पिएस गुरुङको प्रस्ताव- दक्षिणपन्थी गठबन्धन तोडौँ, एमालेकै नेतृत्वमा वामपन्थीबीच कार्यगत एकता गरौँ – Nepal Press

पिएस गुरुङको प्रस्ताव- दक्षिणपन्थी गठबन्धन तोडौँ, एमालेकै नेतृत्वमा वामपन्थीबीच कार्यगत एकता गरौँ

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले चुनावको परिणामले अस्थिर राजनीतिलाई मलजल गरेको भन्दै शेरबहादुर देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन भत्काउनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपालले शुक्रवार उनलाई लमजुङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएकोमा बधाई दिन आयोजना गरेको कार्यक्रममा गुरुङले अहिलेको सत्ता गठबन्धन वाम लोकतान्त्रिक नभएर दक्षिणपन्थी गठबन्धन भएको बताए ।

गुरुङले भने– चुनावमा हाम्रा कयौँ कमजोरी भए होलान् तर जनताले लोकप्रिय मतमा पहिलो बनाए । सबैले घेराबन्दी गरेका कारण चुनाव जितेर पनि हारेका छौँ । अब हामीले वाम सरकारका लागि अहिलेको दक्षिणपन्थी गठबन्धनलाई तोड्न प्रयास गर्नुपर्छ । नामले वाम भएकाहरू अहिले दक्षिणपन्थी गठबन्धनमा छन्, उनीहरूलाई आग्रह नराखी गठबन्धनबाट बाहिर ल्याउने प्रयास गर्नुपर्छ ।

चुनावी नतिजाले ६ वटा प्रदेशमा एमाले पहिलो शक्ति रहे पनि प्रत्यक्ष सीटमा क्षति भएकाले लक्ष्यअनुरूप जित्न नसकिएको उपमहासचिव गुरुङले बताए । उनले एमालेको नेतृत्वमा सरकार बनाउने गरी लाग्नुपर्ने भन्दै दक्षिणपन्थी गठबन्धन तोड्नै पर्ने बताए ।

गुरुङले तत्कालीन नेकपाको एकता जोगाउन नसक्दा कम्युनिस्ट कमजोर भएको भन्दै अब एमालेकै नेतृत्वमा वामपन्थीहरुबीच कार्यगत एकताको वातावरण बनाउनुपर्ने बताए । उनले दक्षिणपन्थी गठबन्धन भत्काउन तत्काल नसकिए पनि प्रयास जारी राख्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया

One thought on “पिएस गुरुङको प्रस्ताव- दक्षिणपन्थी गठबन्धन तोडौँ, एमालेकै नेतृत्वमा वामपन्थीबीच कार्यगत एकता गरौँ

  1. एकता गर्ने, बहुमत ल्याउने अनि फेरि फुटाउने ? यो चक्रमा किन पर्नु ? माओवादी र एसक‍ो माया लाग्यो ? ती त अब खरानी हुने दिशातर्फ उन्मुख छन् । किन काँध थाप्नु ? एमालेक‍ो विचार, सिद्वान्त, कार्यक्रम लिएर तिव्ररूपमा जनतामा जाने कुरा गर । दायाँ वायाँका कुरा गर्न बन्द गर ।अघिल्लो पटक माओवादीलाई नच्यापेको भए त्यो आफैं सकिईसक्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर