेरी डच टोलीमा फर्किएका हुन्। यता डच टोलीसँग अनुभवी डिफेन्डर भान डायक पनि छन्।

कप्तानसमेत रहेका उनलाई कटाएर गोल गर्न स्टार स्ट्राइकरलाई समेत सजिलो हुँदैन। उनी युरोपियन वर्ष खेलाडी अवार्ड विजेता खेलाडी हुन्। डिफेन्डरका लागि यो सफलता असामान्यजस्तै हो। ३१ वर्षीय भान डायक लिभरपुलले पछिल्लो समय प्राप्त गरिरहेका ठुला सफलताका महत्त्वपूर्ण सदस्य हुन्। उनले पनि अब राष्ट्रिय टोलीका लागि मात्र उपाधि जित्न बाँकी छ।

डच टोलीमा रहेका मेम्फिस डिपे र कोडी गाक्पोले अर्जेन्टिनी रक्षापंक्तीलाई दबाब दिएर टोलीलाई सफलता दिलाउन सक्नेछन्। डीपे नेदरल्यान्ड्सको वर्तमान टोलीमा ४३ गोलसहित सबैभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी रहेका छन्। २३ वर्षीय गाक्पोले जारी विश्वकपमा मेस्सीले जति ३ गोल गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर