स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा, रामोसको ह्याट्रिक


काठमाडौं । गोन्सालो रामोसको ह्याट्रिक प्रेरित स्विजरल्यान्डलाई कतारमा जारी फिफा विश्वकप २०२२ अन्तिम १६ अन्तर्गतको खेलमा ६–१ गोलको नतिजमा पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनल प्रवेश गरेको छ ।
लुसेल रंगशालमा सम्पन्न प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा स्विट्जरल्यान्डलाई हराउँदै पोर्चुगल १६ वर्षपछि क्वार्टरफाइन प्रवेश गरेको हो।
खेलको १७औं मिनेटमा रामोसले फेलिक्सको पासमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
कप्तान क्रिस्टियानो रोनाल्डो बिनै मैदान उत्रिएको पोर्चुगलको अग्रता पेपेले ३३औं मिनेटमा दोब्बर पारे । ब्रुनाे फर्नान्डेजको पासमा हेडरमार्फत सुन्दर गोल गर्दै ३९ वर्षीए पेपेले पहिलो हाफ अगाडी पोर्चुगलको अग्रता २–० बनाएका थिए ।
स्विट्जरल्यान्ड माथि निरन्तर दबाब बनाएको पोर्चुगलका लागि ५१औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसको चार मिनेट नबित्दै रामोसको पासमा राफेल जुरेरियोले पोर्चुगलका लागि चौथो गोल गरे ।
खेलको ५८औं मिनेटमा स्विट्जरल्यान्डका म्यानुयल एकान्जीले एक गोल फर्काएका थिए ।
रामोसले ६७औं मिनेटमा फिलिक्सकै पासमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनी जारी विश्वकपमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बने ।
इन्जुरी समयमा सब्सिट्युट खेलाडी राफेल लियोले गोल गर्दै पोर्चुगलको जित ६–१ ले सुनिश्चित गरेका थिए । लियो खेलको ८७औं मिनेटमा ब्रुनो फर्नान्डेजको स्थानमा मैदान प्रवेश गरेका थिए । जितसँगै पोर्चुगलले क्वार्टरफाइनलमा मोरक्कोसँगको भेट पक्का गरेको छ ।
माेरक्काे सन् २०१० काे विश्वकप विजेता स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पहिलाे पटक विश्वकपकाे क्वार्टरफाइनल पुगेकाे हाे ।
विश्वकपमा पहिलो पटक आमनेसामने भएका पोर्चुगल र स्विजरल्यान्डको भेट यूईएफए नेसन्स लिगमा दुई पटक भएको छ । दुई मध्य एक खेल पोर्चुगलले र एक खेल स्विट्जरल्यान्डले जितेका छन् ।
सन् १९९६ को विश्वकपमा तेस्रो भएको पोर्चुगल २००६ मा जर्मनीमा आयोजना भएको विश्वकपमा चौथो भएकोे थियो । त्यसयता अन्तिम १६ भन्दा माथि स्थान बनाउन सकेको थिएन । अन्तिम पटक रुसमा आयोजना भएको विश्वकपमा अन्तिम १६मा उरुग्वेसँग २–१ गोलको नतिजामा पराजित हुँदै बाहिरिएको थियो ।
सन् १९३४ र १९३८ मा लगातार दुई पटक कवार्टरफाइनल पुगेको स्विजरल्यान्डले १९५४ यता अन्तिम १६ भन्दा माथिको यात्रा तय गर्न सकेको छैन ।