गोकर्ण विष्टलाई सुन्तलाको माला – Nepal Press

गोकर्ण विष्टलाई सुन्तलाको माला

गुल्मी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका गोकर्ण विष्टलाई स्थानीय कृषकले फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइ दिएका छन् ।

प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेका विष्टलाई फूलको माला लगाउने ठाउँमा सुन्तलाको माला लगाई दिएका हुन् ।

मङ्गलवार मतदातालाई धन्यवाद दिन रेसुङ्गा नगरपालिकाको वडा नम्बर–३ को भाडागाउँमा पुगेका विष्टलाई स्थानीय कृषकले सुन्तलाको माला लगाई दिएका हुन् । स्थानीय कृषि उत्पादनलाई बजारीकरणमा टेवा पुराउने उद्देश्यले सुन्तलाको माला लगाइदिएको बताए ।

जिल्लाको रेसुङ्गा नगरपालिकाको भाडगाउँ र धुर्कोट गाउँपालिकाको नयाँ गाउँ सुन्तला प्रसिद्ध ठाउँ हुन् । यहाँ उत्पादन भएका सुन्तला जिल्ला भित्र र जिल्ला बाहिर पाल्पा, बुटवल, पोखर, काठमाडौं लगायत ठूला शहरमा पुग्ने गर्दछन् ।

विष्टलाई स्थानीयले नयाँ गाउँमा पनि सुन्तलाको माला लगाई दिएका थिए । गाउँ गाउँमा पुग्ने क्रममा उनलाई विभिन्न सुझावहरू मतदाताले दिने गरेका छन् । सुन्तलाको माला लगाइ सकेपछि विष्टले कृषकले उत्पादन गरेका वस्तुले बजारीकरणमा ध्यान दिने बताए ।

उनले मानव जातिलाई बाच्नका लागि कृषि उपज अपरिहार्य भएकाले कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणमा लाग्ने बताए । वास्तविक कृषकहरू बिचौलियाको मारमा परेर खास मूल्य नपाइरहेकाले अब त्यसो हुन नदिने विष्टको भनाइ छ ।

जनताका अपेक्षाहरूलाई पूरा गर्नको लागि सही ढंगले अगाडि बढ्ने उनले बताए । उनले यो निर्वाचनको परिणामले विगतमा जिल्लाको विकास र समृद्धिका लागि गरेका प्रतिबद्धतालाई अझ प्रभावकारी बनाउँदै पूर्णता दिने बताए ।

कतिपय ठाउँमा चुनाव जितेपछि गाउँमा फर्केर आउँदैन भन्ने मतदाताको गुनासो पनि रहने गर्दछ । तर विष्टले भने जसरी चुनावमा मत माग्न घरदैलो गरेका थिए त्यसै गरिनै मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेका हुन् ।

निर्वाचित भएको घोषणापछि विष्टले मतदातालाई धन्यवाद दिने कार्यक्रम मंसिर १५ गतेसम्म रहेको नेकपा एमाले गुल्मी २ नम्बर क्षेत्रीय कमिटीले जनाएको छ । बिस्टसँगै एमालेबाट निर्वाचित प्रदेश सभा (क) मा निर्वाचित डिल्लीराज भुसाल र प्रदेश सभा (ख) मा निर्वाचित दिनेश पन्थी पनि मतदातालाई धन्यवाद दिन गाउँमा पुगेका छन् ।

विष्टले निर्वाचनको लगत्तै सबै क्षेत्रमा रुट बनाएर पुगेको प्रचार।संयोजक मदन खनालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर