१० हजारको हस्ताक्षरसहित दल दर्ता, चुनावमा भोट २ हजार – Nepal Press

१० हजारको हस्ताक्षरसहित दल दर्ता, चुनावमा भोट २ हजार

विवेकशील साझाको मत २०७४ मा २ लाख १२ हजार, यसपालि ४ हजार

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम आउँदा नेपाली कांग्रेस पहिलो दल बनेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ समग्रमा धेरै सीट जितेर नेकपा एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दलका रुपमा स्थापित भएका छन् । यो निर्वाचनबाट ७ वटा दलले राष्ट्रिय पार्टीको मान्यता पाए ।

प्रत्यक्षमा धेरै सीट जित्ने र समानुपातिकमा धेरै मत ल्याउने दलहरुबारे सबै जानकार नै छन् । तर, समानुपातिकतर्फ सबैभन्दा कम कुन कुन दलले ल्याए ? कतिपयलाई यो पनि कौतुहल हुनसक्छ । यसपटक हामीले समानुपातिक मत परिणामको सूचीलाई उल्टो पारेर हेरेका छौं ।

नेपालको कानूनी व्यवस्थाअनुसार कुनै पनि दल दर्ता गर्न १० हजार मतदाताको समर्थनसहितको हस्ताक्षर बुझाउनुपर्छ । यसको आशय हो, कम्तिमा १० हजार नेपाली नागरिकले नपत्याएको दल दर्ता हुन सक्दैन । कानूनः १० हजार मतदाताको हस्ताक्षर पुर्‍याएर दर्ता भएका २३ वटा दलले चुनावमा १० हजार भोट ल्याउन सकेनन् । यसमा केही नाम चलेका दलहरु छन् । १० वटा दलको भोट त पाँच हजारभन्दा कम छ ।

नयाँ स्थापना भएका पार्टीहरुले पहिलो सहभागितामै उल्लेख्य जनमत पाउँदा आफूलाई वैकल्पिक राजनीतिको सूत्रधार मान्ने विवेकशील साझा अन्तिमबाट १० औं नम्बरमा परेको छ । २०७४ को निर्वाचनमा एमाले, कांग्रेस, माओवादी, राजपा र संघीय समाजवादी फोरमपछि बढी मत ल्याएको विवेकशील साझाले यो निर्वाचनमा मुस्किलले ४ हजार मत कटाएको छ । २०७४ को निर्वाचनमा २ लाख १२ हजार ३६४ मत पाएको सो पार्टी अहिले ४ हजार ४९ मतमा खुम्चिएको हो ।

यो निर्वाचनमा सबैभन्दा कम मत पाउने पार्टी भने नेसनलिस्ट पिपुल्स पार्टी बनेको छ । इन्द्रबहादुर थापा अध्यक्ष रहेको सो पार्टीले २ हजार १८ मत पाएको छ । यो पार्टी २०७७ सालमा निर्वाचन आयोगमा दर्ता भएको थियो भने लाटोकोसेरो चिन्ह लिएर निर्वाचनमा सहभागी भएको थियो ।

पुछारबाट दोस्रो स्थानमा रहेको छ, शुक्रबहादुर गुरुङ नेतृत्वको राष्ट्रिय नागरिक पार्टी । चंगा चुनाव चिन्ह भएको यो पार्टीले देशभरबाट २ हजार १५ भोट ल्यायो । कलंकीमा केन्द्रीय कार्यालय रहेको भनिएको यो पार्टीले २०७० सालको दोस्रो संविधानसभा चुनावमा भाग लिएको थियो । त्यसवेला समानुपातिक तर्फ ४ हजार ६४८ मत ल्याएको थियो ।

यसैगरी सामानुपातिकतर्फ तेस्रो कम मत ल्याउने पार्टी हो, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन । जोगमान लामा अध्यक्ष रहेको यो पार्टीले देशभरबाट २ हजार २२० भोट ल्यायो । गत वर्ष निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीको चुनाव चिन्ह माथि चराको प्रतीक भएको डम्फू हो ।

चौंथो कम मत ल्याएको छ, नेपाल समावेशी पार्टीले । मोतीलाल भारतीले नेतृत्व गरेको यो पार्टी निर्वाचन आयोगमा ९ नम्बरमा दर्ता छ । यो पार्टी २०७३ सालमै आयोगमा दर्ता भएको थियो । सुगा चुनाव चिन्ह रहेको यस पार्टीले देशभरबाट २ हजार ९६३ भोट ल्यायो ।

पाँचौं स्थानमा छ, मौलिक जरोकिलो पार्टी । २०७६ सालका दर्ता भएको यस पार्टीका अध्यक्ष सुशील गौतम हुन् । किबोर्डसहितको कम्प्युटर चुनाव चिन्ह लिएको पार्टीले चुनावमा देशभरबाट ३ हजार २५६ भोट ल्यायो ।

सबैभन्दा कम भोट ल्याउनेमा छैटौं स्थानमा छ, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल । षटकोण चुनाव चिन्ह भएको यो पार्टीले ३ हजार ३५४ भोट ल्याएको छ । २०७३ सालमा निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीको नेतृत्व डा. ज.वि. शाहले गरेका छन् ।

रुक्मिणी चौधरी अध्यक्ष रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)ले ३ हजार ४०६ मत ल्याउँदै पुछारबाट सातौं स्थानमा रहेको छ । कर्णजीत बुढाथोकी अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी ३ हजार ७०२ मतका साथ आठौं स्थानमा र डा. देवप्रकाश त्रिपाठी नेतृत्वको एकीकृत शक्ति नेपाल ३ हजार ७९२ मत पाएर पुछारबाट नवौं स्थानमा छ ।

निर्वाचन आयोगमा ११६ वटा दलहरु दर्ता रहेकोमा ४७ वटा दलहरुले मात्रै चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

के भन्छन् मसिना दलहरु ?

विवेकशील पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा वैचारिक विचलन र टुटफुटका कारण अहिलेको परिणााम आएको बताउँछिन् । २०७४ सालको निर्वाचनमा पार्टीले हासिल गरेको सफलतापछिका घटनाक्रमहरुले समस्या उत्पन्न गरेको उनको भनाइ छ ।

बास्कोटाले भनिन्, ‘नेपाली समाजलाई टुटफुट कहिल्यै मन पर्दैन । २०७४ मा पार्टीको जुन सफलता थियो, त्यो पछिसम्म रहन सकेन । पार्टी एकता भयो र फुट्यो । जनतामा यिनीहरु पनि उस्तै त रहेछन् भन्ने सन्देश गयो । पछि पार्टी एक त भयो । तर, वैचारिक विचलनमा २ वर्ष गतिविधि ठप्प भए ।’

समूहगत रुपमा पार्टीभित्र विद्रोहीहरु बढ्दै जानु र आमनिर्वाचनको केही दिनअगाडि मात्रै पूर्वअध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्नुले पनि समस्या भएको उनको भनाइ छ ।

उनले थपिन्, ‘वैचारिक विचलनको नाममा एक समूहले विद्रोह गर्‍यो । अर्को चरणको विद्रोह स्थानीय चुनावको मुखमा भयो । एउटा समूह निर्वाचन आयोगसम्म पुग्यो, पहिलेको समूह अदालतसम्म र त्यसपछि चुनावको मुखमा रवीन्द्र मिश्रलगायत राप्रपा जानुले कतै यो पार्टीको अस्तित्व नै छैन कि भन्ने सन्देश प्रवाह भयो । त्यही भएर अहिलेको परिणाम आयो ।’

जरोकिलो पार्टीका अध्यक्ष सुशील गौतम भने आफ्नो पार्टीले पाएको मतमा सन्तुष्ट नै देखिन्छन् । दीर्घकालीन योजना बनाएर पार्टी निर्माण भएकाले तत्कालको परिणामबाट हतोत्साही नभएको उनको प्रतिक्रिया छ ।

मौलिक जरोकिलो सेलिब्रेटीभन्दा विचारमा आधारित पार्टी भएको उनले बताए । गौतमले भने, ‘हामी विचारमा आधारित हौं, सेलिब्रेटीमा होइन । यो समय लाग्छ । धैर्य गर्नुपर्छ । विचार बुझाउँदै गएपछि दीर्घकालीन असर पार्छ । तत्काल सोचेजस्तो प्रतिफल आउँदैन भन्ने आँकलन गरेर अगाडि बढेका हौं ।’

१५ वर्षे योजना लिएर अगाडि बढेको उल्लेख गर्ने गौतम पहिलो पाँच वर्ष पार्टीको पहिचानका लागि लगानी गरिरहेको बताउँछन् । दोस्रो पाँच वर्ष संसदमा उपस्थिति देखाएर जनताका मुद्दा अगाडि बढाउने र तेस्रो पाँच वर्षपछि बल्ल बहुमतीय सरकार बनाउने अवसर आउने उनको भनाइ छ ।

नयाँ गठन भएको पार्टीहरुको परिणामलाई लिएर उनी भन्छन्, ‘हाम्रो समाजमा चाँडो समाधान खोजिँदैछ । त्यसैले सेलिब्रेटी र तामझाम गर्नेको पछि लाग्नेको समाज छ । तर, हामीसँग न संगठन, न हामी सेलिब्रेटी हौं न त हामीसँग करौडौं खर्च गर्न सक्ने अवस्था छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर