सुदूरपश्चिम प्रदेश सभामा ३० मध्ये २६ नयाँ अनुहार, पुराना चार जना निर्वाचित हुँदा नौ जना हारे – Nepal Press

सुदूरपश्चिम प्रदेश सभामा ३० मध्ये २६ नयाँ अनुहार, पुराना चार जना निर्वाचित हुँदा नौ जना हारे

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका ३० क्षेत्रमा प्रत्यक्ष तर्फको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । बाजुराको मत गणना अझै अनिश्चित छ । त्यहाँका २ बाहेक अन्य सबै प्रदेश सभाको नतिजा आइसकेको छ ।

बाजुरा बाहेकका परिणाम अनुसार कांग्रेसले प्रत्यक्ष तर्फ ११ स्थानमा विजयी भएका छ । माओवादी केन्द्र ८ क्षेत्रमा विजयी हुँदा नागरिक उन्मुक्ति पार्टीले ५ क्षेत्रमा हित हात परेको छ । एमालेका ३ जना, नेकपा एकीकृत समाजवादीका २ जना र स्वतन्त्र एक जना उम्मेदवार प्रदेश सभामा विजयी भएका छन् ।

यी ३० जना मध्य अघिल्लो पटक पनि जितेकाहरूको संख्या ४ जना मात्रै छ । ती बाहेक अघिल्लो पटक प्रदेश सभामा विजयी भएका तारा लामा तामाङ र डिल्लीराज पन्त यस पटक प्रतिनिधि सभामा विजयी भए ।

तामाङ एमाले र पन्त काङ्ग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भए । अघिल्लो पटक प्रदेश सभामा विजयी भएर अहिले प्रतिनिधि सभामा टिकट पाएका झपट बोहरा अछाम १ बाट पराजित भए ।

अघिल्लो पटक प्रदेश सभामा विजयी भएका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी र अक्कल रावल यस पटक पनि विजयी भए ।

नेकपा एकीकृत समाजवादीका सोडारी कैलालीबाट प्रदेश सभामा सोही पार्टीका रावल कञ्चनपुरबाट विजयी भए । माओवादीका धामी दार्चुलाबाट र रावल अछामबाट प्रदेश सभामा विजयी भए ।

अघिल्लो पटक निर्वाचित भएका चार जना पुन निर्वाचित हुँदा अघिल्लो पटक निर्वाचित भएका नौ जना यस पटक भने पराजित भए । यसरी पराजित हुनेमा सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा ,पूर्व सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व अर्थ राज्य मन्त्री अमरबहादुर साउद र एमालेका प्रमुख सचेतक लिलाधर भट्ट र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरी र नन्दबहादुर साउद, रतन थापा र कृष्ण चौधरी छन् ।

कांग्रेसका रणबहादुर रावल नेकपा एसका अमर साउद, माओवादी केन्द्रका नन्दबहादुर साउद र एमालेका नेपालु चौधरी कैलालीबाट पराजित भएका हुन् । नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्का कञ्चनपुर र एमालेका लिलाधर भट्ट बैतडीबाट प्रदेश सभामा पराजित भएका हुन् । काङ्ग्रेसकै गोविन्द बोहरा डडेल्धुराबाट पराजित भए । लोसपाका कृष्ण चौधरी र नागरिक उन्मुक्तिका रतन थापा पनि कैलालीबाट पराजित भएका हुन् ।

को को छन् नयाँ अनुहार

सुदूरपश्चिमका ३० क्षेत्र मध्ये कांग्रेसले ११ क्षेत्रमा जितेको छ । कांग्रेसले जितेको सबै क्षेत्रमा नयाँ अनुहारले संसदमा प्रवेश पाउने भएको छ ।

काङ्ग्रेसबाट प्रदेशसभाको प्रत्यक्षमा निर्वाचित कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह विष्ट, बहादुर सिंह थापा र बेलबहादुर राना मगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट विक्रमसिंह नयाँ अनुहार हुन् ।

माओवादी केन्द्रले जितेको ८ क्षेत्र मध्ये ६ क्षेत्रमा नयाँ अनुहार छन् ।

कैलालीबाट रमेश धामी, डडेलधुराबाट खगराज भट्ट, डोटीबाट शिवसिंह ओली, कञ्चनपुरबाट ओमविक्रम भाट, बझाङबाट भीम भण्डारी र अछामबाट झापटबहादुर साउद पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित पाँचै जना पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै छन् । यस पार्टीले कैलालीमा मात्रै १० मध्ये ५ क्षेत्रमा हित हात पारेको हो । कैलालीबाट निर्वाचित रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मण किशोर चौधरी, घनश्याम चौधरी र खुसीराम चौधरीसहित पाँच सबै नयाँ अनुहार हुन् ।

एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित तिनै जना संसद्को लागि नयाँ अनुसार हुन् । पहिलो पटक प्रदेश संसदीय यात्रामा कञ्चनपुरबाट वीरबहादुर थापा बैतडीबाट सुरेन्द्र पाल र डोटीबाट चक्र मल्ल निर्वाचित भए ।

स्वतन्त्र उम्मेदवारी दिएर डडेलधुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका तारा जोशी पनि पहिलो पटक प्रदेश सभामा प्रवेश गर्दै छन् । अघिल्लो पटक नेकपा एमालेबाट उनी झिनो मतान्तरले पराजित भएका थिए । ५३ जना प्रदेश सभा सदस्य रहने यहाँ ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक प्रणाली मार्फत सांसद हुने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर